बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

धुर्मुस–सुन्तलीको पुनर्निर्माण अभियानमा ‘पोखरेली धुर्मुस र माग्ने बुढा’को पनि साथ

शुक्रबार, २८ जेठ २०७३, १७ : ३१
शुक्रबार, २८ जेठ २०७३

पोखरा – सिन्धुपाल्चोकको गिरानचौरमा भूकम्पले भत्काएका घरको पुनर्निर्माणमा जुटेको ‘धुर्मुस सुन्तली फाउन्डेशन’ले पोखरामा पनि आर्थिक अभियान संचालन गर्ने भएको छ । पोखरेली धुर्मुस र माग्नेबुढा नामले चर्चित दुई युवा राजेन्द्र नेपाली र युवराज भण्डारीले यो अभियानलाई पोखरा र आसपासमा संचालन गर्नेछन् ।

पोखरेली धुर्मुस र माग्नेबुढाको जोडीले शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरेर आर्थिक सहयोग संकलन अभियानको बारेमा जानकारी दिएको हो । धुर्मुस सुन्तली फाउन्डेशनले यतिबेला सिन्धुपाल्चोकको गिरानचौरमा भूकम्प पछिको पुर्ननिर्माण कार्यलाई तिव्रता दिईरहेको छ । धुर्मुस र सुन्तलीको जोडीले ठाऊँ ठाऊँबाट आर्थिक सहयोग जुटाउनुका साथै आफ्नै श्रमदान दिएर त्यहाँ ‘एकिकृत नमुना बस्ती’ निर्माण गरिरहेका छन् । हाल त्यहाँ सुविधासम्पन्न ६५ वटा घर बनिरहेका छन् ।

फाउन्डेशनले थालेको पुर्ननिर्माण परियोजना अन्तरगत थुप्रै संघसंस्थाहरुले सहयोग उपलब्ध गराईरहेका छन् । यद्यपी अझै पनि पुर्ननिर्माणको कामका लागि आर्थिक अभाव भैरहेकोले पोखरामा राजेन्द्र र युवराजले आर्थिक संकलन अभियानलाई तिव्रता दिन लागेका हुन् ।

आफ्ना गुरुहरुले थालेको परियोजनालाई पुरा गराउन सहयोग गर्न पाउँदा आफुहरु निकै खुशी भएको उनीहरुले बताए ।

‘पोखरा र आसपासमा यो अभियान करिब एक सातासम्म चल्नेछ ।’ पोखरेली माग्ने बुढा अर्थात युवराज भण्डारीले भने–‘त्यस अवधीमा उठेको सम्पूर्ण रकम हामीले गिरानचौरमा निर्माण हुन लागेको भवनका लागि पठाउनेछौँ ।’ पोखराको सडकमा हिँड्ने सर्वसाधारणदेखि, कार्यालय, विभिन्न संघसंस्था, क्लबहरुमा पुगेर सहयोग संकलन गरिने अर्का अभियन्ता राजेन्द्र नेपालीले जानकारी दिए । पोखरामा यी दुई जनाले चलाएको यो अभियानलाई अर्का हाँस्य अभिनेता दिवाकर भण्डारीले व्यवस्थापन गर्दैछन् ।

शुक्रबार पत्रकार सम्मेलनकै क्रममा फोनमार्फत यो अभियानका मुख्य अभियन्ता सिताराम कट्टेल ‘धुर्मुस’ले पोखरेलीलाई सहयोग गर्न आग्रह गरे । ‘यो एउटा पुण्यको काम हो । र, एउटा नमुना कार्य पनि हो ।’ उनले भने–‘हामीले गर्न लागेको यो काममा पोखरेलीको दह«ो साथ हामीले खोजेका छौँ ।’ साथै उनले आफु पुर्ननिर्माणकै काममा व्यस्त भएकोले पोखराको पत्रकार सम्मेलनमा उपस्थित हुन नसकेको बताए ।

केहि समय अगाडि प्रधानमन्त्री केपी ओलीले समेत धुर्मुस सुन्तली फाउन्डेशनले निर्माण गरिरहेको ‘एकिकृत नमुना बस्ती’को अवलोकन गरेर त्यसको प्रशंसा गरेका थिए । पछिल्लो पटक सैनीक पत्नीहरुको संस्थाले समेत यो परियोजनाको लागि १४ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । विदेशमा रहेका नेपाली, विभिन्न संघसंस्था, सेलिब्रिटिहरुले पनि यसमा सहयोग गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप