मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

कर्मचारीका नेताद्वारा सहकारी प्रशिक्षण केन्द्रको क्वाटर कब्जा

बुधबार, ०१ असार २०७३, १४ : २६
बुधबार, ०१ असार २०७३

काठमाडौं– एमाले निकट नेपाल निजामती कर्मचारी संगठनको राजनीति गर्दै आएका भोलानाथ पोखरेलले बानेश्वरस्थित केन्द्रिय सहकारी प्रशिक्षण केन्द्रको क्वाटर लामो समयदेखि कब्जा गरेको खुलेको छ । कर्णाली आयोगमा पाँचौ तहको सरकारी जागिरे रहेका पोखरेल विगत पाँच बर्षदेखि राष्ट्रिय सहकारी प्रशिक्षण केन्द्रमा चार कोठा सहितको फ्ल्याटमा बस्दै आएका छन् । पोखरेलले लामो समयदेखि सहकारीको क्वार्टर प्रयोग गर्दै आएको पुष्टि गर्दै केन्द्रिय सहकारी प्रशिक्षण केन्द्रका प्राचार्य गणेश अर्यालले भने, ‘कर्णाली आयोगमा उहाँको काज सरुवा भएको थियो, तर सहकारीको क्वाटर छाडेको मैले जानकारी पाएको छैन ।’ यसअघि सहकारी प्रशिक्षण केन्द्रकै कर्मचारी रहेका पोखरेलले क्वाटर नछाड्दा प्रशिक्षण केन्द्रमै कार्यरत सिनीयर अफिसरहरुले क्वाटर पाएका छैनन् । जागिर सरुवा भएपछि क्वाटर छाड्ने नछाड्ने पोखरेलको विवेकको कुरा भएको अर्यालले बताए । एमाले निकट निजामती कर्मचारी संगठनको सल्लाहकार रहेका पोखरेल दुई बर्षअघी भएको संगठनको चुनावमा पुण्य ढकालसँग पराजित भएका थिए । नेकपा एमालेको भातृ संगठन ‘काठमाडौं जिल्ला विशेष बुद्धिजीवी संगठन’ को उपाध्यक्ष समेत रहेका पोखरेल डेढ बर्षअघि बढुवाको नम्बर लिन जिल्ला सहकारी कार्यालय जुम्लामा सरुवा भएका थिए । जुम्लामा दरबन्दी कायम भएपनि काठमाडौं बसेर बेला–बेला हाजिर गर्न जुम्ला पुग्ने पोखरेल त्यतिवेला पनि सहकारीकै क्वाटरमा बस्थे । दुर्गममा दुई बर्ष बसेपछि मात्र बढुवाको नम्बर पाइने हुनाले उनले जुम्ला सरुवा मिलाएपनि काम गर्न नगएको भन्दै विरोध भएपछि डेढ बर्षमा आफ्नो दरबन्दी पुनः शहकारी प्रशिक्षण केन्द्रमै सारेका थिए । सामान्य सरकारी जागिर खाएर पनि सहकारी, नर्सिङ क्याम्पस तथा कलेजमा लगानी गरेका पोखरेलले सहकारी प्रशिक्षण केन्द्रमै आफ्नो दरबन्दी भएकाले क्वाटर नछाडेको दावी गरे । ‘हाजिर कुन कार्यालयमा गर्नुहुन्छ ?’ रातोपाटीको प्रश्नमा पोखरेलले भने, ‘कर्णाली आयोगमा मेरो काज सरुवा भएको छ, त्यतै हाजिर गर्छु ।’ कर्णाली विकासका लागि गठन भएको ‘कर्णाली आयोग’मा हाजिर गरेर तलव खाँदै आएका पोखरेललाई सामान्य प्रशासन मन्त्री रेखा शर्माले गरेको काज फिर्ताको निर्णयले समेत छोएको छैन । ‘मलाई सामान्य प्रशासन मन्त्रालयले गएको माघमा कर्णली आयोगमा काज सरुवा गरेको थियो, केही समय त्यहिँ बस्नुस भनेको छ’ पोखरेलले भने, ‘सामान्य प्रशासन मन्त्रालयकै आग्रहमा आयोगमा बसिरहेको छु ।’ अन्य कर्मचारीलाई काज फिर्ताको आदेश दिने सामान्य प्रशासन मन्त्री शर्मालाई यसबारे जानकारी छ कि छैन ? पोखरेल आफैं भनिरहेका छन्, ‘मलाई सामान्यले केही समय कर्णाली आयोगमै काजमा बस्न भनेको छ ।’ आधिकारी ट्रेड युनियनको निर्वाचनमा एमालेले बहुमत ल्याएसँगै अध्यक्ष बन्न दौडधूप गरिरहेका पोखरेल पार्टीका मन्त्रीलाई भनेर सरुवा बढुवा बापत पैसा लिनसमेत खप्पिस मानिन्छन् । एमाले नेता राजेन्द्र पाण्डे स्थानिय विकास मन्त्री हुँदा धादिङका एक कर्मचारीलाई सरुवा गर्दिन्छु भनेर एक लाख लिएको केही महिनामा उनको पोल खुलेको थियो । एमाले निकट कर्मचारी सरुवा गराएर एक लाख लिएको कुरा पाण्डेको कानमा पुगेपछि पोखरेललाई मन्त्रालयमै बोलाएर उनले एक लाख फिर्ता गराएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप