बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

जथाभावी खोटो सङ्कलनले वन विनाश

शनिबार, २९ जेठ २०७३, ०९ : १७
शनिबार, २९ जेठ २०७३

जाजरकोट - यहाँका विभिन्न गाविसका मापदण्डविपरीत खोटो सङ्कलन भइरहेको पाइएको छ ।

जिल्लाको कार्कीगाउँ, झाप्रा, सीमा, दशेरा, पजारु, जुगाथापाचौर, साल्मा, डाँडागाउँ, लहँ, मजकोट, सुवानाउली, थालारैकर, गर्खाकोट, पुन्मा, खलङ्गा, भुर, ढिमे, खगेनकोटलगायत २० गाविसका ८५ सामुदायिक वनमा जथाभावी खोटो सङ्कलन गर्दै आइएको छ ।

जाजरकोटमा कार्यक्षेत्र बनाएका सात वटा खोटो सङ्कलकले मापदण्ड विपरीत खोटो सङ्कलन तथा चोरी निकासी गर्दै आएका छन् । नियमअनुसार एक हेक्टर वनमा पाँचदेखि १० वटा माउ रुखलाई सुरक्षित राख्नुपर्ने खोटो सङ्कलन कार्य विधिमा उल्लेख छ । तर त्यसको पालना भएको छैन ।

जथाभावी रूपमा खोटो सङ्कलन गर्ने काम बन्द गर्नुपर्ने धारणा ढिमेका डिल्ली थापाको भनाइ छ । उनले भने, “खोटो सङ्कलकलाई छाडा छाड्दियो भने १० वर्षमा सल्लाघारी पूरै सखाप हुनेछ ।”

सङ्कलक कम्पनीका कामदारले धेरै खोटो श्राव गराउन सल्फ्युरिक एसिडको मात्रा बढी प्रयोग गर्दा पनि सल्लाका रुख सुक्दै गएका छन् । जिल्ला वन कार्यालयले यसमा कडाइ गर्न सकेको छैन । जङ्गलको नियमित निरीक्षण र अनुगमन शून्य छ । जङ्गलमा रहेका सबै रुखबाट खोटो निकाल्नु, तोकेको मात्राभन्दा बढी एसिडको प्रयोग गर्नु मापदण्ड विपरीत भएको जिल्ला वन कार्यालयका नायब सुब्बा ऋषभदेभ खनालले बताउनुभयो ।

समुदायले सामुदायिक वन संरक्षण गर्न सकेको स्थानीयको गुनासोमा जिल्ला वन कार्यालयका नायब सुब्बा खनाल भन्नुहुन्छ, “ कार्यालयमा कर्मचारी कम भएकाले नियमितरुपमा अनुगमन र निरीक्षण गर्न सकिएको छैन ।”

मापदण्ड विपरीत खोटो सङ्कलन र चोरी निकासी हुँदासमेत सामुदायिक वन उपभोक्ता समितिले र जिल्ला वन कार्यालयले रोकथामका लागि चासो दिएको छैन । “खोटो सङ्कलक कम्पनीले समितिका पदाधिकारी र वनका प्राविधिकलाई निश्चित रकम दिने हुनाले मापदण्ड विपरीत खोटो सङ्कलन भइरहेको छ,” जुँगाथापा चौरका कृष्ण रेग्मीले भन्नुभयो । नियामक निकाय आर्थिक प्रलोभनमा परेकाले उनीहरु चुप छन्, यता सल्लाधारी विनाश भइरहेको छ, उहाँले गुनासो गर्नुभयो ।

कम्पनीले वार्षिक एक लाख टन खोटो सङ्कलन र निकासी गर्ने अनुमति पाए पनि एक लाख ५० हजार टनसम्म खोटो सङ्कलन गर्ने गरेका छन् । जङ्गलमा भेटिएका सबै सल्लाबाट खोटो निकाल्ने गरेका छन् । एउटा पनि माउ रुख नराख्दा सल्लाघारी विनाश भइरहेको छ ।

सामान्यतः चैतदेखि कात्तिकसम्म खोटो सङ्कलन गर्ने याम हो । खोटो सङ्कलन कार्यविधि २०६४ मा एउटा रुखमा ३२÷३२ रिल मात्र रिल बनाउनुपर्ने उल्लेख छ । तर, सङ्कलकले १०० देखि २०० सम्म रिल लगाउने गरेका छन्

बढी मात्रामा खोटो सङ्कलन गर्ने होडबाजी कम्पनीबीच नै हुने गरेका एक सङ्कलनकर्ताले स्वीकारेका छन् । सामुदायिक वन समूहको कार्ययोजना विपरीत खोटो सङ्कलन गर्न नपाइने प्रावधान रहेको जिल्ला वन अधिकृत उपेन्द्रप्रसाद पटेलले भन्नुभयो, “नियमविपरीत खोटो सङ्कलन कार्यमा वन प्राविधिकको संलग्नता छैन ।”

“खोटो सङ्कलन क्षेत्रमा वृक्षरोपन गर्नुपर्ने र पाँच वर्षसम्म त्यसको संरक्षण गर्नुपर्ने दायित्व सम्बन्धित उद्योग वा निकायको हुनेछ,” कार्यविधिमा उल्लेख छ । तर वनमा कहिल्यै वृक्षरोपन हुँदैन । खोटो सङ्कलनकर्ताले गएको १५ वर्षदेखि नै यो कार्यविधि पालना गरेका छैनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप