बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण असोज ३० गते !

शनिबार, २९ जेठ २०७३, १५ : ४३
शनिबार, २९ जेठ २०७३

काठमाडौं – चिनियाँ राष्ट्रपति सि जिनपिङले अगामी असोजमा नेपाल भ्रमण गर्ने लगभग तय भएको छ । साउथ चाइना मोर्निङ पोष्टको रिपोर्ट अनुसार आगामी अक्टोबर महिनामा पानाजीमा हुने ब्रिक्स सम्मेलनपछि चिनियाँ राष्ट्रपति नेपाल भ्रमणमा आउने छन् ।

हङकङको पत्रिकाले नेपालको परराष्ट्र मन्त्रालयलाई उद्धृत गर्दै सम्मेलन सकिएको दिन अर्थात् अक्टोबर १६ (असोज ३०) गते नेपाल आउने जनाएको छ ।

यसैहप्ता नेपालको तीन दिने भ्रमणमा आएका चिनियाँ सैन्य एडमिरल सुन जियानगुओले समेत यस विषयबारे संकेत गरेको उक्त रिपोर्टमा उल्लेख छ ।

चीनसँग नजिकिँदा भारत सशंकित

चिनियाँ राष्ट्रपतिले नेपाल भ्रमण गर्ने लगभग तय भएको समाचार आइरहँदा भारत भने सशंकित देखिएको छ । भारतीय मिडिया द हिन्दुमा यस विषयमा एक रिपोर्ट नै प्रकाशित गर्दै सि जिनपिङको भ्रमणले नजिकिँदै गएको नेपाल र चीनबीचको सम्बन्ध अझै सुदृढ बन्ने विश्लेषण गरेको छ ।

‘नेपालमा संविधान जारी भएपछि देखिएको असहज परिस्थितिमा चीनले नेपालमा पेट्रोलियम पदार्थको एकाधिकार अन्त्य गरेको थियो,’ रिपोर्टमा भनिएको छ ।

स्रोतलाई उल्लेख गर्दै रिपोर्टमा भनिएको छ, ‘एडमिरल सुनले नेपालमा भ्रमणका दौरान प्रधानसेनापति राजेन्द्र क्षेत्री र रक्षामन्त्री भीमरावलसँग दुई वटा विषयमा छलफल गरेका थिए । जसमध्ये एक राष्ट्रपति जिनपिङको भ्रमण थियो भने अर्को क्विनघाई–तिब्बत रेलवे काठमाडौंसम्म र पछि भारतको सीमाको नजिक रहेको लुम्बिनीसम्म पुर्याउने विषयमा छलफल भएको थियो । दुई देशले यातायात सञ्जाल विस्तार र सुदृढ गर्नेमा विशेष जोड दिइरहेको छ जसमा रेलवे मूख्य प्राथमिकतामा रहेको छ ।’

गत महिना चीनको गान्सु प्रान्तदेखि नेपालको लागि मालवाहक रेल तिब्बतसम्म आएको थियो । जहाँबाट स्थलमार्ग हुँदै काठमाडौंसम्म समानहरु काठमाडौंसम्म पुर्याइएको थियो ।

यसबाहेक नेपाल र चीनबीच वान बेल्ट वान रोड, युरेसियन कनेक्टीभिटी प्रोजेक्टको बारेमा छलफल भइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका दौरान दुई देशबीचको सम्बन्धले नयाँ गति पाएको हिन्दुको रिपोर्टमा भनिएको छ ।

नेपाल र चीनले विदेशमन्त्री स्तरीय बैठक जुन महिनाको तेस्रो साता गर्दैछ । जसमा प्रधानमन्त्री ओलीले चीनभ्रमणका दौरान गरेका सबै सम्झौताहरुको बारेमा छलफल हुनेछ ।

शुक्रबार मात्र उपराष्ट्रपति नन्दबहादुर पुन साताब्यापी चीन भ्रमणका लागि त्यहाँ पुगेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप