बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

अर्थमन्त्रीको प्रश्न : बजेट पारित भएकै छैन कसरी महँगी बढ्छ ?

शनिबार, २९ जेठ २०७३, १८ : ३१
शनिबार, २९ जेठ २०७३

काठमाडौं - अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बजेट कार्यान्वयनमा कुनै शंका उपशंका नगर्न सबैलाई आग्रह गरेका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री पौडेलले संसदमा प्रस्तुत बजेटवारे आफू पूर्णरुपमा जवाफदेही रहेको उल्लेख गर्दै यसको आधार, कार्यान्वयन र स्रोतको बारेमा युक्तिसंगत जवाफ रहेकोले कार्यान्वयनवारे कसैलाई शंका नगर्न अनुरोध गरेका छन् ।

उनले भने,‘‘हिजोको राजनीतिक अभ्यासमा अभ्यस्तहरुले यसको कार्यान्वयनमा शंका गर्नु स्वभाविक हो, तर यो बजेट कार्यान्वयन हुन्छ, यो कसैलाई देखाउनका लागि ल्याईएको होईन् ।’’

मन्त्री पौडेलले संविधान जारी भएपछि मुलुक समाजवादतर्फ अघि बढेको उल्लेख गर्दै सोही अनुरुपको बजेट आफूले प्रस्तुत गरेको स्पष्ट पारे । उनले भने ,‘समाजवाद हाम्रो गन्तव्य हो अनि सामाजिक न्यायको सिद्धान्त हाम्रो ध्येय हो, त्यही सिद्धान्तअनुसार बजेट ल्याईएको छ ।’

मुलुकको आर्थिक वृद्धिदर ०।७७ प्रतिशतमा खुम्चिनु नियती नभएको उनको दाबी थियो । उनले थपे,‘यो टार्ने नसक्ने अवस्थाको पनि होईन, हामी यो वर्ष महाभूकम्प र नाकाबन्दीको मारमा प¥यौं, यो त्यसैको उपज हो ।’ अघिल्लो बजेटमा ६।५ प्रतिशत आर्थिक वृद्धिदर हुने उद्देश्यले आफूले यसपटक बजेट प्रस्तुत गरेको भन्दै उक्त लक्ष्य पूरा भएर छाड्ने मन्त्री पौडेलको दाबी छ ।

बजेटको आकार ठूलो भयो भन्ने कुरामा कुनै दम नभएको उनले स्पष्ट पारे । अघिल्लो आर्थिक वर्षको तुलनामा बजेटको साईज बढ्नुमा खासै ठूलो अंकको फरक नपर्ने मन्त्री पौडेलले दाबी गरे ।

‘सपना नदेख्नेले केही गर्न नसक्ने दाबी गर्दै उनले भने,‘सुत्नेहरुलाई उठाउने खालको सपना देख्नुपर्छ, तर निदाएको वेला देख्ने सपना चाहीँ देख्नुहुँदैन्, जीवनयोगी यात्रामा फलदायी हुने सपना यो बजेटले देखाएको छ ।’ उनले बजेटलाई ठूलो आकार भयो भनेर ट्याग झूण्ड्याउनुभन्दापनि उच्च आकांक्षी भनेर विशेष दिए आफूलाई कुनै आपत्ति नहुने बताए ।

बजेट वितरणमुखी भएको भनेर आरोप लगाईएको छ नि भन्ने सञ्चारकर्मीहरुको जिज्ञासामा मन्त्री पौडेलले आरोपमा सत्यता नभएको प्रस्ट्याए । सामाजिक सूरक्षा भत्ता दोव्बर वृद्धि गरेकोवारे चित्त नबुझेको भए जनतामा गएर यो सरकारले ठिक गरेन भनेर प्रश्न गर्न सक्नुपर्ने उनको भनाई थियो ।

बजेटले वित्तिय अराजकता उत्पन्न गरायो भन्ने आरोपमा समेत कुनै दम नभएको उनले स्पष्ट पारे ।

महत्वकांक्षी बजेटका कारण बजार महँगी भएको छ नि भन्ने पत्रकारको जिज्ञासामा मन्त्री पौडलले भने,‘यो मिथ्या हो, बजेट पारित भएकै छैन कसरी महँगी बढ्छ ?’ यद्धपी महँगी नियन्त्रण गर्ने जिम्मेवारी सरकारको भएकोले यसबाट आफू नपन्छिने स्पष्ट पारे । मुद्रास्मृति ७।५ प्रतिशतभन्दा माथि जान नदिनेसमेत उनको भनाई थियो ।

वास्तविक भूकम्पपीडितहरुको नाम नछुटोस् भनेर नै सरकारले पूनः बेनिफिसिएरी डाटाको काम थालेको बताउँदै उनले भने,‘वास्तविक पीडितहरु छुट्दैनन्, कसैको नाम दोहोरिन दिँदैनौं ।’

फरक प्रसंगमा मन्त्री पौडेलले सरकार आगामी ०७४ माघ ७ गते संसदको अर्को निर्वाचन सम्पन्न गराएर मात्रै विदा हुने ठोकुवा गरे । उनले भने,‘यो सरकार तीन वटै निकाय संघ, प्रदेश र संसदको चुनाव सम्पन्न गराएर विदा हुन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप