मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

EURO WATCH : इनियेस्टा, जसले जित्न बाँकी केही छैन

शुक्रबार, ०३ असार २०७३, ०९ : ५६
शुक्रबार, ०३ असार २०७३

आन्द्रेस इनियेस्टा ‘लिटिल म्यान’ भनेर चिनिन्छन्, तर उनी ठूला अवसरमा महत्वपूर्ण भूमिका निभाउने खेलाडी हुन् । सिर्जनात्मक पास, महत्वपूर्ण फिनिसिङ, छरितो रक्षात्मक र प्लेमेकिङ खेल इनिष्टाको विशेषता हो । संकटमा फसेका बेला स्पेनिस टोलीलाई उद्धार गर्न इनियेस्टा अद्भूत रुपमा प्रस्तुत हुन्छन् । सन् २०१४ को विश्वकपपछि स्पेनिस टोलीमाथि खेल खस्किएको आरोप लागिरहेका बेला इनियेस्टाले टोलीलाई फेरि एकपटक उद्धार गर्ने प्रशिक्षक डेल बोस्कको विश्वास छ ।

इनियेस्टाले चेक गणतन्त्र विरुद्धको पहिलो खेलमै उत्कृष्ट प्रदर्शन गरे । स्पेन र चेक गणतन्त्रबीचको खेल गोलरहित बराबरीमै सकिने संभावना बढेका बेला इनियेस्टाले विपक्षीमाथि दबाब बढाएका थिए । खेल सकिनु तीन मिनेट बाँकी छदाँ बार्सीलोनाका यि प्लेमेकरले जेरार्ड पिकेलाई निर्णायक गोलका लागि क्रस उपलब्ध गराए ।

पिके भन्छन् –‘त्यो निकै सुन्दर क्रस थियो ।’ स्पेनका प्रशिक्षक भिसेन्टी डेल बोस्क्यू पनि इनियेस्टाको असिस्ट निकै उत्कृष्ट रहेको बताउँछन् । ‘ म सधैँ जिम्मेवारी लिएर खेल्न चाहन्छु ।’– चेक गणतन्त्र विरुद्धको खेलमा म्यान अफ दि म्याच घोषित इनियेस्टाले भनेका छन् ।

उनले चेक गणतन्त्र विरुद्ध दिएका ९३ पासमध्ये ८५ पास सही थिए । उनी युरोकपमा सर्वाधिक १० खेलमा विजय हासिल गर्ने दुईमध्ये एक खेलाडी हुन् । स्पेनकै सेस फाग्रिसाले पनि युरोकपमा १० खेलमा विजय हासिल गरेका छन् । ‘इनिष्टा फरक खेलाडी हुन् । उनी टिममा हुने भनेको धेरै आन्द हुनु हो । उनले महत्वपूर्ण समयमा टोलीलाई उकास्छन् ।’– डिफेन्डर जोर्डी अल्बाले भनेका छन् ।

टर्कीविरुद्ध हुने नाइसमा हुने खेलमा इनियेस्टाको प्रदर्शन स्पेनका लागि महत्वपूर्ण हुनेछ । तर रोचक कुरा पहिलो खेलमा उत्कृष्ट खेल्ने इनियेस्टा यूइएफएले पहिलो चरणको खेलका समाप्तिपछि सार्वजनिक गरेको उत्कृष्ट ११ को सूचिमा छैनन् । स्पेनका प्रशिक्षक भिसेन्ट डेल बोस्क भन्छन् –‘ उनलाई टोलीका खेलाडीहरु निकै सम्मान गर्छन् । उनका लागि गोल्डेन बल पनि कम हुन्छ ।’

इनियेस्टाले सन् २००८ र २०१२ मा स्पेनलाई लगातार दुईपटक युरोकप जिताउन महत्वपूर्ण भूमिका निभाए । सन् २०१० को विश्वकपमा उनले नै नेदरल्याण्ड विरुद्ध फाइनलमा निर्णायक गोल गरेका थिए । ‘ इनियेस्टाले हामीलाई विश्वकप दिलाए । त्योभन्दा ठूलो के हुनसक्छ । त्यसैले उनले जति राम्रो खेल्दा पनि मलाई आश्चर्य लाग्दैन ।’– स्पेनका मिडफिल्डर थियागो अलकान्टाराले भनेका छन् । सन् २०१४ मा स्पेन ब्राजिलमा भएको विश्वकपमा समूह चरणबाटै बाहिरीयो । त्यसपछि जाभि हर्नान्डेजले सन्यास लिए । जाभीको सन्यासपछि स्पेनको मध्यपंक्ती अलराउन्डर इनियेस्टाको काँधमा छ ।

सर्जियो बुस्क्वेटस् मिडफिल्डमा इनियेस्टासँगै खेलिरहेका छन् । तर प्रशिक्षक डल बोस्क्यू बिस्तारै युवा खेलाडीहरुलाई टोलीमा स्थापित गर्दै लैजाने योजनामा छन् । फर्नान्डो टोरेज अहिले टोलीमा छैनन् । त्यस्तै गोलकिपर इकर कासियास टोलीमा परेपनि डेभिड डि जियाको छायाँ छन् । यस्तो अवस्थामा पुराना खेलाडीमध्ये भरपर्दा भनेका इनियेस्टा नै हुन् । उनले १ सय १० खेल खेल्दै १३ गोल गरेका छन् । ‘इनियेस्टासँग खेल्न पाउनु निकै फाइदाको विषय हो । उनी अझै पनि स्पेनको मिडफिल्डमा नियन्त्रण राख्छन् ।’– टोलीका स्टार डेभिड सिल्भाले भनेका छन् ।

इनियेस्टाका बलिया र कमजोर पाटा (यस सिजनलाई आधार मान्दा )

इनियेस्टा सेन्ट्रल मिडफिल्डमा खेल्छन् । आवश्यकता पर्दा आक्रमण तथा रक्षापंक्ती दुबैका लागि तयार हुनसक्नु उनको सबैभन्दा राम्रो पाटो हो । मैदानमा उनको रनिङ हेर्नलायक हुन्छ । उने ड्रिब्लिङ, बल होल्ड र पासिङ निकै उत्कृष्ट छ । बलसँग कुद्न सक्ने क्षमता उनमा उत्तिकै बेजोड छ । उनी छोटा पास खेल्न चाहन्छन् र राम्रो ड्रिबल गर्छन् । रक्षापंक्तीमा भने इनियेस्टा अग्रपंक्तीमा जत्तिको उत्कृष्ट छैनन् । हेड बलमा पनि इनियेस्टा कमजोर छन् । इनियेस्टाले आफ्नो व्यवसाहिक करियरका दौरान बार्सीलोनाबाट मात्रै खेले । १२ वर्षको उमेरमै अल्बाकेटबाट बार्सीलोनाको ला मासिया एकेडेमीमा आबद्ध भएका इनियेस्टाले यस एकेडेमीलाई सन् १९९९ मा यू–१५ नाइक प्रिमियर कप जिताउने क्रममा फाइनलमा निर्णायक गोल गरेका थिए । उनले सन् २००२ बाट बार्सीलोनाको सिनियर टोलीबाट डेब्यु गरेका हुन् । यसबीच उनले ८ वटा ला–लिगा तथा ४ वटा च्याम्पियन्स लिग उपाधीसहित अन्य थुप्रै उपाधी जितेका छन् । अहिले युरोकपमा सहभागी कमैमात्र खेलाडीमध्ये इनियेस्टा एक हुन्, जसले व्यवसाहिक तथा अन्तर्राष्ट्रिय फुटबल करियरमा जित्न बाँकी कुनै उपाधी नै छैन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप