बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

धुर्मुस सुन्तलीलाई गोफण्डमीबाट २७ लाख सहयोग संकलन

आइतबार, ३० जेठ २०७३, ११ : १७
आइतबार, ३० जेठ २०७३

काठमाडौं–धुर्मुस सुन्तलीलाई इन्टरनेटको माध्यमबाट सहयोग जुटाउने वेभसाइट गोफण्डमी मार्फत २७ लाख रुपैंया सहयोग संकलन भएको छ । सिन्धुपाल्चोकको गिरान्चौर एकिकृत बस्ती निर्माणमा जुटेका उनीहरुलाई एक महिनामा २७ लाख रुपैँया सहयोग संकलन भएको हो । सामाजिक अभियान्ता सन्तोष ओझा र सञ्चारकर्मी सरल गुरुङ्गको सहयोगमा गिरान्चौर एकिकृत बस्ती निर्माणका लागि ५० लाख रुपैँया सहयोग उठाउने लक्ष्यका साथ गोफण्डमीमा खाता खोलिएको थियो । जस अन्तर्गत एक महिनामा संसारभर रहेका नेपाल र नेपालीलाई माया गर्ने ४ सय भन्दा बढी व्यक्तिहरुबाट उक्त सहयोग जुटेको हो । प्रविधिको विकाससँगै सामाजीक काममा सहयोग संकलन गर्न यो वेभसाइटको प्रयोग हुने गर्दछ । गिरान्चौर एकिकृत बस्ती निर्माणका लागि पनि गोफण्डमी विश्वभरबाट पैसा जम्मा गर्न सकिने खुत्रुके भएकाले यो अभियान सुरु गरिएको सञ्चारकर्मी गुरुङले बताएका छन् । युरोपीयन मुलुकमा नेपाल र नेपालीलाई सहयोग गर्न चाहने मानीसहरुधेरै छन् सामाजिक अभियान्ता ओझा भन्छन्, तर व्यस्तता कारण उनीहरुले सहयोग पठाउन सकिरहेका हुँदैनन् । त्यसैले आफ्नो क्रेडिट कार्डबाट एक क्लीकमै सहयोग गर्न सकिने गरी गोफण्डमीमा खाता खोलेर धुर्मुस सुन्तलीलाई आफुहरुले सघाएको उनको भनाई छ । गोफण्डमी मार्फत अमेरिकाबाट मुना शाही र माधव दुलालले व्यक्तिगत रुपमा जनही १ लाख रुपैंया भन्दा बढी सहयोग गरेका छन् । त्यस्तै, थाइल्याण्डबाट धन गुरुङ्ग, अमेरिकामा रहेका भुटानी शरणार्थीहरुको संस्था कोलोराडो अडल्ट डेकेयर, दिपेन्द्र अधिकारी र चन्द्र कँडेलले जनही ५० हजार रुपैंया भन्दा बढीे सहयोग गरेका छन् । धुर्मुस सुन्तलीको गिरान्चौर एकिकृत नमुना बस्ती निर्माणका लागि इन्टरनेटमार्फत सुरु भएको यो अभियानमा परशुराम तिमल्सिना र अमेरिकामा रहेका नेपालीहरुको संस्था बाल्टीमोर असोसिएसन अफ नेपालीज—बानाले सहकार्य गरेका छन् । बानाका अध्यक्ष कुल प्रसाद आचार्यले नेपाली कलाकारले सुरु गरेको यस अभियानमा साथ दिन पाउँदा खुसी लागेको बताए । अमेरिकामा रहेका कलाकार प्रेमराजा महत तथा परशुराम तिमल्सिनाले गोफण्डमीमा जम्मा भएको पैसा धुर्मुस सुन्तली फाउण्डेनको खातामा ल्याउन महत्वपुर्ण भुमीका खेलेका छन् । साढे ४ करोड भन्दा बढीको लागतमा निर्माणाधीन गिरान्चौर एकिकृत बस्तीका लागि गोफण्डमीबाट नसोचेको सहायता जुटेको फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस)ले बताएका छन् । ५० लाख पुर्याउने लक्ष्य अझै पुरा भइनसकेकाले युरोपीयन मुलुकमा बस्नेहरुसँग उनले यो लक्ष्य पुरा गर्न सहयोगको अपील गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप