बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

EURO Watch : क्रोएसियाको फुच्चे जादुगर 'मोडरिच'

आइतबार, ३० जेठ २०७३, १८ : २५
आइतबार, ३० जेठ २०७३
काठमाडौं – टर्कीले सन् २००८ मा क्रोयशियालाई क्वाटरफाइनलमा हराएको घटना सायदैले बिर्सिएका होलान् । निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि अतिरिक्त समयको १ सय १९ औँ मिनेटमा क्रोयशियाले अग्रता लिएको थियो । तर अतिरिक्त समयको स्टपेज टाइम अर्थात अन्तिम सिट्ठी बज्नुअघि टर्कीले खेल बराबरी गर्यो र अन्तत टाइब्रेकरमा जीत निकाल्यो ।

आइतबार क्रोयशिया र टर्कीबीच युरो २०१६ को समुह चरणमा प्रतिस्पर्धा हुदाँ धेरैले ८ वर्षअघि अस्ट्रियाको भियनामा भएको भिडन्तलाई याद गर्नेछन् । त्यसैले त रियाल म्याड्रिडका प्रभावशाली क्रोयशियाली लुका मोडरिच करियरको त्यो दुग्भार्यलाई सकभर पेरिसमा हुने खेलपछि अन्त्य गर्न चाहन्छन् । टाइब्रेकरमा गोल गर्न असफल म्लादेन प्याट्रिक अहिले क्रोयशियाली टोलीमा छैनन् । तर त्यतिबेला टाइब्रेकरमा चुकेका अन्य दुई खेलाडी इभान राकिटिक र लुका मोडरिच जारी युरोमा क्रोयशियाका प्रमुख खेलाडी हुन् ।

युरो २००८ कै दौरान मोडरिच टोट्टेनह्याममा आबद्ध भएका थिए । ८ वर्षअघिको घटना संझदै मोडरिच भन्छन्– ‘मैले त्यो खेल कहिल्यै सम्झन चाहन्न । टर्कीलाई हराउन सकेको भए हामी माथि पुग्ने थियौँ । अहिलेको क्रोयशियाली टोलीसँग ठूला क्लबमा खेल्ने सही उमेरका खेलाडी छन् ।’

पेरिसमा इभान राकिटिकको भूमिका आक्रमण बुन्नु हुनेछ । तर, मोडरिचको भूमिका बल खेलाएर विपक्षीमाथि दबाब बढाउन मात्रै सिमित हुनेछैन् । उनले आवश्यक पर्दा गोल गर्ने र रक्षापंक्तीमा समेत महत्वपूर्ण भूमिका निभाउने प्रशिक्षक एन्टी काकिकको विश्वास छ । क्रोयशियाको टोलीमा मारियो माड्जुकिक, मोडरिचसँगै क्लब फुटबल खेल्ने माटियो कोभाकिक लगायतका एक से एक स्टार फुटबलर छन् । तर टोलीका प्रमुख आर्कषण भने लुका मोडरिच नै हुन् ।

मोडरिचको यात्रा र प्रदर्शन

३० वर्षका मोडरिचले क्रोयशियाकै जाडर क्लबबाट आफ्नो युवा करियर सूरु गरे । सन् १९९६ देखी २००१ सम्म तेस्रो डिभिजन क्लब जाडरको युवा टोलीबाट खेलेपछि उनी क्रोयशियाको चर्चित क्लब डायनामो जाग्रेवमा १६ वर्षको उमेरमा आबद्ध भए । केही समय युवा टोलीबाट खेलेपछि बोस्निया एन्ड हर्जिगोभिनाको प्रिमियर लिग क्लबमा उनले ऋणमा सन् २००५ सम्म खेले । सन् २००५ मा डायनामो जाग्रेब फर्किएपछि लुका निकै फर्ममा देखिए । उनले सन् २००६ को मार्च १ बाट क्रोयशियाको राष्ट्रिय टोलीमा डेब्यु गरेका हुन् । त्यसयता, उनले सन् २००६ को विश्वकप, युरो २००८, युरो २०१२ र सन् २०१४ को विश्वकपमा क्रोयशियाबाट खेलिसकेका छन् । अहिलेसम्म क्रोयशियाबाट ९० खेल खेल्दै मोडरिचले १० गोल गरेका छन् । सन् २००८ को युरोकपमा टर्कीसँग क्रोयशिया क्वाटरफाइनलमा पराजित हुदाँ टाइब्रेकरमा मोडरिचले पेनाल्टी मिस गरेका थिए । यो प्रतियोगितापछि मोडरिच टोट्टेनह्याम गए । उत्तरी लण्डनको क्लबमा उत्कृष्ट प्रदर्शन गरेपछि उनी रियाल म्याड्रिड आएका हुन् । रियालमा उनले पछिल्ला दुई वर्षमा तीनवटा च्याम्पियन्स लिग जितिसकेका छन् । सन् २०१४ मा जाभी अलन्सो रियाल म्याड्रिडबाट बार्यन म्युनिख गएपछि मोडरिच रियालको सेन्ट्रल मिडफिल्डमा पहिलो रोजाईका खेलाडी हुन् । यस सिजन रियाललाई च्याम्पियन्स लिग जिताउन उनले मिडफिल्डमा अहंम् भूमिका खेले । रियालले खेलेका च्याम्पियन्स लिगका सबै खेलमा यस सिजन मोडरिचले पहिलो रोजाईमा खेले । मोडरिचलाई रियालका वर्तमान प्रशिक्षक जिनेदिन जिदान आफ्नो टोलीको मास्टर अफ द गेम भन्ने रुचाउँछन् । उनले डिफेन्स र अग्रपंक्तीको बीचमा रहेर बल सप्लाई गर्दै विपक्षीमाथि दबाबा बढाउँछन् । रियाल म्याड्रिडमा यस सिजन उनले ९० दशमलव ९ प्रतिशत सही पास खेले । त्यस्तै च्याम्पियन्स लिग जिताउने क्रममा रियालका लागि मोडरिचले ९० दशमलव ८ प्रतिशत सही पास खेलेका थिए । ला–लिगाका ३८ खेलमध्ये यस सिजन मोडरिचले रियालबाट ३१ खेल खेले । उनले ला–लिगामा २ गोल गर्दै ४ गोलका लागि अवसर समेत सिर्जना गरे । मोडरिचको पासिङ र ड्रिब्लिङ निकै उत्कृष्ट मानिन्छ । वर्तमान पुस्तामा उनीजस्तो उनको सटिक पास दिने र खतरनाक ड्रिब्लिङ गर्ने खेलाडी कमैमात्र छन् । यसबाहेक आर्कषक सेट पिस र आवश्यक पर्दा रक्षात्मक खेल मोडरिचका विशेषता हुन् । उनी लामो दूरीबाट प्रहार उत्कृष्ट सटहरु प्रहार गर्न खप्पिस छन् । मोडरिचको ड्रिब्लिङलाई रोक्न नसके विपक्षीहरुले उनीभन्दा अगाडी खेल्ने इभान राकिटिक, इभा पेरिसिक, मार्को पिजाका र अग्रपंक्तीका प्रमुख हतियार मारियो माड्जुकिबाट ठूलै सजाय पाउन सक्छन् । माड्जूकिक यस सिजन युभेन्टस्मा मज्जाले छाए भने इन्टर मिलानका इभान पेरिसिक पनि सिजनको अन्त्यतिरबाट निकै फर्ममा देखिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप