मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

टिचिङमा आमा र बच्चाको मृत्यु : छानबिन नभएसम्म परिवारले शव नबुझ्ने

मङ्गलबार, ३२ जेठ २०७३, २३ : ०१
मङ्गलबार, ३२ जेठ २०७३

टिचिङ अस्पताल भर्ना भएर सामान्य अवस्थामा सुत्केरी भएतापनि आमा र बच्चा दुबैको ज्यान गुमाउन पुगेकी मिना थापाका आफन्तले शव बुझ्न अस्वीकार गरेका छन् । अस्पतालको लापरवाहीले आफ्नी श्रीमती र बच्चाको ज्यान गएको भन्दै मिनाका श्रीमान राजन पाठकले यो घटनाको सत्यतथ्य बाहिर ल्याउन अस्पताल प्रशासनसँग आग्रह गरेका छन् ।

पीडितको गुनासो

हाँस्दै र आफै हिँड्दै अस्पतालमा आएकी आफ्नी एकमात्र बहिनीलाई यसरी अकस्मात गुमाउनुपर्दा दाजु दिपक थापा स्तब्ध छन् । सबै कुरा नर्मल छ भनिएको थियो । न बहिनीलाई न बच्चालाई, कसैलाइ बचाउन सकिएन । अध्याँरो मुख लाउँदै दिपकले भने — भित्रै लेबररुममा लापरवाही गरियो । मेरी बहिनीको ज्यान अस्पतालले नै लिएको हो । हामीलाइ अस्पतालले चित्तबुझ्दो जवाफ दिएको छैन ।

अस्पताल परिसरमा जम्मा भएका आफन्तहरु आक्रोशित बनेका छन् । हामीमाथि अन्याय भएको छ । मिनाका नन्दभाइ अनुप सिलवालले रातोपाटीसँग भने— घटनामा संलग्न स्वास्थ्यकर्मीलाइ कार्वाही हुनुपर्छ । पीडितलाइ उचित क्षतिपुर्ति दिनुपर्छ । संलग्नहरुले केही बोलेका छैनन् । डेलीभरी गराएकी डा. हेमा रिजालले लेबररुममा के भएको थियो भनेर बताउन सकेकी छैनन् । उनी किन मौन छन् ? कसैले बच्चाको घाँटीमा एकफन्को मात्रै साल बेरिएको थियो भन्छन् भने कसैले पाँचफन्को बेरिएको थियो भनेर भनेका छन् । एकैठाँउमा काम गरेका लेबररुमका कर्मचारीको एउटै जवाफ आउन सकेको छैन — अनुपले आक्रोशित हुँदै सुनाए ।

मिनाको किड्नी फेल भएकै भए पनि कुनै चित्तबुझ्दो आधिकारिक प्रमाण दिइएन । त्यस्तो कमजोर अवस्थामा भएको बिरामीलाई डायलोसिस गरियो । राम्रोसँग बोलिरहेकी बहिनी डायलोसिस पछि नै बेहोस भएको हो । भित्र केही गडबड भएरै होला । बहिनीले मलाइ सुइ दिएर पनि मार्न सक्छन् घर लैजानुस दाजु भनेकी थिइन् । यसैले पनि अस्पतालका स्वास्यकर्मीले लापरवाही गरेको पुष्टि हुन्छ — मृतकका दाजु दिपक भन्छन् ।

यदि आफ्नै कारणले मृत्यु भएको हो भने पनि हामी शव बुझ्न तैयार छौं । तर, अस्पतालले चित्तबुझ्दो जवाफ दिनुपर्छ — दिपक भन्छन् — आफ्ना कर्मचारीबाट गल्ती भएको हो भने अस्पतालले माफी मागोस् हामी माफी दिन तयार छौं तर अस्पताल सकेसम्म पन्छिन खोजेको छ । यो घटनालाइ यत्तिकै छोड्न मिल्दैन, यस्ता घटना दोहोरिन नदिन पनि हामी चुप लागेर बस्न मिल्दैन । पीडितहरुको आक्रोशपूर्ण आवाज हो यो ।

आइसियूको भनाइ

आइसियूका बिभागिय इन्चार्ज सुवासप्रसाद आचार्यले डेलीभरी भैसकेपछि डेढ लिटरजति रगत बगेको जानकारी आफूलाई आएको बताए । रगत बग्न केही गरी रोक्न नसकिएपछि डा. मितासिंहको नेतृत्वमा अप्रेशन गरी पाठेघर निकालिएको थियो । मिनालाइ पाठेघरको अप्रेशन पछि १ बजेतिर आइसियूमा भर्ना गरिएको उनले बताए ।

आइसियूमा ल्याउनेबेला नै उनको अवस्था निकै सम्बेदनशील थियो डा.सुवासले रातोपाटीसँग कुरा गर्दै भने—डेढ लिटर जति रगत बगेपछि उनी निकै कमजोर भएकी थिइन् । उनलाई तत्कालै रगत चढाइएको थियो । तीनदिनपछि उनको अवस्थामा केही सुधार आएको थियो । उनी बोल्न, बेडमा उठेर बस्न र जाउलो खान सक्ने भएकी थिइन् । एक्कासी उनको रगतमा ‘डिआइसी’ देखियो । ‘डिआइसी’ भनेको बिरामीलाई अरुको रगत दिएपछि रगतमा देखिने ‘इन्फेक्सन’ हो । यसरी रगतमा संक्रमण भएपछि रोगसँग प्रतिरोध गर्ने क्षमता कम हुँदै जान्छ । र क्रमश अरु रोगले पनि आक्रमण गर्दै जान्छन् । मिनाको हकमा पनि यहीँ भएको हो ।

रगतमा संक्रमण भएपछि उनलाई निमोनियाले ग्रस्त बनायो, पछि दुवै किड्नीले काम गर्न छाड्यो । त्यसैगरी व्लडप्रेसर लो भयो र उनका अंगहरुले क्रमश काम गर्न छोड्न थाले । मातृमृत्युदरको साझा र मुख्य कारण अत्यधिक रक्तश्राव हुनु हो र मिनाको हकमा पनि यहीं भएको डा. सुवासको भनाइ छ । आफूले अन्तिम अवस्थासम्म पनि उनलाइ बचाउन कोसिस गरेको भएपनि बचाउन नसक्दा धेरै दुःख लागेको उनले बताए । यसरी उनको मृत्यु होला भन्ने लागेकै थिएन । उनलाइ बचाउन सक्नु भनेको हाम्रो टिमको लागि पनि ठूलो उपलव्धी थियो तर बचाउन सकिएन – डा. सुवासले सुनाए ।

के भन्छ प्रशासन ?

अस्पतालका प्रशासन प्रमुख गोविन्द प्रधान छानबिनको लागि प्राध्यापक डाक्टर प्रताप नारायण शाहको नेतृत्वमा ७ सदस्य रहेको एउटा छानवीन समिति बनेको बताउँछन् । उनी भन्छन् — काम गर्ने क्रममा जटिलता आँउछन् । यस्ता खाले घटना छानवीन र मूल्यांकनको लागि एउटा छुट्टै कार्यबिधी अस्पतालले बनाएको छ । यो घटनामा यसै भएको हो भनेर अहिल्यै भन्न सकिन्न । लेवररुमदेखि आइसियू सम्मका सबै स्टाफलाइ सोधपुछ गर्ने क्रममा रहेको र सबै नतिजा बाहिर आउन अझै १५ दिन लाग्नसक्ने अस्पतालका प्रवक्ता समेत रहेका प्रधानले बताए । छानवीन समिती प्रारम्भिक अनुसन्धानको क्रममा रहेकोले अहिल्यै केही भन्न नसकिने उनको भनाइ छ ।

टिचिङका डाक्टरको लापरवाहीले डेलिभरीका लागि भर्ना गरिएकी आमा र बच्चा गुमाएपछि पाठक परिवार संघर्षमा

टिचिङको लापरवाहीले गयो आमा र बच्चाको ज्यान !

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप