बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

वर्ड भिजनको कार्यालयमा विप्लव माओवादीको हमला

आइतबार, ३० जेठ २०७३, १४ : ०३
आइतबार, ३० जेठ २०७३

नुवाकोट– केहि दिन यता अराजक गतिविधि बढाएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले नुवाकोटमा पनि ‘विदेशी हस्तक्षेपको विरुद्ध’ भन्दै एक कार्यालयमा आगजनी गरेको छ । शनिवार राती नुवाकोटमा रहेको अन्तराष्र्टिय संस्था वर्ड भिजनको कार्यालयमा विप्लव माओवादीले आगजनी गरेको हो । आगजनीबाट वर्ड भिजनको कार्यालयमा क्षति पुगेको छ भने एउटा गाडी जलेर नष्ट भएको छ । मध्यराती १२ बजेको समयमा विप्लव माओवादीका कार्याकर्ताहरुले विदुर–४ बट्टार बजारस्थित कार्यालय रहेको घरभित्र पसेर संस्थाको बा १३ च २४३६ नंबरको गाडीमा आगो लगाइदिएका हुन् । उक्त आगलागीसँगै कार्यालयकोसमेत केही भाग जलेर क्षति पुगेको छ । कार्यालयको सुरक्षार्थ बसेका सुरक्षा गार्डका अनुसार दुई–तीन जनाको संख्यामा आएका उनीहरुले आफूहरु विप्लव माओवादीका कार्यकर्ता भएको जनाउँदै आगो लगाएर त्यहाँबाट तत्काल भागेका थिए । ‘हामी विप्लव माओवादीका मान्छे हौँ, चुप लागेर बस्, भनेर थर्काए र पेट्रोल छर्केर आगो लगाए’, ति सुरक्षा गार्डले उक्त घटनाबारे बेलिबिस्तार लगाउँदै भने । सँगै रहेका अन्य गाडीहरु भने आगलागीबाट जोगिएका छन् । आगलागीले चिच्याइरहेका सोही कार्यालयको घरमा भएका मानिसहरु प्रहरी, स्थानिय र दमकल समयमै पुगेर आगो नियन्त्रणमा लिएका कारण भएका बच्न सफल भएका थिए । आगलागीबाट एक करोड बराबरको नोक्सान भएको भनिएपनि क्षतिको यकिन विवरण भने आउन सकेको छैन । यसैबीच घटनालगत्तै ति व्यक्तिहरुको अनुसन्धान र खोजी कार्यलाई तिव्र पारेको प्रहरीले आगजनीको घटनामा संलग्न रहेको आशंकामा १ बजे राती नै तीन जनालाई पक्राऊ गरेको छ । तर, ति पक्राउ परेका व्यक्तिहरु माओवादी कार्यकर्ता हुन् वा होइनन् यसको सम्बन्धमा प्रहरीले कुनै जानकारी दिएको छैन । उनीहरुमाथी थप अनुसन्धान गरी छानबिनपश्चात् दोशी ठहरिए कारबाही गरिने नुवाकोट प्रहरीका प्रमुख प्रहरी उपरिक्षक देबबहादुर बोहराले जानकारी दिए । घटनामा संलग्न अन्य व्यक्तिहरुको अनुसन्धान र खोजी कार्य भइरहेको उनले बताए । ‘माओवादी भनेर गरिएको घटना छ । तर, घटनामा जो सुकै संलग्न हुन्, तिनलाई सत्यतथ्य छानविन गरी कानुनी कारबाही गरिनेछ,’ प्रहरी प्रमुख बोहराले भने । नेकपा माओवादीले यस घटनाको आधिकारिक रुपमा जिम्मा लिएको छ । भूकम्पपीडित जनतालाई ललिपप देखाएर ठगी गर्ने यस्ता विदेशी संस्थालाई आफ्नो पार्टीले कारबाही गरेको उक्त पार्टीका एक नेताले बताए । ‘नेपालमा दिनप्रतिदिन बढ्दो विदेशी हस्तक्षेपलाई निस्तेज गर्न गरिएको हमला हो, ति नेताले टेलिफोन सम्पर्कमा भने, ‘सामाजिक सेवाको नाममा जनतामाथी लादिएको हस्तक्षेप हामीलाई मान्य छैन । यसका विरुद्ध माओवादी जस्तोसुकै कदम उठाउन पनि तयार छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप