बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

रंगमञ्च : सपना हत्याको विरोधमा ‘अवान्तर’

शुक्रबार, २८ जेठ २०७३, १४ : ५१
शुक्रबार, २८ जेठ २०७३

धमाधम बनिरहेका व्यवसायिक मलहरूमा सिनेमा थिएटर छुट्दैनन् । तर कसैले पनि नाटक थिएटरको परिकल्पना गरेको पाइदैन । त्यसैबेला राजधानीको केन्द्रमा रहेका पुरानो व्यवसायिक मल काठमाडौं मलमा नाटक थिएटर बनाउने युवा रंगकर्मी केदार श्रेष्ठको परिकल्पना मलाई उतिबेलै गज्जब लागेको हो । तर मलमा स्वतन्त्र हिसाबले थिएटर बनाउनु सजिलो थिएन । श्रेष्ठसहितको सिर्जनशील युवाहरूको समूह सुस्केरा र थिएटर फर चिल्ड्रेनले चुनौती मोलेरै थिएटर निर्माण थालेका थिए । त्यस हिसाबले थिएटर मल निर्माण आफैंमा एउटा संघर्षको कथा हो ।

सुचारू भएको एक वर्ष पनि नपुग्दै आएको विनाशकारी भूकम्पले अर्को चुनौति थपिदिएको थियो । तर थिएटरले साहसका साथ भूकम्पका परकम्प आइरहेकै समयमा सातौं तलामा नाटक मञ्चन गरेको थियो । त्यसले अरू थिएटरलाई पनि उत्प्रेरणाको काम गरेको थियो । अनेक उतारचढावबीच थिएटर मलमा १५ नाटक मञ्चन भइसकेको छ ।

थिएटर मलले विशेषतः सिर्जनशील युवा रंगकर्मीलाई ‘स्पेस’ दिने कार्यमा आफूलाई निकै उदार र खुल्ला रूपमा प्रस्तुत गरेको छ । त्यसै क्रममा युवा रंगकर्मीको सिर्जनशील प्रस्तुति थिएटरमा भइसकेको छ । थिएटरमा घनश्याम श्रेष्ठजस्ता सिर्जनशील रंगकर्मीले गरेको कामको रंगमञ्चीय विकासको दृष्टिमा पनि महत्वपूर्ण छ । त्यस्तै उल्लेखनीय नाटकको श्रृंखलामा मञ्चन भइरहेको पछिल्लो नाटक हो राम के.ए.सी निर्देशित ‘अवान्तर’ ।

‘अवान्तर’को शब्दकोशीय अर्थ हुन्छ– बीचमा रहेको, माझमा परेको, मध्यवर्ती । रामले नै लेखेको यो नाटकको मूल कथा रंगकर्मीहरूकै हो । त्यसैले अधिकांश रंगकर्मीलाई नाटक आफ्नै कथाजस्तो लाग्छ । जस्तो कि, नाटक हेरिसकेपछि रंगकर्मी विजय विस्फोटले भने, ‘यो नाटक त मेरै कथाजस्तो लाग्यो ।’ तर यो कथा आफैंमा एउटा बिम्ब पनि हो । नाटकले हरेक क्षेत्रका इमान्दार व्यक्तिलाई आफ्नो जीवनकथा सम्झाउँछ । हरेक क्षेत्रमा जसले इमान्दारीपूर्वक काम गर्छन्, उनीहरू नै फल खाने लहरको सबैभन्दा पछिल्लो हारमा परिरहेका हुन्छन् । यो तीता यथार्थलाई नाटकले निकै संवेदनशील ढंगले उठाएको छ ।

नाटकमा रंगकर्मीको यथार्थमार्फत मूल कुरा भनिए पनि त्यसलाई ऐतिहासिक बिम्बमार्फत थप बलियो बनाइएको छ । नाटकले काठमाडौं उपत्यका निर्माण हुँदाको कथालाई पनि जोडेको छ भने भिमसेन थापाको आत्महत्या प्रसंगलाई पनि उधिनेको छ । भ्यागुता र भिमसेन थापालाई बिम्ब बनाएर नाटकले कसरी इमान्दारहरूको छाती कुल्चेर इतिहास निर्माण गरिन्छ भन्ने विषय उठान गरेको छ ।

पछिल्लो समय इतिहास पुनर्लेखन र पुनव्र्याख्याको बहस भइरहेको छ । यो समयमा नाटकले समय–चेतनालाई बलियो गरी पक्रिएको छ र लेखिएको होइन, लेखाइएको इतिहासको पुनर्लेखन र पुनव्र्याख्याको माग गरेको छ । इमान्दारहरूको छाती कुल्चिएर बनाइएको इतिहासले वर्तमानको सत्य बुझ्न र मार्गनिर्देशन गर्न सक्छ कि सक्दैन भन्ने प्रश्न नाटकभरि उठिरहन्छ ?

नाटकको मूल कथामा यथार्थ र सपनाबीचको संघर्ष पनि जोडिएर आउँछ । इमान्दारहरूले सपनाको खोजीमा कसरी संघर्ष गर्छन् भन्ने दृष्टान्त नाटकले प्रस्तुत गर्छ । नाटकमा सपना र यथार्थबीच संघर्षलाई प्रस्तुत गर्न निर्देशकले सिर्जनशील ‘टेक्निक’ प्रयोग गरेका छन् । त्यसैको अनुभूति नाटकको सुरुदेखि नै हुन्छ । नाटकमा कलाकारको प्रस्तुति जीवन्त लाग्छ । जितेन्द्र खड्का ‘सिमन’, महावीर विश्वकर्मा, केशव रिजाल, कुमार सिम्खडा, एना देउजा, अमृता खनाल, भीष्म जोशी, नेहा पोखरेल, आर.के. तिमल्सिना, परिक्षित विक्रम राणा, ईस्तु कार्की र शंकर भण्डारी मञ्चमा देखिन्छन् । रंगकर्मीको कथाका कारण पनि अभिनयमा जीवन्तता पैदा गर्न कलाकारलाई सहज भएको देखिन्छ ।

नाटकमा बिम्बात्मक त छ नै, काव्यिक र सांगितिक पनि छ । कवितालाई भावमार्फत मञ्चमा उतारिएको छ । संगीतले प्रस्तुतिलाई जीवन्त बनाएको छ । त्यससमा भूमिका खेल्ने शिवप्रसाद अधिकारी र रिवाज ब्याण्ड नाटकमा प्रभावशाली छन् । प्रतिभाशाली रंगकर्मी सुष्मा कोइरालाको कोरियोग्राफीले नाटकलाई सुन्दरता प्रदान गरेको छ । कवि मणि थापाको रंग संयोजन र निर्देशक रामको प्रकाश संयोजनले नाटकको प्रभाव बलियो बनाउन भरपुर योगदान गरेको छ । समग्रमा नाटक सुन्दर र सामयिक छ । तथापि यथार्थवादी कोणबाट प्रस्तुत गरिएको नाटक भएको हुनाले बिम्ब प्रस्तुतिले केही जटिलता थपिदिएको छ । कतिपय स्थानमा ‘स्लो’ पनि देखिन्छ । केही दृश्य यथार्थवादी बनाउन खोज्दा बढी ‘स्लो’ भएको भान हुन्छ । त्यस्ता स्थानमा बिम्बमा खेल्न सकिएको भए समग्र नाटकको लय अझ सुमधुर बन्ने देखिन्छ । आलेखको सुरुवातमा नाटकघर स्थापनाको कथा मैले यसकारण पनि जोगेको थिएँ कि सिर्जनशील र प्रतिभाशाली युवाहरूलाई आफ्नो प्रस्तुतिको लागि मञ्च पनि बनिरहेको थिएटर मलमा जुन कथासहित नाटक मञ्चन भइरहेको छ, त्यो आफैंमा पनि एउटा बिम्ब हो । अब सपना पछ्याइ हिंड्ने इमान्दारहरूले आफ्नो स्थान आफैं बनाउँदैछन् भन्ने बिम्ब । शंकरदेव क्याम्पसमा स्नातकोत्तर तहमा अध्ययन गर्दाताका बनेको सिर्जनशील युवाहरूको समूह आईडिया एक्सलको प्रस्तुति रहेको नाटक जेठ ३२ गतेसम्म मञ्चन हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप