सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बेलको प्रेरणामा वेल्सको विजयी शुरुवात, इंग्ल्याण्ड रोकियो

आइतबार, ३० जेठ २०७३, ०५ : ०४
आइतबार, ३० जेठ २०७३

बोर्डक्स — ५८ वर्षपछि मुख्य प्रतियोगितामा फर्किएको वेल्सले स्लोभाकियालाई पराजित गर्दै विजयी शुरुवात गरेको छ । सन् १९८५ मा अन्तिम पटक विश्वकप खेलेको वेल्सले स्लोभाकियामाथि २—१ को जीत निकाल्यो ।

गेराथ बेलको उत्कृष्ट फ्रिकिक मार्फत वेल्सले अग्रता लिएको थियो । तर, खेलको दोस्रो हाफमा स्लोभाकियाका ओन्ड्रेज डुडाले गोल गर्दै खेल बराबरीमा ल्याए ।

त्यसपछि अतिरिक्त खेलाडीको रुपमा मैदान प्रवेश गरेका हाल रोबसन कानुले गोल गर्दै वेल्सलाई विजयी शुरुवात दिलाए ।

खेलको पहिलो हाफको शुरुवातमा नै स्लोभाकियाले गोल गर्ने सुन्दर अवसर गुमाएको थियो । मारेक ह्यामसिकको प्रहारले वेल्सका गोलकिपरलाई छलाए पनि डिफेन्डर बेन डेभिसले उत्कृष्ट बचाउ गरे ।

पहिलो हाफमा वेल्सले खेलमा पूर्ण नियन्त्रण राखे पनि दोस्रो हाफ भने निकै प्रतिस्पर्धात्मक बनेको थियो ।

समूह बी मा वेल्स शीर्ष स्थानमा रहेको छ र दोस्रो चरणमा प्रवेश गर्ने सम्भावना बलियो बनेको छ ।

उता, समूहकै अर्को खेलमा इंग्ल्याण्ड भने रसियासँग बराबरीमा रोकिएको छ ।

खेलमा पूर्ण रुपमा नियन्त्रण राखे पनि इंग्ल्याण्डले पहिलो गोलका लागि दोस्रो हाफसम्म पर्खनुपरेको थियो ।

एरिक डायरको उत्कृष्ट फ्रिकिकको मार्फत इंग्ल्याण्डले अग्रता लिए पनि खेलको अतिरिक्त समयको ९२ औं मिनेटमा भासिली बेरेजुटस्कीले गोल गर्दै इंग्ल्याण्डलाई जीतबाट बञ्चित गरे ।

म्यान अफ द म्याच वेयन रुनीलाई निकाल्नु प्रशिक्षक रोय हडसनका लागि महंगो पर्यो । पहिलो गोलपछि उनको स्थानमा ज्याक विलसेयरलाई हडसनले मैदानमा प्रवेश गराएका थिए ।

खेलमा नियन्त्रण राख्न विलसेयरलाई मैदानमा पठाएपनि त्यो निर्णय उनको लागि प्रत्युत्पादक बन्यो ।

इंग्ल्याण्डले अब वेल्सको सामना गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप