मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

भूकम्पपीडितलाई अब सामुहिक आवास

बिहीबार, ०२ असार २०७३, ११ : ४६
बिहीबार, ०२ असार २०७३

नुवाकोट–भूकम्पपीडितका लागि अब सामुहिक आवासको अवधारण अनुसार नेपाली सेनाले निर्माण कार्य थालेको छ । भूकम्पबाट विस्थापित भएका पीडितहरुलाई आवासको व्यवस्था गर्न रसुवा जिल्लामा नेपाली सेनाले सामूहिक आवासको निर्माण कार्यलाई तीव्ररुपमा अगाडि बढाएको हो । रसुवाको हाकु गाविसमा भूकम्पसँगै सिंगो गाउँ नै पहिरोका कारण विस्थापित भएपछि जिल्ला सदरमुकाम धुन्चेमा अस्थायी बसोवास गरिरहेका नागरिकहरुका लागि उक्त आवासको निर्माण गर्न लागिएको नेपाली सेनाले जनाएको छ । धुन्चेको इमरुङ क्षेत्रमा पर्ने त्रिशूली नदी आसपासमा बसोबास गर्दै आएका विस्थापित परिवारहरुलाई सहज बासस्थान दिलाउन लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षामा तैनाथ नेपाली सेनाको नारायण दल गणले सामुहिक आवास निर्माणमा सहयोग गरेको हो । आगामी केही समयभित्रै विस्थापितलाई बसोवास व्यवस्थापन गर्न सेनाका जनशक्ति अहोरात्र सामूहिक भवन निर्माणमा खटिरहेका छन् । आवासको निर्माणको साथै महिला र पुरुषक लागि छुट्टाछुट्टै शौचालय, स्नानगृहसमेत निर्माण गरेका छन् । भूकम्पपीडितका लागि नेपाली सेनाले निर्माण गर्दै गरेको सामूहिक आवासबाट यस क्षेत्रमा बस्ने विस्थापित परिवारले सुरक्षित बसोवास गर्न पाउने आशा राख्दै खुसी व्यक्त गरेका छन् । ‘भूकम्प र पहिरोबाट त बाँचियो, बाँचियो, एकवर्षदेखि राम्रोसँग बस्न नपाएर मरिने हो की भन्ने चिन्ता थियो, हाकुबाट भूकम्प र पहिरोले एकैचोटी विस्थापित हुन बाध्य भएर त्रिशूली किनारमा ६ जनाको परिवारसँगै बस्दै आएका आक्पा तामाङले खुसी हुँदै भने, ‘अव सरकारले सबैलाई एकैठाउँमा घर बनाइदिन लागेर बस्न पाइने भइयो । अब त मरिदैन कि ?’ उनीजस्तै हाकु गाउँका २ हजार भन्दा पीडितहरु गाउँबाट विस्थापित छन् भने पहिरोको जोखिममा सिंगो गाविस नै परेपछि गाउँ फर्केर जान नसक्ने अवस्थामा यहाँका नागरिकहरु वैकल्पिक व्यवस्थापनको खोजिमा थिए । आगामी असार १० गतेभित्र २० परिवारका लागि प्रिफेम मोडेलको सामूहिक आवास निर्माण सम्पन्न गरी सम्बन्धित निकायलाई बुझाइसक्ने जनाइएको छ । नवनिर्मित सामूहिक आवासका आसपासमा फूल बिरुवा रोप्ने व्यवस्था मिलाइ स्वच्छ वातावारणको नमुना देखाउने समेत सेनाले छ । यस्तै नेपाली सेना नारायणदल गणले स्याफ्रुबेँसी इलाका क्षेत्रमा आठ परिवारका लागि सामूहिक आवास निर्माण गरिरहेकोे छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप