बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

गौ पूजाका लागि ‘नौ मुठे’ गाई

मङ्गलबार, ३२ जेठ २०७३, ११ : ३९
मङ्गलबार, ३२ जेठ २०७३

धनगढी– कैलाली जिल्लाको बेहडाबाबा धाममा सोमबरदेखि सुरु भएको गङ्गा दशहरा धार्मिक महोत्सवमा गरिने भेनु मानस पाठ यज्ञ (गौ पूजा) एवम् दर्शनका लागि लोपोन्मुख ‘नौ मुठे’ गाई ल्याइएको छ ।

हातको मुट्ठीले गाईको उचाइ नाप्दा नौ मुठी पुग्ने भएकाले यो गाईलाई ‘नौ मुठे’ गाईको सङ्ज्ञा दिइएको हो । नेपालको अछाम जिल्लामा मात्रै पाइने बताइएको यो गाई ८० सेन्टिमिटर उचाईको रहेको महोत्सवमा सहभागी गौ पूजाका कथा वाचक पण्डित कृष्णमोहन जोशीले बताए ।

हिन्दू धर्म परम्परामा भगवती लक्ष्मीको रुपमा पूजा गर्ने गरिएको गाई पछिल्लो समयमा लोपोन्मुख अवस्थामा पुगेको भन्दै आयोजक समितिले यसको संरक्षणका लागि चेतना अभिवृद्धि गर्ने उद्देश्यले नेपालमै पहिलो पटक यो गौ पूजा गरिएको जनाएको छ ।

यो नौमुठे गाई विश्वमै सबैभन्दा सानो दुधालु गाई रहेको भनी गिनिज बुकमा नाम दर्ता भएको कथा वाचक जोशीले बताए । सांसद पुष्करनाथ ओझाले सोमबार एक समारोहका बीच महोत्सवको उद्घाटन गरे ।

यसअघि बिहान निस्केको कलस यात्राले बेहडाबाबा धामको परिक्रमा गरेको थियो । कनैया गौलोक सेवा संस्था कञ्चनपुरलगायतका सङ्घ संस्थाको पहलमा गरिएको यो गङ्गा दशहरा धार्मिक महोत्सवमा गरिन लागिएको भेनु मानस पाठ यज्ञमा सहभागी हुन टाढाटाढाबाट दर्शनार्थी आउने क्रम सुरु भएको छ ।

असार ४ गतेसम्म हुने यो यज्ञमा हरेक दिन गौ कथाको सङ्गीतमय प्रवचन, पूर्वाङ्ग पाठ पारायण, पूजालगायतका धार्मिक अनुष्ठान गर्न लागिएको छ ।

धनगढी उपमहानगरपालिका–१६ मा रहेको बेहडाबाबा धाममा गङ्गा दशहराका दिन ठूलो मेला लाग्ने गर्दछ । यो मेला भर्नका लागि नेपाल र भारतबाट ठूलो सङ्ख्यामा भक्तजन बेहडाबाबा धाममा आउने क्रम सुरु भइसकेको छ । भारतीयले कूलदेवताका रुपमा बेहडाबाबालाई पुज्ने गरेका छन् ।

गङ्गा दशहराको दिन बेहडाबाबा मन्दिरमा पुगेर भगवान् शिवको पूजाअर्चना गरेमा सम्पूर्ण पापबाट मुक्ति पाइने जनविश्वास रहेको छ । प्राचीनकालमा अहिलेकोे बेहडाबाबा धाम रहेको जंगल क्षेत्रमा गाईवस्तु चराउने क्रममा भारतका एक ग्वालाले गाईले नियमितरुपमा दूध खसाउने गरेको र दूध खसाउनुको कारण पत्ता लगाउँदै जाँदा उक्त स्थानमा शिवलिङ्ग फेला पारेपछि त्यसै समयदेखि त्यस क्षेत्रमा बेहडाबाबा मन्दिर निर्माण गरी शिवलिङ्गको पूजाअर्चना गरिँदै आएको हो भन्ने किङ्वदन्ती छ ।

धनगढीदेखि करिब १५ किमी पूर्व उत्तरतर्फ पर्ने यो धार्मिक क्षेत्रको उचित प्रसारप्रसारका साथै आवश्यक भौतिक पूर्वाधारको विकास भने हुन सकेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप