बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

काठमाडौँ स्तम्भ निर्माण ढिला नगर्न चेतावनी

शुक्रबार, २८ जेठ २०७३, १८ : १५
शुक्रबार, २८ जेठ २०७३

काठमाडौँ - पुरानो बसपार्कमा निर्माण गर्ने भनिएको काठमाडौँ स्तम्भ निर्माणको काम ढिला नगरी तत्काल सुरु गर्न काठमाडौं महानगरपालिकाले आग्रह गरेको छ ।

झन्डै दुई महिनाअघि नै निर्माणको काम सुरु गर्ने जनाई पुरानो बसपार्कबाट आवतजावत गर्ने यातायातका साधनलाई खुला मञ्चमा सारिसकिएको छ । अहिलेसम्ममा स्तम्भ निर्माणका लागि जग राख्ने काम सकिसक्नुपर्ने भए पनि हालसम्म कुनै काम नभएकाले अब केही दिनमा पनि काम सुरु नगरे हाल निर्माणको लागि जिम्मा पाएको कम्पनीलाई रोक लगाउने कामपाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताए ।

स्तम्भ निर्माणको जिम्मा पाएको जलेश्वर, स्वछन्द र विकोईका प्रमुख मनोज भेटुवालले भने निर्माण सामग्रीको अभावले गर्दा ढिला भएको बताए । “टावर निर्माणको सम्पूर्ण सामग्री भारतबाट ल्याउनुपर्ने भएकाले निर्माण सुरु गर्न ढिला भएको हो” भेटुवालले भने। उनका अनुसार सिमेन्ट, ढुङ्गा, गिट्टी बालुवालगायतको सामग्रीबाहेक अन्य सबै निर्माणका सामान भारतबाट ल्याउनुपर्छ ।

हाल पुरानो बसपार्कमा जस्ताले बार्ने काम मात्र भएको छ । भारतबाट आवश्यक सामग्री केही दिनमा आइपुग्ने र सामग्री आएसँगै निर्माणले गति लिने बताइएको छ ।

भवन पूर्ण रूपमा भूकम्प प्रतिरोधात्मक र १२ तलाको बनाउने तयारी छ । नेपालमा हालसम्म बनेका भवनभन्दा पृथक र अत्याधुनिकसँगै नेपाली कला, संस्कृति झल्किने खालको हुने बताइएको छ ।

कामपासँग गरिएको सम्झौतानुसार ती कम्पनीले आफ्नो लगानीमा भवन बनाएर ३० वर्षसम्म चलाउने छन् । काम सुरु भएको पाँच वर्षभित्र स्तम्भ बनाइसक्नुपर्ने छ ।

स्तम्भ निर्माणको लागत रु तीन अर्ब ५० करोड पुग्ने अनुमान गरिएको छ ।। भवनको सबैभन्दा तल्लो तलामा बस पार्किङ स्थल रहने छ । त्यस्तै त्यसको माथि दोस्रो तलामा हलुका गाडीको पार्किङ, व्यवस्थित चलचित्र कक्ष, पौडी पोखरी, खाजाघर, बैंक तथा कामपाको वडा कार्यालय समेत रहनेछ । भवनका लागि २३ रोपनी पाँच आना जग्गा छुट्याइएको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप