बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

बाह्र वर्षमा पूरा भएन मङ्गलबारे खानेपानी आयोजना

आइतबार, ३० जेठ २०७३, ११ : ५८
आइतबार, ३० जेठ २०७३

मोरङ – नेपाली समाजमा १२ वर्षपछि खोला फर्कन्छ भनिन्छ तर मङ्गलबारेवासीलाई मङ्गलबारे खानेपानी आयोजनाबाट पानी पिउने धोको १२ वर्षदेखि भए पनि अहिलेसम्म उनीहरुले त्यो अवसर पाएका छैनन् ।

उर्लाबारी–६ मङ्गलबारे रामनगर चोकमा रु तीन करोडभन्दा बढी रकम खर्चिएर निर्माण गरिएको मङ्गलबारे खानेपानी निर्माण गरिएको आयोजनास्थलमा नेपाल विद्युत् प्राधिकरण दमक वितरण केन्द्रले मिटर उपलब्ध नगराइदिँदा आयोजना सञ्चालन अलपत्र अवस्थामा पुगेको छ । दुई वर्षअघि प्राधिकरण दमक वितरण केन्द्रलाई आयोजनाले मिटर उपलब्ध गराउनका लागि रु ३० हजार दाखिला गरे पनि आयोजना अहिलेसम्म विद्युतीय सेवा उपलब्ध भएको छैन ।

जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय मोरङले पाँच वर्षभित्र आयोजना निर्माण गर्ने लक्ष्य लिए पनि ढिलासुस्तीका कारण सम्पन्न गर्न एक दशक बढी लागेको हो । मङ्गलबारे खानेपानी आयोजना समितिका अध्यक्ष मुक्तिनाथ न्यौपानेका अनुसार आयोजना सम्पन्न भएपछि प्राधिकरणलाई विद्युतीय मिटर जडानका लागि पटक पटक आग्रह गरे पनि त्यसको सुनवाइ नभएको बताए ।

आयोजना समितिका अध्यक्ष न्यौपानेले भने, “पानी तान्ने ट्रिलरका लागि विद्युत् ट्रान्समिटर भए पनि विद्युत् सेवा उपलब्ध नभएपछि समस्या भएको हो ।” खानेपानी आयोजनालाई मिटर उपलब्ध गराउन प्राधिकरण दमक वितरण केन्द्र तयार भए पनि आयोजनास्थलमा प्रयोग गरिने ट्रान्सफर कानुनसम्मत नभएकाले मिटर जडान नभएको प्राधिकरण दमकका प्रमुख सुरेन्द्र साहले बताए ।

आयोजनास्थलमा ‘लो–लस’ ट्रान्सफर्मर प्रयोग गरिनुपर्नेमा अर्कै ट्रान्सफर्मर प्रयोग गरिएकाले मिटर जडान नभएको उनले बताए । २०७१ साल माघबाट नेपाल सरकारले खानेपानी आयोजनामा प्रयोग गरिने ट्रान्सफर्मर ‘लो–लस’ अनिवार्य गरेपछि यस्तो समस्या आएको प्राधिकरणले जनाएको छ । पचास घरधुरीलाई उपभोक्ता कार्ड वितरण गरिएको महिनौँ बितिसके पनि उनीहरुले अहिलेसम्म खानेपानी पाएका छैनन् । तीन किमी क्षेत्रमा पाइप बिछ्याइएको वर्ष दिन बितिसके पनि अभmै उपभोक्ताले पानी पिउन पाएका छैनन् ।

यस्तै खानेपानी आयोजना निर्माण सम्पन्न हुन नपाउँदै जीर्ण बन्दै गएको छ । आयोजनास्थलमा १ वर्ष लगाएर बनाइएको कार्यालय भवनको संरक्षण हुन नसक्दा जीर्ण बन्दै गएको हो । कार्यालय भवनका ढोका भत्किएका छन् । खानेपानी आयोजना परिसरलाई स्थानीयवासीले फोहर फ्याँक्ने ‘डम्पिङ साइट’ बनाएका छन् । करिब रु ३० लाख खर्चिएर बनाइएको खानेपानी आयोजनाको कार्यालय परिसर सहितको चौकीदार भवन पनि संरक्षणका अभावमा लथालिङ्ग छ । कार्यालय परिसरभित्र जथाभाबी फोहोर तथा घारी भएको छ ।

सरसफाइ कार्यालयले बिछ्याउनका लागि ल्याएको पाइप समेत संरक्षणको पर्खाइमा रहेको छ । दुई लाख २५ हजार लि क्षमता भएको आयोजनामा रहे पनि सञ्चालनमा नआई भत्कन थालेको छ । आयोजनास्थलको संरक्षण गर्नुपर्ने दायित्व बोकेको उपभोक्ता समितिले यसमा चासो देखाएको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप