बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

EURO WATCH : 'नयाँ जिदान' बन्लान् पोग्बा ?

शुक्रबार, २८ जेठ २०७३, २० : ४०
शुक्रबार, २८ जेठ २०७३

काठमाडौं – जिनेदिन जिदान अहिले युरोपेली फुटबलका सम्मानित व्यक्तित्वको सूचिमा अग्रपंक्तीमा पर्छन् । तर सन् १९९८ को विश्वकपअघिका घटनाक्रम नियाल्दा जिदान यो अवस्थामा आइपुग्ने आँकलन गर्न गाह्रो हुन्छ ।

बोर्डिअक्समा छदाँ जिदान ठूलो मौकाको प्रतिक्षामा थिए । इंलिस प्रिमियर लिगका ब्लाकबर्न रोजर्स र न्युक्यासल युनाइटेडले क्लबमा भित्र्याउने मौका पाएपनि उनलाई पत्याएनन् । युभेन्टस् गएपछि जिदानमा सुधार देखियो । उनले पहिलो सिजनमै युभेन्टस्लाई इटालियन सिरिएको उपाधी जिताए ।

च्याम्पियन्स लिगको फाइनलमा युभेन्टस्ले बोरुसिया डर्टमुन्डको सामना गर्दा उनलाई स्कटिस खेलाडी पाउल लाम्बर्टले पुरै खेल अवधिभर मार्क गरेका थिए । तर, जिदानको प्रेरणादायि प्रदर्शनमा लगातार दुईपटक च्याम्पियन्स लिगको फाइनल पुगेर पनि युभेन्टस्ले उपाधी जित्न सकेन । त्यसैले समर्थकहरु जिदानलाई ठूला अवसरमा चल्न नसक्ने खेलाडी भन्थे । राष्ट्रिय टोलीबाट यतिबेलासम्म जिदानले उल्लेख्य प्रदर्शन गर्न सकेका थिएनन ।

घरेलु मैदानमा भएको विश्वकप फुटबलले जिदानको कथा फेरिदियो । टिममा खास उत्कृष्ट फरवार्ड नहुदाँ जिदानले आक्रामणको जिम्मेवारी लिए । तर साउदी अरेबिया विरुद्धको दोस्रो खेलमै रातो कार्ड खाएपछि उनको स्वभाव र प्रदर्शनलाई लिएर अनेक अड्कलबाजी गरियो । इटली विरुद्धको क्वाटरफाइनल र क्रोयशिया विरुद्धको सेमिफाइनलमा जिदालने राम्रो खेल्दै आफूलाई प्रमाणित गर्ने अवसर पाए । त्यसपछि फाइनलमा के भयो भनेर धेरै व्याख्या गरिरहनु नपर्ला, जिदानले घरेलु दर्शकका बीच फाइनलमा दुई गोल गरे र प्लेमेकिङको उत्कृष्ट नमूना देखाउँदै फ्रान्सलाई विश्वकप बताए ।

जिदानको यो कथा पाउल पोग्बाले राम्रोसँग पढेको हुनुपर्छ । उनको करियर पनि जिदानको करियरसँग धेरै हदसम्म मिल्दोजुल्दो छ । २३ वर्षका पोग्बा विश्वस्तरीय खेलाडी हुन् । उनको ब्रान्डसँग एजेन्ट मिनो राईओलाले १ सय मिलियनको ट्याग झुण्डयाएका छन् । तर पनि उनीमाथि महत्वपूर्ण समयमा चल्न नसकेको आरोप लाग्छ । अस्थिर भएका कारण उनको आलोचना उत्तिकै हुन्छ, जत्तिको आलोचना विश्वकप जित्नुअघि जिदानको हुन्थ्यो ।

पोग्बासामू अहिले सबै आलोचकहरुको मुख थुन्ने अवसर छ । तर उनले यसका लागि आफ्ना गल्तिहरुबाट पाठ सिक्न जरुरी छ । पोग्बामाथि स्वार्थी खेल देखाएको र टोलीका लागि राम्रो नखेलेको भन्ने आरोप लाग्छ ।

क्लब फुटबलमा पोग्बाको प्रदर्शन राम्रो छ । उनी युरोपकै खतरनाक मिडफिल्ड मानिन्छन् । बलसँगको उनको गति, मैदानमा दबाब बढाउन सक्ने क्षमता र स्तरीय सट सबैले प्रशंशा गर्ने विषय हो । तर अहिलेसम्म उनले आफ्नो क्षमता बराबरको नतिजा निकालेका छैनन् ।

बार्सिलोना विरुद्धको सन् २०१५ को च्याम्पियन्स लिग फाइनल पोग्बाका लागि आफ्नो क्षमता देखाउने ठूलो अवसर थियो । उनले केही राम्रा मुभहरु पनि सिर्जना गरे । तर युभेन्टस्लाइ जीत दिलाउन सकेनन् । बर्लिनमा भएको फाइनलमा पोग्बाको युभेन्टस्लाई ३–१ ले हराएर बार्सीलोना च्याम्पियन बन्यो । पोग्बा पनि नपत्याउने खेलाडी हुन् । उनको तलब वृद्धी गर्नुको सट्टा सस्तै मुल्यमा उनलाई युभेन्टस्मा बेच्न एलेक्स फर्गुसन तयार देखिएका थिए । तर युभेन्टस् आएपछि पोग्बा अर्कै बने । उनले यस वर्ष पनि युभेन्टस्लाई इटालियन सिरिए जिताउन भूमिका खेलेका छन् । फ्रान्सेली टोलीमा यसपटक पोग्बासँगै एन्टोनियो ग्रिजम्यान, एन्थोनी मार्सियल, एन गोलो कोन्टे, ओलिभर गिराउड लगायत खेलाडी छन् । यि सबै खेलाडीहरुले घरेलु मैदानमा चम्कन सक्ने संभावना बोकेका छन् । यसमध्ये पनि पोग्बा विशेष छन् र उनी घरेलु दर्शकको आर्कषणको केन्द्र हुन् ।

ब्राजिलमा सन् २०१४ को विश्वकप आयोजना हुदाँ नेइमारको चर्चा भएजसरी नै फ्रान्स युरो २०१६ आयोजना हुदाँ पोग्बाको चर्चा चुलिएको छ । उनी आयोजक फ्रान्सको पोस्टर ब्वाई हुन् । टेलिभिजन, रेडियो र इन्टरनेटमा अहिले पोग्बा एकछत्र छाएका छन् । फ्रान्सले पछिल्लो पटक घरेलु मैदानमा खेलेको दुईवटै प्रमुख उपाधी जितेको छ । युरो ८४ मा माइकल प्लाटिनी र विश्वकप ९८ मा घरमै जिदान चम्किएका थिए । यस्तो गौरवशाली इतिहासबीच समर्थकहरुको आशा यसपटक पोग्बा चम्कन्छन् भन्नेमा छ ।

घरेलु भूमिमा विश्वकप जित्दा जिदान २८ वर्षका थिए । पोग्बा भर्खरै २३ भए । त्यसैले शंका छैन्, पोग्बाका लागि परिक्षा कठिन हुनेछ । ‘उनको शारिरीक प्रदर्शन निकै प्रभावकारी छ । उनी छिटो कुद्छन्, शक्तीशाली तथा प्राविधिक रुपमा उत्कृष्ट सटहरु खेल्छन् । विश्वस्तरीय खेलाडीमा हुनुपर्ने सबै गुण उनमा छ,’ समकालिन एन्टोनियो ग्रिजम्यानले भनेका छन् ।

पोग्बा आफैँ पनि महत्वाकांक्षी छन् । उनले सेन्टल मिडफिल्डमा क्रान्ति नै गर्न खोजेका छन् । ‘म कम्प्लिट फुटबलर बन्न चाहन्छु । म रक्षापंक्ती, आक्रमण, गोल गर्ने, पास दिने र ट्याकल गर्ने सबै कामहरु गर्न चाहन्छु । मैदानमा म लिडर बन्न चाहन्छु,’ पोग्बाले भनेका छन् ।

क्रिस्टियानो रोनाल्डो, लियोनल मेसी, रोनाल्डिन्हो र आन्द्रेस इनिस्टाले उस्तै प्रकृतिको फुटबल खेलेको बताउँने पोग्बा आफू फरक बन्ने बताउँछन् । ‘मैले अहिल्यै गोल गर्न जानिसके , महत्वपूर्ण पासहरु दिएको छु । केवल मेरो स्तर बढाउनुछ,’ पोग्बाले भनेका छन् ।

पोग्बा यूट्यूब जमानाका खेलाडी हुन् । उनी सामाजिक सञ्जालमा पनि उत्तिकै चर्चित छन् । अझै फ्रान्समा प्रतियोगिता सूरु हुदाँ विश्वकै ध्यान उनीमाथि केन्द्रित हुनेछ । तर, फ्रान्सले तय गर्ने यात्राकै आधारमा प्रतियोगितामा पोग्बाको गुण र दोषको मूल्यांकन हुनेछ ।

एजेन्सीको सहयोगमा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप