बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

गणेश थापाले हटाएका फुटवल पदाधिकारी एन्फा प्रवेश

सोमबार, ३१ जेठ २०७३, १७ : १७
सोमबार, ३१ जेठ २०७३

काठमाडौं– दुई वर्ष अघि गणेश थापाको निष्काशनमा परेका अखिल नेपाल फुटवल संघ (एन्फा)का चार पदाधिकारी सोमबारबाट औपचारिक रुपमा कार्यालय प्रवेश गरेका छन् । अन्तर्राष्ट्रिय फुवटल महासंघ (फिफा)को निर्देशन अनुसार गत जेठ १९ गते बसेको एन्फा कार्यसमितीले बैठकले उपाध्यक्षहरु कर्माछिरीङ शेर्पा, बिजयनारायण मानन्धर, किशोर राई तथा केन्द्रिय सदस्य पंकज नेम्वाङलाई पुनर्वाहली गर्ने निर्णय गरेको थियो । दुई बर्षको संघर्षपछी पुनर्वाहली भएर कार्यालय प्रवेश गरेका फुटवल पदाधिकारीहरुलाई एन्फाका सिईओ ईन्द्रमान तुलाधरले स्वागत गरे । पुनर्वहाली भएका चार पदाधिकारीले शुरु गरेको ‘फुटवल शुद्धिकरण अभियान’कै कारण एन्फाका पुर्व अध्यक्ष गणेश थापाले भ्रष्टाचार गरेको भन्दै फिफाले उनलाई दश बर्ष फुवटल गतिबीधीमा सहभागी हुन नपाउने गरी प्रतिबन्ध लगाएको थियो । ‘फुर्सद छैन’ भन्दै कार्यबाहक अध्यक्ष होस्टेलमा सुते ! फिफाको निर्देशन अनुसार पुनर्वाहली भएका फुटवल पदाधिकारीलाई न्यानो स्वागत गर्ने सवालमा एन्फाका कार्याबाहक अध्यक्ष नरेन्द्र श्रेष्ठले कन्जुस्याँई गरेका छन् । पुर्व विद्रोहीहरु कार्यालय आउन लागेको जानकारी दुई दिनअघि नै पाएका श्रेष्ठले अन्तिम समयमा आफ्नो फुर्सद नभएको बहाना बनाउँदै एन्फा कम्प्लेक्स सातदोवाटोमा देखिएनन् । आफुहरुले पटक–पटक फोन गर्दा समेत श्रेष्ठ अनुपस्थित हुनु दुःखद भएको प्रतिक्रीया दिँदै उपाध्यक्ष कर्माछिरीङ शेर्पाले भने, ‘मलाई दुःख लागेको छ, हामीले अझै अर्को चुनौतिको सामना गर्नुपर्ला जस्तो महसुस भएको छ ।’ शेर्पा लगायतका पदाधिकारीहरुलाई ‘फुर्सद छैन’ भनेपनि श्रेष्ठ एन्फा कम्प्लेक्ससँगै रहेको होस्टेलमा आराम गरिरहेको पाईएको छ । ‘नरेन्द्र सर, होस्टेलको ३०७ नम्बर कोठामा सुतिरहनु भएको छ’ फुटवल संघका एक कर्मचारीले भने, ‘दुई बजेतिर आईपुग्नु भएको थियो, मलाई नबोलाउनु भन्नुभएको छ ।’ ‘स्वागत नगर्नु’ भन्दै गणेश थापाको फोन ! कर्माछिरीङ सहितका एन्फा पदाधिकारी र क्लवका अधिकारीहरु एन्फा हाता प्रवेश गर्न लागेको सूचना पाएसँगै पुर्व अध्यक्ष गणेश थापाले ‘तिनीहरुलाई स्वागत नगर्नु’ भन्दै निर्देशन दिएको बताइएको छ । एन्फा स्रोतका अनुसार कर्मचारीहरु र पदाधिकारीलाई ‘वास्ता नगर्नु’ भन्दै फोन गरेका थिए । थापाकै निर्देशन अनुसार नरेन्द्र श्रेष्ठ होस्टेलमा सुतेको पाईएको छ । त्यस्तै, पुनर्वहाली भएका पदाधिकारी एन्फा हातामा प्रवेश गर्नुभन्दा केही मिनेट अगाडीसम्म मात्र कार्यालयमा रहेका महा–सचिव धिरेन्द्र प्रधानले पनि उनिहरुसँग भेट गरेनन् । तिन उपाध्यक्ष सहितको टोली एन्फा हाता प्रवेश गरेको देखेपछि प्रधानले आफ्नो कार्यकक्षमा पसेर ढोका लगाएका थिए । अब एन्फा कसैको दिर्नेशनमा चल्नु हुँदैन –कर्मा छिरिङ दुई बर्षपछि कार्यालय प्रवेश गरेका उपाध्यक्ष कर्माछिरीङ शेर्पाले अखिल नेपाल फुवल संघ अब कसैको निर्देशनमा चल्नु नहुने बताए । ‘फुटवलको लागी जस्तोसुकै त्याग गर्न तयार छौं’ उनले भने, ‘अखिल नेपाल फुटवल संघ अब सामुहीक निर्णयबाट चल्नुपर्छ ।’ फिफाको निर्देशन अनुसार आफुहरुलाई काम गर्ने वातावरण मिलाउन एन्फाले कन्जुस्याँई गरेकोबारे अनसन्तुष्टि ब्यक्त गर्दै अर्का उपाध्यक्ष किशोर राईले भने, ‘एन्फाका बर्तमान पदाधिकारीको भुमिका पाच्य हुँदैन, आज नरेन्द्र श्रेष्ठ किन नआएको जानकारी पाउँ ।’ संकिर्ण सोचले नेपाली फुटवल अगाडी नबढ्ने उल्लेख गर्दै केन्द्रीय सदस्य पंकज नेम्बाङले भने, ‘अब विशेष साधारणसभा गरेर एन्फाको चुनाव गर्नेतिर लाग्नुपर्छ, फुटवल विकासको सवालमा कसैले खेल्न खोजे राम्रो हुँदैन ।’ त्यस्तै क्लव समन्वय समितीका संयोजक एवं सरस्वती क्लका अध्यक्ष शिक्षीत पराजुलीले हिमालय र फ्रेन्ड्स क्लवमाथी लगाईएको प्रतिवन्ध तुरुन्त फुकुवा गर्न आग्रह गरे । ‘खेल्न पाउने अधिकार कुण्ठित गर्न मिल्दैन’ उनले भने, ‘एन्फा कार्यसमितीले यि दुई क्लवको बारेमा चाँडै निर्णय गरोस ।’ पुनर्बाहली भएको पदाधिकारीहरुलाई स्वागत गर्दै एन्फाका सिईओ इन्द्रमान तुलाधरले साधारणसभा बोलाएर निर्वाचन गर्न आफुहरु तयार रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप