मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

भारतीय अदालतद्वारा गुजरात हत्यामा सम्लग्न ११ लाई जन्मकैँद

शुक्रबार, ०३ असार २०७३, १३ : ५७
शुक्रबार, ०३ असार २०७३

नयाँ दिल्ली - भारतको एक अदालतले सन् २००२ मा भारतीय राज्य गुजरातमा भएको हिंसामा सम्लग्न भएको आरोप लागेका ११ जनालाई जन्मकैदको सजाय सुनाएको छ । शुक्रबार सो अदालतले ११ जनालाई आजन्म काराबासको सजायका साथै अरु १२ जनालाई सात वर्षको जेल सजाय सुनाएको हो । अदालतले कारबाहीको फैसला गरेका यी सबैजसो हिन्दू धर्माबलम्बी व्यक्ति हुन् । उनीहरुको सम्लग्नताको पुष्टि गर्न अदालतलाई निकै लामो समय लागेको थियो । करिब ३०० जनासँगको बयान र प्रत्यक्षदर्शीहरुको प्रमाणहरुका आधारमा यो फैसलाको निष्कर्षमा पुगेको अदालतले जनाएको छ । सन् २००२ को फेब्रुअरीमा मा भारतीय राज्य गुजरातमा हिन्दू धर्माबलम्बीहरुद्वारा भएको हिंसाका क्रममा परी कम्तीमा पनि ६९ जनाको ज्यान गएको थियो । गुजरातको गलबार्ग सोइसाइटीमा एक घरमा बसिरहेका भारतीय काँग्रेसका तत्कालीन सांसद एसान जाफ्रीसहितका ६९ जनालाई आगो लगाएर हत्या गरिएको थियो । यसरी मारिनेमा प्राय सबैजसो मुस्लिम धार्मिक समुदायका नागरिक थिए । सो हत्याकाण्डपछि त्यसमा सम्लग्नताको आरोपमा कैयौँ व्यक्तिलाई थुनामा राखेर अनुसन्धान गरिएको थियो । अनुुसन्धानका क्रममा दोषी पाइएका उनीहरुमध्ये ११ जनालाई आजन्म काराबास र अरु १२ जनालाई सात वर्षको जेल सजाय सुनाइएको बताइएको छ । त्यस दङ्गामा सम्लग्नताको आरोपमा अदालतले ६६ जनामाथि अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानका क्रममा रहेकामध्ये अदालतले २४ जनालाई दोषी ठहराएको थियो । यस बीचमा पाँच जनाको निधन भइसकेको छ भने अरु ३६ जनालाई निर्दोष ठहर गरेको छ । त्यस वर्ष भारतको गुजरात राज्यमा हिन्दू र मुस्लिम समुदायका नागरिकबीचमा ठूलो दङ्गा र हिंसा फैलिएको थियो । त्यस हिंसामा परी करिब एक हजार जना नागरिकको ज्यान गएको थियो । मुस्लिम समुदायका नगारिकले पनि गुडिरहेको रेलमा आक्रमण गरी कम्तीमा ६० जना हिन्दूको हत्या गरेका थिए । त्यसपछि गुजरातमा हिंसा फैलिएको थियो । उक्त हिंसामा परी अधिकांश मुस्लिम नागरिक मारिएका थिए । यस हिंसालाई भारतको इतिहासमा भएको सबैभन्दा ठूलो जातीय हिंसाका रुपमा लिने पनि गरिन्छ । यो सँगै भारतको अदालतले त्यस गुजरात भएकामध्ये विभिन्न स्थानका हिंसाको अनुसन्धान जारी रहेको पनि जनाएको छ । त्यस समयमा गुजरात राज्यको मुख्यमन्त्रीमा वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी हुनुहुन्थ्यो । उहाँमाथि पनि यस विषयमा आरोप लागेको थियो । तर पनि उनलाई भने सन् २०१२ मा अदालतले सफाई दिइसकेको छ । सन् २००९ देखिमात्र यो दङ्गाको बारेमा अनुसन्धान सुरु गरिएको थियो । तर यस मुद्दाको अनुसन्धानमा विभिन्न कारणले ढिलाई भएको न्याय क्षेत्रका अधिकारीहरुले जानकारी दिएका थिए । रासस/एएफपी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप