मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

बाह्र वर्षे मेला बिजेश्वरीमा

बिहीबार, ०२ असार २०७३, १४ : २३
बिहीबार, ०२ असार २०७३

काठमाडौँ- काठमाडौँका प्रसिद्ध बिजेश्वरी देवीको महास्नान आज यहाँ सम्पन्न भएको छ । बज्रयान बौद्धधर्मअनुसार हरेक बाह्र वर्षमा आयोजना गरिने ऐतिहासिक महत्वको उक्त बाह्र वर्षे मेला भर्न आउने भक्तजनको बिजेश्वरी मन्दिर वरिपरि आज ठूलो भीड लागेको छ ।

बौद्धधर्म तथा बज्रयानको दृष्टिले निकै महत्वपूर्ण रहेको सो मेलामा बौद्धधर्मावलम्बीका अतिरिक्त अन्य धर्मावलम्बीहरुको पनि आस्थाको केन्द्रका रुपमा रहेकाले भक्तजनको ठुलो भिड लागेको छ ।

काठमाडौँको निलगिरि पर्वतमा रहेको ती देवी बिजेश्वरीका रूपमा बज्रयान बौद्धधर्मावलम्बीहरुबीच परिचित छिन् । श्रीविद्याधरी, नैरात्मादेवी, बज्रबाराही, बज्रयोगिनी, खड्गयोगिनी गरी पाँच देवीलाई बिजेश्वरी भनिन्छ ।

आज बिहानदेखि सुरु भएको बज्रयान विधिअनुसार मूल पुरोहित गुरु यज्ञमान बज्राचार्यसहितका गुरुहरुले पूजा गरी बिजेश्वरीको कलेबर फेर्ने गरिन्छ ।

रासससँग कुरा गर्दै श्री बिजेश्वरी बाह्र वर्षे कलेबर फेर्ने पूजा आयोजक समितिका सचिव मानिकरत्न शाक्यले यो बाह्र वर्षे मेला कहिले सुरु भएको भन्ने कुरा स्पष्ट नभए पनि नेपाल संवत् ७३५ देखि सुरु भएको इतिहास रहेको त्यहाँको मन्दिरमा रहेको तोरणमा उल्लेख भएको जानकारी दिनुभयो ।

यसअघि आज बिहान न्यास पूजा गरिएको थियो भने आजै बेलुका भचाखुसी र निर्मल तीर्थमा विजेश्वरी देवीलाई महास्नान गरिएको थियो ।

उक्त मेला आयोजना गर्नका लागि गत जेठ १८ गते सो आयोजक समितिले सबै देवीदेवतालाई निमन्त्रणा पठाइएको सचिव शाक्यले बताउनुभयो । उहाँका अनुसार यो मेलाको अध्ययन आधार स्वयम्भू पुराण मानिएको छ ।

स्थानीय बौद्ध विद्वान् आनन्दमुनि बज्राचार्यले ऐतिहासिक रुपमा निकै महत्वपूर्ण रहेको यो मेलामा चार दिनसम्म विजेश्वरी देवीलाई गुह्य स्थानमा राखी पूजा गरिने र त्यसपछि बज्रयान विधिअनुसार विशेष पूजा गरिने जानकारी दिनुभयो । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप