बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

सल्यानमा अर्को एनसेल टावर जलाउने विप्लव माओवादीको प्रयास असफल : प्रहरी

आइतबार, ३० जेठ २०७३, १४ : ०९
आइतबार, ३० जेठ २०७३

दाङ – एनसेल टावर जलाउने विप्लव नेतृत्वको नेकपा माओवादी प्रयास सल्यानमा असफल भएको इलाका प्रहरी कार्यालय लुहाम, सल्यानले जनाएको छ ।

गएराति करिब ९ बजे सल्यानको छायाँक्षेत्र गाविस १ मा रहेको चर्चित धार्मिक स्थल छायाँक्षेत्र मन्दिर नजिकै रहेको एनसेल टावरमा माओवादीले आगो लगाए पनि प्रहरी नजिकै भएकाले तत्कालै निभाउन सफल भएको प्रहरी निरीक्षक सुरेश गौतमले जानकारी दिएका छन् ।

‘राती ९ बजेको समयमा लाइन गयो त्यतिनै खेर उनिहरुले मट्टीतेल छर्केर आगो झोसेछन्’, प्रहरी निरीक्षक गौतमले भने, ‘मन्दिरमा बसेको प्रहरी टोलीले देखे पछि दौडेर आगो निभाए ।’

उनका अनुसार आगोले टावरको विटीएस छुन करिब एक मिटरको दुरी मात्र बाँकी थियो । सल्यानको कुपिन्डेदह–९ जैतेपानीमा रहेको टावरमा शुक्रबार राति आगजनि भए पछि टावरको सुरक्षाका लागि सल्यानमा एनसेलका प्रत्येक टावरको सुरक्षाका लागि शनिबारदेखि प्रहरी परिचालन गरिएको छ ।

सल्यानको, छायाँक्षेत्र, लक्ष्मीपुर, फलाबाङ र कपुरकोटमा रहेका एनसेल टावरको सुरक्षाका लागि प्रहरी परिचालन गरिएको प्रहरी निरीक्षक गौतमले बताए ।

अन्य दिनका गतिविधी र दाङ तथा सल्यानमा एकै समयमा एकै पटक आक्रमण भएकाले नेकपा माओवादीले नै यस्तो घटना गराएको करिब करिब प्रहरी निश्कर्षमा पुगेको इलाका प्रहरी कार्यालय लुहामका प्रहरी निरीक्षक गौतमले दाबी गरे ।

घटनाको सुक्ष्मअध्ययन भइरहेको प्रहरीले बताएको छ । यता विप्लव नेतृत्वको नेकपा माओवादीले प्रहरीले लगाएको आरोप अस्वीकार गरेको छ ।

माओवादी सल्यानका सेक्रेटरी विश्व शर्माले तोडफोड र आगजनी गर्ने पार्टीको कुनै कार्यक्रम नभएको भन्दै पार्टीलाई फसाउन प्रपञ्च रचिएको बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप