मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

एमाले नेता – ‘मोर्चाले बस्किार गर्दैमा निर्वाचन रोकिन्न’, जसरी पनि रोकिन्छ –मोर्चाका नता

शुक्रबार, ०३ असार २०७३, १५ : ३८
शुक्रबार, ०३ असार २०७३

काठमाडौ,  – नेकपा एमालेका सचिव भीम आचार्यले मधेसी मोर्चा सहभागि नभए पनि निर्वाचन नरोकिने दावी गरेका छन् ।

शुक्रबार आयोजित अन्तरक्रियामा बोल्दै उनले भने,‘ हिजो दोस्रो संविधानसभाको निर्वाचन मोहन बैद्य नेतृत्वको माओवादीसहितका दलहरुले बहिस्कार गर्दा पनि सफलतापूर्वक सम्पन्न भएको हो । अहिले पनि एकाधले बहिस्कार गर्दैमा निर्वाचन रोकिदैन । गुडेको ट्रेन छुट्यो भने छुटिहाल्छ ।’

सचिव आचार्यले संविधान जारी गर्दाको बखतमा भएको सहमति अनुसार कांग्रेस सरकारमा आएर निर्वाचन गराउनु पर्ने भन्दै सहमति अनुसार काग्रेस सरकारमा नआए केपी शर्मा ओली नेतृत्वको सरकारले नै चुनाव गराउने ठोकुवा गरे ।

उनले भने,‘ आगामि निर्वाचन प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वको सरकारले गर्छ । सहमतिको बातावरण बन्ने स्थितिमा हामी सबै विषयमा छलफल गर्न खुल्ला छौ । ’

सचिव आचार्यले गठबन्धन दलहरुकै सहमतिमा क्याविनेटले निर्वाचनको कार्यतालिका ल्याएको दावी गर्दै त्यसलाई संसदमा प्रस्तुत गरेर त्यहाँ काग्रेससहितका दलहरुसँग समेत सहमति कायम गर्न सकिने बताए ।

मधेसी मोर्चाले अघि सारेको संविधान पुर्नलेखनको माग असम्भव रहेकोले कसैले पनि पुरा गर्न नसक्ने स्पष्ट पर्दै मोर्चाले भने अनुसारकै सबै माग पुरा हुन नसक्ने ठोकुवा गरे ।

उनले भने,‘ मधेसी मोर्चाका साथीहरु अनसन छाडेर बार्तामा आउनुपर्छ । समस्या समाधान गरेर निर्वाचनमा जानु पर्छ । मोर्चाका साथीहरु निर्वाचनमा सहभागि भएर बहुमत ल्याई प्रदेशको नाम र राजधानी तोक्न लाग्नुस । तपाईहरुको ईश्यूको पक्षमा जनता छन भने तपाईहरुलाई जनताले बहुमत दिएर पठाउँछन । बार्ताबाट नभए जनताबाट बहुमत प्राप्त गरेर माग पुरा गर्नुस यो भन्दा अर्को विकल्प छैन ।’ सचिव आचार्यले पुनःसंरचना आयोगले साउन र भदौ भित्रमा आफ्नो प्रतिवेदन दिने र त्यसपछि निर्वाचन गर्न सकिने भन्दै आफू सहित भएर बनाएको संविधान कार्यान्वयनको जिम्मेवारी पुरा गर्न काग्रेसपनि लाग्नु पर्ने सुझाव दिए ।

मधेसलाई बेवास्ता गरेर चुनाव गराए, प्रतिरोध गरिन्छ : यादव

तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले संविधानमा सहमति नभएसम्म कसैले पनि चुनाव गर्न नसक्ने दावी गर्दै आफूहरुलाई बेवास्ता गरेर राज्यले चुनाव गराउन खोेजे आफूहरुले त्यसलाई रोक्ने चेतावनी दिए ।

शुक्रबार रिपोटर्स क्लबमा आयोजित अन्तरक्रियामा बोल्दै उनले राज्यले जवरजस्ती चुनाव गराउन खोजे मुलुक भयंकर दुर्घटनामा फस्ने चेतावनी दिदै त्यस अवस्थामा मुलुकको राष्ट्रियता, एकता, अखण्डता र सार्वभौमसत्ता कमजोर भएर जाने ठोकुवा गरे ।

यादवले संविधान पुर्नलेखन गरेर सबैको अपनत्व हुने गरी संविधान कार्यान्वयन गर्नुको साटो सरकारले नाटकीय रुपमा चुनावको घोषणा गरेको भन्दै दलहरुवीच सहमति नभएसम्म हुने चुनावको कुनै औचित्य नहुने र आफूहरु पनि त्यस्तो निर्वाचनमा सहभागि नहुने स्पष्ट पारे ।

उनले संघीय गठबन्धनलाई समेत बार्तामा बोलाएर आफूहरुले अगाडि सारेको सात बुँदे प्रस्ताव स्विकार गरे मात्रै बार्ता हुने स्पष्ट पार्दै सरकारले अहिलेसम्म गरेको निर्णय कार्यान्वयन गरेर आन्दोलनमा मारिएकालाई शहीद घोषणा, क्षतिपूर्ति, घाईतेको उपचार र बन्दीहरुको रिहाई गरेपछि मात्रै बार्ताको बातावरण बन्ने बताए ।

तयारी बिनै चुनवा घोषणा : शेरचन

नेकपा माओवादी केन्द्रका नेता अमिक शेरचनले चुनावको लागि राष्ट्रिय सहमति आवश्यक रहेको दावी गर्दै सरकारले कानून, नियम बनाउने लगायतका आन्तरिक तयार नगरी निर्वाचन घोषणा गरेको आरोप लगाए ।

उनले भने,‘ निर्वाचनको कार्यतालिका बन्यो तर निर्वाचनको लागि कानून, नियमावली बनाएर आन्तरिक तयारी हुन सकेको छैन । आन्तरिक तयारी गरेर घोषणा गरेको भए राम्रो हुन्थ्यो । मधेसका पनि कतिपय माग जायज छन । त्यसलाई पुरा गरेर गर्दा राम्रो हुन्छ ।’

यद्यपि शेरचनले राज्यले निर्वाचन घोषणा गरेपछि संसारमा अहिलेसम्म कतै पनि नरोकिएको उदाहारण प्रस्तुत गर्दै राज्यले चाहेमा निर्वाचन कसैले पनि रोक्न नसक्ने तर्क गरे ।

उनले आफू सधै राष्ट्रिय सहमतिको पक्षमा रहँदै आएाकेले अहिलेको अवस्थामा मुलुकको समस्या समाधान गर्न राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको दावी गर्दै शान्ति प्रक्रिया लगायतका विषयमा टुङग्याउनेसहितको कार्यतालिकामा सहमति गरेपछि जसको नेतृत्वमा सरकार बन्दा पनि फरक नपर्ने स्पष्ट पारे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप