मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

चुनावदेखि नडराउन देउवालाई नेपालको आग्रह

शुक्रबार, ०३ असार २०७३, १५ : ०७
शुक्रबार, ०३ असार २०७३

तनहुँ -  नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले एमालेको नेतृत्वमा मुलुकमा आर्थिक क्रान्ति सुरु हुने बताएका छन् ।

प्रेस चौतारी नेपाल तनहुँ शाखाले शुक्रबार दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले विगतमा एमालेले राजनीतिक क्रान्तिको अगुवाइ गरेको र अब आर्थिक क्रान्तिको अगुवाइ गर्ने बताए ।

‘एमाले स्वभाविक रुपमा प्रत्येक चुनौतीको सामना गर्न तयार र सक्षम छ,’ नेता नेपालले भने – ‘विगतमा पनि चुनौतीको सामना गरेरै एमाले आएको हो, इतिहास साक्षी छ ।’

सबैलाई मिलाएर लैजानुपर्ने अहिलेको आवश्यकता रहेकाले यो चुनौतीलाई पनि एमालेले कुशलतापूर्वक पूरा गर्ने नेता नेपालको भनाइ थियो । संविधान कार्यान्वयन चुनौतीपूर्ण रहेको भन्दै उनले स्थानीय निकायको चुनाव, प्रदेशको चुनाव र केन्द्रीय संसद्को चुनावको प्रक्रिया डेढवर्षभित्र सम्पन्न हुने दाबीसमेत गरे ।

‘कोही चुनावबाट भाग्छन्, तर्सिन्छन् भने प्रजातन्त्रका लागि हितकर हुँदैन,’ नेता नेपालले भने – ‘चुनाव हार्छु भनेर चुनाव रोक्नु प्रजातन्त्रलाई अवरुद्ध गर्नु हो ।’ केही दिनअघि मात्रै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले चुनाव हुनै नसक्ने बताएका थिए ।

उनीप्रति इङ्गित गर्दै नेता नेपालले चुनावदेखि नडराउन देउवालाई अनुरोध गरे ।

उनले काँग्रेसलाई सरकारमा सहभागी भएर सँगै अघि बढ्न र संविधान कार्यान्वयनमा हातेमालो गर्न आग्रह गरे।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप