बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

उपराष्ट्रपति पुनद्वारा चिनियाँ राष्ट्रपतिलाई नेपाल भ्रमण गर्ने निमन्त्रणा हस्तान्तरण

सोमबार, ३१ जेठ २०७३, ११ : २३
सोमबार, ३१ जेठ २०७३

काठमाडौँ – चीनको भ्रमणमा रहेका उपराष्ट्रपति नन्दबहादुर पुनले राष्ट्रपति विद्यादेवी भण्डारीका तर्फबाट चिनियाँ राष्ट्रपति सि जिन पिङलाई नेपाल भ्रमण गर्न आमन्त्रण गरेको पत्र चिनियाँ उपप्रधानमन्त्रीलाई आइतबार हस्तान्तरण गरेका छन् । उनले आज सो पत्र चीनका उपप्रधानमन्त्री वाङ याङलाई चीनको युन्नान प्रान्तको कुन्मिङमा भएको भेटमा हस्तान्तरण गरेका छन् । चीन भ्रमणमा रहेको उपराष्टपति पुन नेतृत्वको नेपाली टोलीले आज कुन्मिङका विभिन्न कार्यक्रममा भाग लिनुका साथै चीन सरकारका उच्च पदाधिकारीसँग भेटघाट गरेको छ ।

आज बिहान उपराष्ट्रपति पुनले चौथो चीन साउथ एसिया एक्स्पो र २४औँ कुन्मिङ मेला भएको स्थान दियान्ची अन्तर्राष्ट्रिय सम्मेलन तथा प्रदर्शनी केन्द्रको अवलोकन गरे । मेलामा रहेका १०० भन्दाबढी कक्षको अवलोकनपछि उनले उद्घाटन वक्तव्य दिएका थिए । उनले सो अवसरमा चीन र दक्षिण एसियाबीच आर्थिक, सामाजिक, सांस्कृतिक तथा जनस्तरको आदानप्रदानका लागि एक्स्पो महत्वपूर्ण हुने बताए ।

बेइजिङस्थित नेपाली राजदूतावासद्वारा आज प्रकाशित प्रेस विज्ञप्तिअनुसार उपराष्ट्रपति पुनले एक क्षेत्र एक सडक पहलकदमीबाट क्षेत्रीय विकासमा सहयोग गर्नुका साथै हाम्रा आर्थिक सम्बन्ध बढाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

उपराष्ट्रपति पुन, चीनका उपप्रधानमन्त्री वाङ तथा अन्य दक्षिण एसिया र दक्षिणपूर्व एसियाका उच्च नेताहरुले एक्स्पो र व्यापार मेलाको संयुक्तरुपमा उद्घाटन गरेका थिए । हिजै अपराह्न उपराष्ट्रपति पुनले ११औँ चाइना साउथ एसिया बिजिनेस फोरमलाई सम्बोधन गर्दै २१औँ शताब्दीको एसियाली सपना पूरा गर्न चीन र दक्षिण एसियाका देशबीच सहयोगमा जोड दिए । उनले सहभागी प्रतिनिधिमण्डलहरु र व्यवसायीलाई नेपाल आएर विभिन्न प्राकृतिक स्रोतहरुमा ठूलो स्तरमा लगानी गर्न आह्वान पनि गरे ।

समारोहपछि उपराष्ट्रपति पुनले कुन्मिङ टेलिभिजनलाई अन्तरवार्ता दिए । उनले नेपाल चीन सम्बन्धबारे बोल्नुहुँदै चिनियाँ व्यवसायीलाई नेपाल आएर लगानीका अवसर खोज्न आमन्त्रण गरे ।

आजै चीनका उपप्रधानमन्त्री वाङ याङले उपराष्ट्रपतिसँग भेट गरी विचारको आदानप्रदान गरे । उनीहरुले नेपाल– चीनबीच हालका वर्षहरुमा राजनीतिक, आर्थिक र सामाजिकलगायतका क्षेत्रमा सम्पर्क बढ्दै गएको उल्लेख गरे ।

सो अवसरमा उपराष्ट्रपति पुनले नेपाली जनता चीनका राष्ट्रपतिलाई नेपालमा स्वागत गर्न आतुर रहेको बताए । उनले चिनियाँ आर्थिक सहायता, सहयोगका नयाँ क्षेत्र तथा हालै नेपालका प्रधानमन्त्रीले चीनको भ्रमण गर्नुभएपछि सुरु भएका सहयोगका आयोजना समयमै कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।

चिनियाँ उपप्रधानमन्त्री वाङले चीनले नेपाललाई आपसी सम्मान र समानताका आधारमा सहयोग जारी राख्ने बताए । उनले चिनियाँ व्यवसायीलाई नेपालमा लगानीका लागि आमन्त्रण गरेकोमा उनीहरुलाई प्रोत्साहन र सहयोग गर्ने बताउँदै नेपालमा राजनीतिक स्थिरता र लगानीमैत्री वातावरण हुनुपर्नेमा जोड दिए । उनले अझ धेरै व्यापारिक अन्तक्र्रिया तथा जनस्तरमा सांस्कृतिक आदानप्रदान हुनुपर्ने पनि बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप