मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

तथ्याङ्क सङ्कलन गर्दा छुटेका भूकम्प पीडितको नामावली तत्काल समावेश गर्न कांग्रेसको माग

मङ्गलबार, ३२ जेठ २०७३, २२ : २१
मङ्गलबार, ३२ जेठ २०७३

काठमाडौँ - नेपाली काँग्रेस संसदीय दल कार्यसमितिको आजको बैठकले तथ्याङ्क सङ्कलन गर्दा छुटेका भूकम्प पीडितको नामावली तत्काल समावेश गर्न माग गरेको छ ।

सिंहदरबास्थित संसदीय दलको कार्यालयमा आज बसेको बैठकले भूकम्प पीडित जनताको आवास पुनःनिर्माणको आवश्यकताप्रति सरकार उदासिन भएको आरोपसमेत लगाएको छ । भूकम्प पीडित जनताको आवास पुनःनिर्माणका आवश्यकताप्रति सरकार केन्द्रित हुनुको सट्टा गैरसरकारी संस्थाहरू र राष्ट्रिय पुनःनिर्माण प्राधिकरणलाई समेत कार्यकर्ता नियुक्तिको अवसरको रुपमा प्रयोग गरिएकोप्रति काँग्रेसले विरोध जनाएको छ ।

बैठकले संसदीय दलको विधानअनुसार सदस्य सचिवमा धु्रव वाग्ले र कोषाध्यक्षमा मिनाक्षी झालाई चयन गरेको छ ।

उपत्यकाका जिल्लामा भूकम्प पीडितको नामावलीको प्रमाणिकरण अझै हुन नसकेको र काँग्रेस नेतृत्वमा रहेको सरकारले भूकम्प पीडितहरूलाई रु दुई लाख अनुदान दिने गरेको निर्णयलाई सरकारले अझै कार्यान्वयन नगरेको भन्दै बैठकले तत्काल सो रकम वितरण गर्न माग गरेको छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमा प्रमुख प्रतिपक्ष दलका नेता उपाध्यक्ष रहने व्यवस्था भए पनि प्राधिकरणको नीतिगत निर्णय प्रक्रियामा विपक्षी दलको सहभागिता नगराएकोप्रति रोष प्रकट गर्दै बैठकले प्राधिकरणलाई सरकारले एकलौटी ढङ्गबाट पार्टीगत स्वार्थका लागि प्रयोग गर्ने गरेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप