बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

बैदेशिक रोजगारीमा बदमासी : दश महिनामा ५० करोड ठगी !

शनिबार, २९ जेठ २०७३, १६ : ४३
शनिबार, २९ जेठ २०७३

पिडीत १ –झापा वुधवारेका रमेश बानियाँ श्रीमती र दुई छोराछोरी छाडेर गत मंसिरमा बैदेशिक रोजगारीका लागि कतार गए । राजधानीकै एक प्रतिष्ठीत म्यानपावर कम्पन्नीलाई एक लाख रुपैयाँ वुझाएर कतार गएका उनले छोराछोरीलाई राम्रै शिक्षा दिक्षा दिने तथा घरपरिवारको पालनपोषणमा सघाउ पुग्ने सपना देखेका थिए । स्काफोल्डिङको सामान्य तालिम लिएका उनलाई म्यानपावरले सोही काममा भनेर विदेश पठाएको थियो । मासिक २५ देखि ३० हजार रुपैयाँ बचत गर्न सक्ने भनेपछि विदेसिएका उनले त्यहाँ पुगेपछि मात्र थाहा पाए, उनलाई भनिएको काम र पारिश्रमिक दुवै थिएन । वाध्यतामा विदेसिएका उनले तत्काल मेनपावरमा सम्पर्क गरे तर म्यानपावर कम्पनीले उनको कुरा सुन्न मानेन । पटक पटक सम्पर्क गर्दापनि केही नलागेपछि ४ महिनासम्म ५५ डिग्रीको तातो घाममा दिनभर इटा वोक्ने काम गरे । तर, त्यही कामकै कारण ढाड र पिडँुला दुख्ने रोगले सताएपछि निक्कै प्रयासपछि केही समय अघि मात्र स्वदेश फर्केका छन् । म्यानपावर कम्पनीलाई कारवाही माग गर्दै वैदेशिक रोजगार विभाग धाइरहेका उनलाई अहिले एकातिर विदेशजादा लिएको ऋणले सताएको छ भने अर्कोतिर कतारवाट ल्याएको रोगले ।

पिडीत २ –सप्तरी घर भएका मोहनलाल यादव पनि राम्रो कमाई गरेर घरपरिवार पाल्ने आश देखेर गत फागुन दोस्रो साता मलेसिया प्रस्थान गरे । निम्न आर्थिक अवस्थाले गर्दा आकर्षक तलवको लोभमा उनी एक लाख २० हजार रुपैयाँ तिरेर मलेसिया गएका थिए । प्लाष्टिक कारखानामा काम भनेर पठाइएका उनले आखिरिमा त्यहाँको फलाम कम्पनीमा काम गर्नु प¥यो । दैनिक १२ घण्टा फलाम वल्डिङ गर्नुपर्ने भएपछि उनले बल्ल ठगिएको थाहा पाए । स्वदेशमा हुँदा भनिएको काम नपाएपछि म्यानपावर र एजेन्टलाई सम्पर्क गर्न खोजे, तर दुवै सम्पर्कमा आएनन् । केही महिनामै आँखामा चोट लागेपछि सामान्य उपचार गरेर साथीको प्रयासमा वल्ल, तल्ल स्वदेश फर्कन सफल भए र न्यायको ढोका डकडकाइ रहेका छन् । उनले न्याय पाउँछन् की पाउदैन् त्यो थाहा छैन तर म्यानपावरलाई वुझाएको रकम फिर्ता नपाएकाले ऋण कसरी तिर्ने भन्ने चिन्तामा छन् ।

कामको खोजीमा बिदेसिएका यी दुई युवा वैदेशिक रोजगारीका नाममा ठगिने प्रतिनिधी पात्र मात्र हुन् । सयौ युवा हरेक दिन यसैगरि ठगिएपछि समस्या लिएर वैदेशिक रोजगार विभागमा धाइरहेका छन् । लाखौ रकम खर्च गरेर आकर्षक तलव र कामको आश्वासनमा विदेसिएका युवा ठगिनेक्रम बढेपछि यतिवेला वैदेशिक रोजगार विभागमा उजुरीको चाँङ नै लागेको छ ।

सरकारले वैदेशिक रोजगारीमा जाने कामदारका लागि शुन्य लागतको व्यवस्था गरेपनि त्यो कार्यान्वयन नहुँदा ठगिनेक्रम अझै बढेको छ । बिभागका अनुसार शुन्य लागत लागु भएपछि ठगिको उजुरी लिएर आउने ह्वात्तै बढेका छन् । अहिले विभागमा सरदर दैनिक ६ जना पिडीत उजुरी वोकेर पुग्ने गरेका छन् । यस्तै बैदेशिक रोजगारीमा नाममा दैनिक १६ लाख रुपैयाँभन्दा वढी रकम ठगी हुने गरेको छ ।

चालु आर्थिक वर्षको १० महिना अवधीमा मात्र बैदेशिक रोजगारीमा भएको ठगीलाई लिएर विभागमा १ हजार ६ सय ५६ वटा उजुरी परेका छन् । ती उजुरीमा ४९ करोड ८५ लाख ६४ हजार ४ सय ३७ रुपैयाँ ठगी रकम दावी भएको छ । विभागको तथ्याङ्क अनुसार विदेश पठाउने नाममा सवैभन्दा वढी रकम व्यक्तिगत रुपमा ठगी हुने गरेको छ । यो अवधमिा मात्र विभागमा व्यक्तिगत रुपमा भउको ठगीलाई लिएर ४ सय ८२ वटा उजुरी परेका भएपनि ती उजुरीमा ३१ करोड ६७ लाख ९५ हजार ८ सय ४६ रुपैयाँ रकम ठगी भएको दावी परेको छ । यस्तै, १० महिना अवधीमा संस्थागत (म्यानपावर ) वाट भएको ठगीलाई लिएर १ हजार १ सय ७४ वटा उजुरी परेका छन् । उजुरीको संख्या संख्यात्मक रुपमा बढी भएपनि रकम भने केही कम देखिएको छ । ती उजुरीमा १८ करोड १७ लाख ६८ हजार ५ सय ९१ रुपैयाँ ठगी रकम दावी भएको छ ।

कसरी हुन्छ ठगी

राजधानीमा सञ्चालित म्यानपावर कम्पनी र विभिन्न जिल्लामा रहेका शाखा कार्यालय र तीनका एजेन्टले कामदारलाई आकर्षक तलव र कामको लोभ देखाउँछन् । वेरोजगार युवा त्यो लोभमा परेर विदेश जान तयार हुन्छ । विदेश नगई नहुने स्थिती र अर्कोतिर बढी रकम तिर्नुपर्ने वाध्यतामा परेका कामदारले मागेजति रकम त तिर्छन तर त्यो कुनै प्रमाण हुदैन । अझ म्यानपावरले कामदारलाई नक्कली स्वास्थ्य जाँच रिपोर्ट, अभिमुखिकरणको प्रमाण पत्र पनि रकम लिएर उपलव्ध गराउँछन् । म्यानपावरले एक लाख रकम लिएर १० हजारको रसिद थमाउँछन् । वेरोजगार युवा म्यानपावरको चंगुलमा परेर विदेश पुग्छ तर उसलाई भनेको काम र पारिश्रमिक दुवै हुदैन । त्यहाँ रहेको म्यानपारको एजेन्टले अर्को काममा लैजाने, फरक कम्पनीलाई कमिसनमा बेच्ने काम समेत गर्छन् । यसरी ठगिमा परेको कामदार शारिरिक र मानसिक रुपमा विछिप्त हुने गरेको छ ।

के भन्छन् सरकारी अधिकारी

वैदेशिक रोजगार विभागकी उपसचिव रमा भट्टराई वैदेशिक रोजगारकिा नाममा हुने ठगी विगतको भन्दा कम भएको तर मानिसमा उजुरी गर्नुपर्छ, दोषीलाई कारवाही गर्नुपर्छ भन्ने ज्ञान वढ्दै गएकाले उजुरी आउनेक्रममा भने वृद्धि भएको बताउँछिन् । अझ सरकारले शुन्य लागत लागु गरेपछि त्यस्ता उजुरी वढ्दै गएका छन् । विभागले संस्थागत रुपमा हुने ठगीमा कामदारलाई तत्काल न्याय दिन सक्ने भएपनि आवश्यक प्रमाण नहुँदा व्यक्तिगत ठगीका घटना भने अनुसन्धानमा समस्या हुने गरेको भट्टराई बताउँछिन् । ‘हामीले त्यस्ता उजुरीलाई सकेसम्म छिटो अनुसन्धान गरेर पिडीतलाई ठगिएको रकम फिर्ता गराउने गरेका छौ’, उनले भनिन्, ‘तर कतिपय अवस्थामा प्रमाण अभावले अनुसन्धानमा समस्या हुने गरेको छ ।’ कतिपय मुद्धा विभागले वैदेशिक रोजागार न्याधिकरणमा पठाउने गरेको वताएको छ ।

सरकारकै कारण ठगी –व्यवसायी

वैदेशिक रोजगार व्यवसायी भने सरकारको नीतिकै कारण ठगी बढ्दै गएको दावी गर्छन् । सरकारले वनाउने ऐन, कानुन र नियमावली व्यवहारिक नहुदा समस्या भैरहेको र व्यवसायीले चाहेर पनि नियत्रणका काम गर्न नसकिरहेको व्यवसायीको भनाइ छ । नेपाल वैदेशिक रोजगार व्यवसायी स.घका पूर्व उपाध्यक्ष टंक राउत सरकारको नीति नियन्त्रण मुखि हुँदा समस्या भइरहेको भन्दै त्यस्ता नीति व्यवहारिक हुनुपर्ने जोड दिन्छन् । ‘वैदेशिक रोजगार क्षेत्रलाई हेर्ने दृष्टिकोणमा सरकारले परिवर्तन गर्नुपर्छ, नियन्त्रणमुखि नभएर व्यवहारिक व्यवस्था लागु गर्नुपर्छ’, उनले भने, ‘शुन्य लागत कार्यान्वयन हुनै नसक्ने अवस्था छ, अनि कहाँवाट ठगीका उजुरी कम हुन्छन् ।’ सरोकारवालासँग छलफल गरेर व्यवहारिक नीति लिएमा यस्ता घटना स्वतः न्युन हुने उनको वुझाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप