बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

ढिस्कोले घर भत्किँदा दुई बालबालिकाको मृत्यु

मङ्गलबार, ३२ जेठ २०७३, ०९ : ३२
मङ्गलबार, ३२ जेठ २०७३

ताप्लेजुङ– अविरल वर्षाका कारण माथिबाट झरेको ढिस्कोले घर भत्किएर पुरिँदा ताप्लेजुङमा दुई जनाको ज्यान गएको छ ।

ज्यान जानेमा ताप्लेजुङ नगरपालिका–८ निवासी ४ वर्षीया अंशु तामाङ र ३ वर्षीय अमृत तामाङ रहेका छन् ।

आज बिहान करिब २ बजेको समयमा माथिबाट झरेको ढिस्कोले घरको तल्लो तला भत्काएको र सोही तलामा सुतिरहेका उनीहरुको पुरिएर ज्यान गएको ताप्लेजुङका प्रहरी प्रमुख रामबहादुर केसीले जानकारी दिए ।

उनका अनुसार मृतक बालबालिकाकी आमा ३० वर्षीया सीता तामाङ र दिदी १२ वर्षीया अस्मिता तामाङ घाइते भएका छन् । उनीहरुको अहिले जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको जनाइएको छ । सीताका श्रीमान् मनकुमार तामाङ भने बैदेशिक रोजगारीमा रहेका छन् ।

यता मेची राजमार्गअन्तर्गत दोखुमा पर्ने ल्याङ्बा सडकखण्डमा माथिबाट झरेको पहिरोले बाटो अवरुद्ध भएको छ । अविरल वर्षाका कारण गएराति झरेको पहिरोले सडकको केही भाग पुरिएको र अहिले स्काभेटरको सहायतामा पहिरो पन्छाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

सो पहिरोका कारण ताप्लेजुङबाट बाहिरिने र अन्य जिल्लाबाट भित्रने सवारीसाधन बिचमै अलपत्र परेका छन् । मध्य रातिदेखि ताप्लेजुङमा लगातार वर्षा भइरहेका कारण पहिरोको जोखिम बढेको भन्दै स्थानीयवासी त्रसित भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप