बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

हामी सिमेन्टमा आत्मनिर्भर बनेका छौं

सोमबार, ३१ जेठ २०७३, १२ : ३३
सोमबार, ३१ जेठ २०७३

घोराही सिमेन्ट इन्डस्ट्रिजका ब्रान्ड के–के हुन् ?

हाम्रो कम्पनी दाङको घोराहीमा छ । घोराही सिमेन्ट इन्डस्ट्रिजको नाममा हामीले प्रत्येक दिन १९ सय मेट्रिक टन क्लिन्कर उत्पादन गर्दै आएका छांै । अब छिट्टै २२ सय मेट्रिक टन सिमेन्ट उत्पादन गर्दै छौं । पहिला हाम्रो उत्पादन ७ सय ५० मेट्रिक टन थियो । यसरी हामी बिस्तारै सबैको विश्वास जितेर अगाडि बढ्दै छौं ।

एउटै ब्रान्डमा हाम्रो दुई उत्पादन छन् । सगरमाथा ओपिसी र सगरमाथा गोल्ड पिपिसी । ओपिसीले ढलान र ठूला निर्माण गरिन्छ । पिपिसीले साना काम प्लास्टर, वाल उठाउने आदि काम गरिन्छ । इन्जिनियरको सल्लाहअनुसार गर्मी ठाउँ छ भने पिपिसीले पनि ढलान गर्न सकिन्छ ।

तपाईंहरूको सिमेन्टको गुणस्तर कस्तो छ ?

गुणस्तरको सवालमा हाम्रो पहिलो प्राथमिकता भनेको गुणस्तर नै हो । दोस्रो प्राथमिकतामा सप्लाइ दोस्रो र तेस्रो प्राथमिकतामा मात्रै मूल्य पर्छ । हाम्रो मूल्य त्यति धेरै छैन । किनकि हामी आफैँ क्लिन्कर उत्पादन गर्छौं । आफैँ सप्लाइ गर्छांै, त्यसैले किन धेरै महँगो गर्ने ? हामी धेरै सुपथ मूल्यमा बेच्छांै । हाम्रो कम्पनीले देशका अन्य १० सिमेन्ट कम्पनीलाई समेत सिमेन्टको कच्चा पदार्थ (क्लिन्कर) बेच्दै आएको छ ।

प्रतिस्पर्धाबीच सगरमाथा सिमेन्टलाई बजारमा स्थापित हुन कत्तिको गाह्रो छ ?

सगरमाथा सिमेन्ट बजारमा आएको केवल दुई वर्ष भयो । हामी पहिला क्लिन्कर बनाउँथ्यौँ । बिस्तारै हामीले आफैँ सिमेन्ट उत्पादन गर्न थाल्यौँ । बजारमा त्यतिबेला निकै ठूलो प्रतिस्पर्धा थियो । नेपालगन्ज, भैरहवालगायतका ठाउँमा अन्य कम्पनीको बजार थियो । हामीले बजार बिगार्नेभन्दा पनि बिस्तारै बजारमा आफ्नो प्रभाव जमाउने काम गर्यौं । विज्ञापनले भन्दा पनि प्रयोगकर्ताले आफैँ यो सिमेन्ट राम्रो छ भनेर सिफारिस गर्न थालेपछि वल्र्ड अफ माउथका कारण हाम्रो सिमेन्टको माग बिस्तारै बढ्यो । काठमाडौँमा पनि अहिले हाम्रो बजार बढ्दै छ । हाम्रो लक्ष्य अझै नेपालभरि पुग्नेछ ।

अहिले सुदूरपश्चिम, पश्चिम र मध्यपश्चिममा हाम्रो राम्रो बजार छ । पोखरा, दाङ, बुटवल, रुकुम, रोल्पा, सल्यान, प्युठान, नेपालगन्ज, डोटी, दार्चुला, महेन्द्रनगर, सुर्खेत, दैलेखलगायतका पश्चिमी क्षेत्रमा हामी गर्वसाथ भन्नुपर्दा हामी नम्बर वान छौं । भोलिको दिनमा प्रतिस्पर्धा हुनेवाला छ किनकि नयाँ कम्पनी आउँदै छन् । तर, मलाई लाग्छ भोलि पनि क्वालिटीमा फोकस हुुनुपर्छ । सप्लाइमा फोकस हुनुपर्छ किनकि म भोलि घर ढलान गर्दै छु । आज सिमेन्ट खोज्दा १० दिनपछि आउँछ भन्यो भने मेरो काममा धेरै बाधा पर्छ । त्यसैले चाँडोभन्दा चाँडो सप्लाई गर्न सक्नुपर्छ । गुणस्तर त व्यापारको पहिलो सर्त नै भयो ।

सिमेन्टको गुणस्तर चिन्ने आधार के ?

सिमेन्टको हेर्दा सबै उस्तै हुन्छ । तर, एक हप्तामा स्टे«न्थ थाहा हुन्छ । ढलान गर्दा जुनसुकै सिमेन्ट प्रयोग गर्नुस्, सिमेन्टमा क्र्याक देखिन सक्छ । हामीले सोच्छौ सिमेन्ट नराम्रो छ । तर, सबै सिमेन्टकै कारणमात्र होइन । प्राविधिक रूपमा ढलान गर्नुअघि बालुवा कस्तो छ, पानी कुन प्रयोग गरिरहेका छौं, कुन मात्रामा सिमेन्ट, बालुवा र गिटीको मिक्स छ भन्ने कुरा इन्जिनियरले भन्छ या ठेकेदार वा मिस्त्रीले भन्ला । उसले राम्रोसँग मिक्स गर्दा क्र्याक आउँदैन । त्यो पनि मिक्स राम्रोसँग भयो भने पनि एक हप्तामा पानी हाल्न छाड्यौँ भने क्र्याक देखिन्छ । त्यसैले लामो समयसम्म पानी हाल्नुपर्छ । सिमेन्टमा हिट धेरै हुन्छ । त्यसलाई कम गर्न सिमेन्टमा पानी हाल्नुपर्छ । यसलाई क्युरिङ प्रोसेस भनिन्छ । एक हप्तामा थाहा हुन्छ कति स्ट्रेन्थ छ सिमेन्टको । राम्रोसँग मिक्स गर्दा पनि क्र्याक देखियो भने सिमेन्ट नराम्रो पर्यो भन्ने बुझ्नुपर्छ ।

हामीले मिस्त्रीलाई बेलाबेलामा तालिम दिन्छांै । इन्जिनियरले यति मात्रामा बालुवा, यति मात्रामा गिटी र यति मात्रामा सिमेन्ट राख्ने भनेर तालिम दिन्छन् । तर, कहिलेकाहीँ के हुन्छ भने ठेकेदारले सिमेन्ट कम हालिदिन्छन् । १० बोरा चाहिन्छ भने साँढे आठ बोरा हालिदिन्छन्, डेढ बोरा नाफा खानका लागि । तर, यस्तो गर्दा काम राम्रो हुँदैन । त्यसैले घर बनाउने व्यक्ति आफू पनि बस्नुपर्छ यस्तो कुरा हेर्नका लागि ।

तपार्इंहरूको सिमेन्ट नै गुणस्तरयुक्त छ भनेर जनताले पत्याउने आधार के ?

हामीसँग एक्स–रे एनालाइजर मेसिन छ । यो हाम्रो सुरुवातदेखि नै थियो । यस्तो मेसिन हामीले नै नेपालमा पहिलोपटक भित्र्याएका हौँ । यो मेसिनमा लेजरले गुणस्तर चेक गर्छ । यो रोबटिक मेसिन हो । यसमा सबै रिपोर्ट आउँछ । केमिकल्सको अवस्था के–के छ भन्ने हामीले तुरुन्तै थाहा पाउँछौँ किनकि सिमेन्ट बनाउन प्रयोग गरिएका केमिकल्सको मात्रा मिलेन भने सिमेन्टको गुणस्तर बिग्रने हो । हामीले जब सिमेन्ट तयार गर्छौं, यो मेसिनबाट त्यसको गुणस्तर पनि हेरेका हुन्छौं । एक्स–रे एनालाइजर सबै कम्पनीले भित्र्याउन जरुरी छ । यो महँगो छ तर यसले तत्काल सिमेन्टको गुणस्तर नाप्छ ।

भूकम्पपछि घर बनाउन कत्तिको वृद्धि भएको छ ?

भुइँचालोपछि घर बन्नेक्रम बढेको छ । धेरैको घर भत्किएको छ । त्यसैले हामीले भूकम्प प्रभावित क्षेत्रमा बीमाको योजना ल्याएका छौं । न्यूनतम ५० बोराको खरिदमा हामीले बीमा प्रदान गर्छांै । यस्तो हुँदा ठूलो घर बनाउनेमात्रै होइन, सानै घर बनाउनेले पनि लाभान्वित हुने मौका पाउँछन् । केही ड्यामेज भयो भने बीमा कम्पनीले क्षतिपूर्ति व्यवस्था गर्छ । अहिले आगलागी, चट्याङ र भुइँचालोलाई लिएर बीमा गरेका छौं । न्यूनतम ५० बोरामा चार लाखदेखि अधिकतम ३ सय ४० बोरामा १० लाखसम्म बीमाको व्यवस्था गरेका छांै ।

मानिसले अहिले घरको नक्सा पास गर्न मापदण्ड पूरा भएमामात्रै पास भइराखेको छ । पोखरामा पनि दुई महिनाअघिसम्म एउटा पनि नक्सा पास भएको थिएन । अहिले खुल्यो होला । सरकारले एकपटक यसका लागि हेरिदिनुपर्छ । सरकारले इन्जिनियरलाई घर बनाएको ठाउँमा कम्तीमा पनि एकजना पठाइदिनुपर्छ । सरकारका तर्फबाट इन्जिनियर गएर यसरी मापदण्डको सर्वेक्षण गर्ने हो भने राम्रो हुन्छ । नत्र एउटा नक्सा देखाइदियो । अर्कै ढंगबाट घर बनाउने काम हुन्छ । २० लाखमा घर बनाएर एक करोडमा बेचेका उदाहरण पनि थुप्रै छन् ।

तपार्इंका जिल्ला प्रशासन कार्यालयले जुन बिजनेस बन्द गराउने भन्ने थियो पछि फुकुवा गरेको कुरा आयो । कारण के थियो ?

कुनै सिमेन्ट तत्काल जाँच गरिन्छ भने त्यो सिमेन्टको गुणस्तर राम्रो देखिन्छ । सिमेन्ट पुरानो हुँदै जाँदा मौसमदेखि हरेक कुराले असर पार्छ । २०/२५ दिन हँुदा हल्का क्वालिटीमा असर गर्छ । त्यस्तै स्याम्पल लिएर गएर उहाँहरूले केमिकल टेस्ट गर्नुभएको हो । उहाँहरूले स्टे«न्थ टेस्ट गर्नुभएको थिएन । त्यसपछि हामीले तत्काल जवाफ दियौँ । उहाँहरूले स्ट्रेन्थ टेस्ट गर्नुभयो । उहाँहरूले जुन ठाउँबाट पनि सिमेन्ट लिएर टेस्ट गर्नुहुन्छ । फेरि टेस्ट गर्नुभयो । स्ट्रेन्थ टेस्ट गरेपछि एक महिना लाग्छ रिपोर्ट आउन र अहिले रिपोर्ट राम्रो आयो । सबै ठीक छ ।

सिमेन्टको आयु कति हुन्छ ?

यदि तपार्इंले घरलाई राम्रोसँग रेखदेख गर्नुभएको छ भने ८० देखि ९० वर्षसम्म हुन्छ सिमेन्टको आयु । एक सयदेखि डेढ समय वर्षसम्म पनि टिक्छ तर धेरै पुरानो हँुदा भित्रबाट कमजोर भइसकेको हुन्छ ।

के सिमेन्टमा नेपाल आत्मनिर्भर छ ?

हामी सिमेन्टमा आत्मनिर्भर छौं । निर्माणका लागि अब स्वदेशी सिमेन्टले नै पुग्छ । जति पहिले बजारमा छ्यापछ्याप्ती भारतीय सिमेन्ट पाइन्थ्यो । अहिले नेपाली सिमेन्ट नै राख्न थालेका छन् । तीन वर्षअघि र अहिलेको अवस्था हेर्नुभयो भने बजारमा भारतीय सिमेन्ट निकै कम भइसकेका छन् । अहिले केवल २ प्रतिशतमात्रै भारतीय सिमेन्ट छ । हाम्रो हाम्रो नारा नै छ– आयात प्रतिस्थापन अभियान राष्ट्रिय गौरवका लागि । नेपालमा ब्ल्याकमै सिमेन्ट बेच्ने पनि सक्रिय छन् । हाम्रो देशमा सिमामा खास सुरक्षा नभएका कारण ब्ल्याकमा सिमेन्ट बेच्ने सक्रिय छन् । यसका लागि सरकारले नै नियन्त्रण गर्नुपर्ने हुन्छ । तर, तराई र सीमा जोडिएका जिल्लामा पनि स्वदेशी कम्पनीकै सिमेन्ट प्रयोग गर्ने क्रम बढेको छ ।

सिमेन्ट व्यवसायका चुनौती के–के छन् ?

सरकारले नीति परिवर्तन गर्नुपर्यो । पहिले हामी क्लिन्करमा आत्मनिर्भर हुन चाहन्छांै । पहिला–पहिला भारतबाट क्लिन्कर ल्यायो । त्यसैलाई यहाँ पिस्यो र नेपाल ब्रान्डमा यहाँ बेच्यो । त्यस्तो अवस्था थियो, अहिले बिस्तारै यहाँ नै हामीले बनाउन थालेका छौँ । भारतबाट आएका क्लिन्करको गुणस्तर राम्रो नहुन सक्छ किनकि उनीहरू हाम्रो बजारप्रति जिम्मेवार हुनुपर्ने कारण नै छैन । उनीहरूको बजार त भारत नै हो नि । तर, नेपाली क्लिन्कर कम्पनी नेपाली बजारप्रति जिम्मेवार हुन्छन् । हामीले राम्ररी चेक गरेर मात्रै क्लिन्कर बिक्री गर्छांै । दोस्रो कुरा, भारतबाट ल्याउँदा राम्रै क्लिन्कर ल्याए पनि मौसमदेखि अन्य विभिन्न कुराले गुणस्तरमा प्रभाव पार्छ । सरकारले विदेशबाट ल्याउने क्लिन्करमा कर बढाइदिने हो भने यसरी क्लिन्कर आउन कम हुन्छ ।

तेस्रो कुरा, नेपालमै क्लिन्कर बन्दा गुणस्तरसँगै नेपालीले रोजगारी पाउनेदेखि अन्य विविध कुरामा समेत स्वदेशलाई नै फाइदा हुन्छ । अर्को कुरा कारखाना चलाउन बत्ती चाहिन्छ । त्यसैले देश आत्मनिर्भर हुनका लागि हाइड्रोको पनि विकास हुनुपर्यो । अहिले हाइड्रोपावरमा सेयर खुल्दा नेपालीले नै ठूलो खर्च गरिरहेका छन् । यसले के प्रमाणित गर्न भने हामी आफैँ सक्षम छौं । हाम्रो देश बनाउनका लागि जनताकै खल्तीबाट निस्किएको पैसाले देश बन्न सक्छ ।

तपार्इं उद्योगले समाजका लागि गरेका अन्य काम के–के छन् ?

हामीले पाँच सयलाई प्रत्यक्ष रोजगारी दिएका छौँ । सामाजिक क्रियाकलापमा पनि घोराही सिमेन्ट इन्डस्ट्रिज उत्तिकै सक्रिय छ । हामीले घोराहीस्थित लक्ष्मीपुर गाउँमा बत्ती र पानी सुविधा प्रदान गर्छौं । स्कुल सञ्चालन गर्न सहयोग गरेका छौं । एम्बुलेन्स सेवा सञ्चालन गरेका छांै । त्यस्तै सडक बनाएका छौँ । लक्ष्मीपुरमा हामीले कारखाना खोलेका छौँ भनेपछि समाजप्रति पनि हाम्रो दात्यिव रहन्छ । त्यसैले लक्ष्मीपुरलाई विकास गर्न हाम्रो पनि उत्तिकै भूमिका रहन्छ । हामीले १ लाखभन्दा बढी रूखबिरुवा रोपेका छौँ । वातावरणमा नकारात्मक प्रभाव नहोस् भनेर अहिले अहिलेसम्मकै सबैभन्दा ठूलो क्षेत्रफल १ सय बिघा जमिनमा कारखाना सञ्चालन गरेका छौँ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप