बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

विदेशी लगानीका संरचनामा आक्रमण : अन्तर्राष्ट्रिय स्तरमा नकारात्मक संदेश प्रवाह

आइतबार, ३० जेठ २०७३, १३ : ०४
आइतबार, ३० जेठ २०७३

काठमाडौं – विदेशी हस्तक्षेप बढाउने र सरकारी राजश्व नतिर्ने भन्दै नेकपा माओवादी (विप्लव) समूहले नेपालमा संचालित विभिन्न गैरसरकारी संस्थाका कार्यालयमा आक्रमण र दुरसंचार प्रदायक कम्पनी एनसेलको टावरमा आगजनी गरेको छ । शनिवार विहानदेखि लगातार भएका आक्रमण र तोडफोडवाट १० भन्दा वढी जिल्लामा एनसेलको टावरमा क्षति पुगेको तथा नुवाकोट लगायतका जिल्लामा गैरसरकारी संस्थाका कार्यालय र गाडी जलेका छन् ।

प्रमुख सेवा प्रदायक कम्पनी एनसेलले सल्यान, दाङ्ग, कास्की, झापा, म्याग्दी, धनकुटा, मोरङ्ग, बाग्लुङ्ग, गोर्खा र प्युठान जिल्लामा रहेका कम्पनीको १० वटा बेस स्टेसनमा शनिवार बिहान आगो लगाई दूरसंचार पुर्वाधारमा भौतिक क्षति पु¥याएको जनाएको हो । यसको जिम्मा समेत नेकपा माओवादीले (विप्लव) समूहले लिइसकेको छ ।

ग्रामिण क्षेत्रमा आधारभूत तथा आकस्मिक संचार सेवा प्रदान गरिरहेका सेवा प्रदायक कम्पनीको सम्पत्ती माथि यसरी भौतिक आक्रमण भएपछि जिल्लाका ग्रामिण क्षेत्रमा संचार सेवासमेत अवरुद्ध भएको छ । यस्तै, ग्रामिण क्षेत्रमा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएका गैरसरकारी संस्थाका कार्यालय, तीनका सवारी साधनमा पनि आक्रमण भैरहेका छन् । नुवाकोटको वट्टारमा कार्यालय रहेको वल्र्ड भिजन नामको गैरसरकारी संस्थाको कार्यालय र गाडीमाथि आगजनी भएको छ । यसवाट नेपालमा विदेशी लगानीको सुरक्षाका विषयमा पनि गम्भिर प्रश्न उब्जिएको छ ।

नयाँ संविधान जारी भएसँगै मुलुक आर्थिक विकासमा अघि बढिरहेको समयमा विदेशी राष्ट्रका थुप्रै लगानीकर्ताले नेपालको दुरसंचार, जलविद्युत, पर्यटन लगायतका क्षेत्रमा लगानीको इच्छा देखाइसकेका छन् । मुलुकमा शान्ति कायम हुने र लगानीको जोखिम कम हुदै गएको वुझाईका आधारमा विदेशी राष्ट्रले लगानीका लागि इच्छा व्यक्त गर्ने तथा कतिपयले लगानीको सुरुवात समेत गरिसकेका छन् ।

सरकारले समेत नेपालमा विदेशी लगानी भित्रयाउन जोडतोडले प्रयास गरिरहेको छ । स्वदेशी सीप र पुँजीले मात्र विकास सम्भव नहुने तथा नेपालको तिव्र आर्थिक विकासका लागि विदेशी लगानीको अपरिहार्यता देखिएको हो । मुलुकको विकास सबै नागरिकका लागि अपरिहार्य पनि छ ।

आज कुनै एक राजनीतिक संगठनका नाममा भएको यो आक्रमण अन्तर्राष्ट्रिय स्तरमा लगानीकर्ताका लागि उदाहरण बन्न सक्छ । विगतमा पनि पटक पटक ठूला विदेशी कम्पनी जसको लगानीवाट नेपालले प्रसस्तै फाइदा लिन सक्थ्यो, त्यस्ता कम्पनीहरु लगानीको सुरक्षामा प्रश्न उठाउँदै नेपाल छाडेका उदाहरण पनि छन् ।

अहिले पनि राज्यले भौतिक संरचना निमार्ण, खानी तथा अन्वेषण लगायतका क्षेत्रमा विदेशीलाई लगानी गर्न आब्हान गरिहरहेको छ । जुन लगानीवाट नेपाल र नेपाली नागरिकले ठूलो फाइदा लिन सक्ने देखिएको छ । यस्तो अवसरमा सवैले सकारात्मक वातावरण निमार्ण गर्न सक्नु पर्ने हुन्छ ।

विदेशी संघ, संस्थालाई नेपालमा काम गर्न दिने नदिने तथा विदेशी लगानीकर्तालाई कसरी लगानी गराउने भन्ने मापदण्ड राज्यले बनाउने हो । राज्यको नीति, नियमका आधारमा त्यस्ता संस्थाले नेपालमा काम गरिरहेका हुन्छन् । यस्तै, ती संघ, संस्था तथा कम्पनीले नेपालमा आफ्ना कार्यक्रम संचालन गर्दा, सेवा प्रवाह गरि मुनाफा आर्जन गर्दा राजश्व तिर्नुपर्ने र त्यो कसरी लिने भन्ने नीति समेत राज्यले नै बनाएको हुन्छ । त्यस्ता सेवा प्रदायकलाई राजश्व लिने जिम्मापनि राज्यकै हो । त्यस्ता कम्पन्नीले समयमै राजश्व लगायत अन्य सेवा शुल्क नतिरेमा कारवाही गर्ने निकाय पनि राज्य नै हो ।

यसरी एउटा संगठन वा समूहले एनसेल जस्ता कम्पनीमाथि आक्रमण र आगजनी गर्दा अन्तर्राष्ट्रिय स्तरमा समेत नकारात्मक संदेश जाने गर्दछ । यसले मुलुकको विकासमा विदेशी लगानीको शुनिश्चतता र त्यस्ता लगानीको सुरक्षामा समेत प्रश्न उठ्छ ।

अर्वौं लगानी गरेका विदेशी सेवा प्रदायकले आफ्नो लगानीको सुरक्षा नहुने स्थितीमा पक्कै पनि नेपालमा लगानी गर्ने छैनन् । यसवाट मुलुकको आर्थिक विकासमा राज्यले लिएको नीति पनि बेकामे बन्न सक्छ । राज्यले पनि यस्ता लगानीकर्ता र लगानीलाई सुरक्षा प्रदान गर्नुपर्छ । राज्यको नीति, नियमभित्र रहेर काम गरिरहेका त्यस्ता कम्पनीको सुरक्षाको जिम्मा राज्यले लिनै पर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप