मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

EURO WATCH : रोनाल्डोको काँधमा पोर्चुगल

मङ्गलबार, ३२ जेठ २०७३, १७ : ४३
मङ्गलबार, ३२ जेठ २०७३

काठमाडौं – क्रिस्टियानो रोनाल्डो फुटबल खेलाडी मात्र होइनन्, आइकन हुन्, ब्राण्ड हुन्, विश्वकै सबैभन्दा बढी आम्दानी गर्ने खेलाडी हुन्, सबैभन्दा ठूलो क्लबको अनुहार हुन् ।

विश्वभर रोनाल्डोको फ्यानहरु छन् । सामाजिक सञ्जालमा २ सय मिलियन फालोअर पुर्याउने उनी पहिलो खेलाडी हुन्, चाहे त्यो ट्वीटर होस् या फेसबुक या इन्सटाग्राम ।

हालैमात्र फोर्ब्सले जारी गरेको तथ्यांकको आधारमा रोनाल्डोले पछिल्ला १२ महिनामा ८८ मिलियन डलर कमाए । जसमध्ये ५६ मिलियन डलर त रियल म्याड्रिडले उनलाई दिने तलब र बोनसमात्रै थियो । अन्य विज्ञापनबाट उनले ३२ मिलियन डलर कमाए ।

उनी आफै ब्राण्ड बनेका छन् । उनको आफ्नै फेसन लाइन छ, परफ्युम, होटल र हेडफोन छ । नाइकी बुटसँग उनको वार्षिकरुपमा २० मिलियन डलरको करार छ ।

यो त मैदानबाहिरका कुरा भए, मैदानमा पनि उनी त्यतिकै सफल छन् । उनी रियलका सर्वाधिक गोलकर्ता हुन्, च्याम्पियन्स लिगमा पनि सबैभन्दा धेरै गोल गरेका छन् भने पोर्चुगलका पनि सर्वाधिक गोलकर्ता नै हुन् ।

उनले तीनपटक च्याम्पियन्स लिगको उपाधि जितेका छन् भने स्पेन र इंग्ल्याण्डमा ४ वटा घरेलु लिग पनि जितेका छन् । उनी तीन पटक फिफा वर्ष खेलाडी पनि घोषित भएका छन् ।

रोनाल्डो निकै मिहिनेती पनि छन् । उनीसँग काम गरेका खेलाडी र प्रशिक्षक उनको बारेमा यही भन्छन् । रियलका पूर्व प्रशिक्षक कार्लो एन्चेलोटीले सिएनएनसँग कुरा गर्दै भनेका छन्, ‘रोनाल्डो सफल छन् किनभने उनी आफ्नो कामको बारेमा गम्भिर र व्यवसायिक छन् ।’

‘हामी घरेलु मैदानबाहिर भएको खेलबाट फर्किंदा बिहानको तीन बजेको हुन्थ्यो । अरु सबै सुत्न जान्थे, उनी बरफ पानीमा नुहाउन जान्थे,’ उनले भने ।

रोनाल्डोको कामबारे लगन र राम्रो बन्ने चाहको बारेमा सबैले तारिफ गर्छन् । कुनै खेलको नतिजालाई एक्लै परिवर्तन गर्न सक्ने भएकाले नै विश्वभर उनका लाखौं फ्यान छन् ।

रोनाल्डो कम्पिलट प्लेयर पनि हुन् । उनी दुवै खुट्टाले बललाई उत्तिकै राम्रोसँग हिर्काउन सक्छन् । हेडमार्फत गोल गर्न उत्तिकै सिपालु छन् । अहिले उनको ड्रिब्लिङ र गतिमा कमी आए पनि अझै पनि विश्वकै तेज खेलाडीहरुमा पर्दछन् । फ्रिकिक पनि उनको त्यतिकै बेजोड हुन्छ ।

अर्को रेकर्डमाथि आँखा

युरो २०१६ मा पोर्चुगल समूह एफमा परेको छ । पहिलो खेल आइसल्याण्डविरुद्ध मंगलबार साँझ खेल्नेछ । आइसल्याण्ड पहिलो पटक ठूलो प्रतियोगितामा छनौट भएको हो । समूहमा अष्ट्रिया र हंगेरी पनि रहेका छन् ।

आजको खेलमा गोल गरे रोनाल्डो युरोपियन च्याम्पियनसीपको चार वटा संस्करणमा गोल गर्ने पहिलो खेलाडी बन्नेछन् । छनौट र फाइनल्स गरी रोनाल्डो प्रतियोगिताको सर्वाधिक गोलकर्ता पनि हुन् । उनले २६ गोल गरिसकेका छन् ।

फाइनल्स मात्रमा भने उनी युइएफएका पूर्व अध्यक्ष मिचेल प्लाटिनीभन्दा मात्र तीन गोलले पछि रहेका छन् । प्लाटिनीले प्रतियोगितामा ९ गोल गरेका छन् ।

पोर्चुगलका मिडफिल्डर जोआ मोन्टिन्होले भनेका छन्, ‘रोनाल्डो गोल स्कोरर हुन् । आशा छ आजको खेलमा पनि त्यसलाई जारी राख्नेछन् ।’

यता, आइसल्याण्डले भने रोनाल्डोलाई रोक्न हरप्रयास गर्ने टोलीका प्रशिक्षक लार्स ल्यागर ब्याकले भनेका छन् ।

समूह रहेको अस्ट्रियालाई प्रतियोगिताको डार्क हर्स मानिएको छ । छनौट चरणमा उत्कृष्ट प्रदर्शन गर्दै अस्ट्रियाले सम्भावित ३० अंकमध्ये २८ अंक बटुलेको थियो ।

रोनाल्डोलाई अन्तिम मौका

रोनाल्डोले तीन पटक च्याम्पियन्स लिग जिते पनि देशको तर्फबाट भने कुनै ठूला अन्तर्राष्ट्रिय प्रतियोगिता जित्न सकेका छैनन् । सन् २००४ को युरोमा उनले फाइनल गुमाएका थिए भने चार वर्षअघि त्यतिबेलाको विजेता स्पेनसँग सेमिफाइनलमा पेनाल्टीमा पराजित भएको थियो ।

वर्तमानका दुई सफल खेलाडी रोनाल्डो र लियोनेल मेस्सीमाथि लाग्ने अरोप पनि यही छ कि दुवैले देशका लागि केही जित्न सकेका छैनन् ।

रोनाल्डोको लागि आफ्नो आलोचकहरुलाई जवाफ दिने यो अन्तिम मौका हुन सक्छ । किनभने उनी ३१ वर्षका भइसकेका छन् । यसपटक पोर्चुगल उनको काँधमाथि भर परेको छ ।

पोर्चुगलको एक्सप्रेसो समाचारपत्रमा फुटबलबारे लेख्ने पेड्रो कानडियास भन्छन्, ‘अबको दुई वर्षपछि विश्वकप छ, त्यतिबेला रोनाल्डो ३३ वर्षका हुनेछन् । यो बेला भने औसतरुपमा सन्यास लिने समयको नजिक हो ।’

‘तर, रोनाल्डो अरुभन्दा फरक छन् । उनी ३५ वा ३६ वर्षसम्म खेल्न सक्छन्,’ उनी भन्छन्, ‘विश्वकपभन्दा उनका लागि यो प्रतियोगिता जित्न सजिलो पनि हुनसक्छ । किनभने प्रतियोगितामा भाग लिने २४ टोलीमध्ये धेरैसँग अनुभव छैन  ।’

'उनी हाम्रो लागि र्याम्बो हुन्, रकी हुन्, पर्चुगल उनकै काँधमा आश्रित छ’ उनी थप्छन्, ‘कहिलेकाहीँ मैदानमा उनको हर्कत हाँस उठ्दो पनि हुन्छ । तर, उनी विश्वकै सफल खेलाडी हुन् भन्ने कसेले नकार्न सक्दैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप