मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

यी भट्टराई जसले बाबुराम भट्टराईलाई दिए तनाव

शुक्रबार, ०३ असार २०७३, १५ : ४३
शुक्रबार, ०३ असार २०७३

काठमाडौं– लामो समय राजनीतिमा विताएका व्यक्तिलाई धक्का दिने गरी नयाँ शक्तिमा प्रवेश गरेको एउटा बहसले उक्त पार्टीभित्र ठूलो दवाव पैदा गरेको छ । नयाँ शक्तिको राष्ट्रिय भेलाको पहिलो दिनको छलफल सत्रमा सांसद बन्नका लागि स्नातक पास गरेको हुनुपर्ने एक व्यक्तिले प्रस्ताव गरेका थिए । त्यहीँबाट शुरु भएको यो बहस अहिले नयाँ शक्तिका लागि सफाई दिनुपर्ने तहमा पुगेको छ । नयाँ शक्तिको बन्द सत्रको दोस्रो दिन एक दैनिक पत्रिकाले ‘नयाँ शक्तिबाट सांसदको उम्मेदवार हुन स्नातक तह वा सो सरहको औपचारिक शिक्षा हुनुपर्ने व्यवस्था गरिएको’ व्योहोरको समाचार प्रकाशित गरेको थियो । यस्तो समाचारपछि दोस्रो दिनको बन्दसत्रमा ठूलै तरंग पैदा भयो । समाचार आएकै विहानै नयाँ शक्तिका संयोजक डा.बाबुराम भट्टराईले सामाजिक संजालमा एउटा स्टाट्स सेयर गरे ।

नयाँ शक्तिको आधिकारीक फेसवुक पेजमा यसवारे लेखिएको थियो, ‘नयाँ शक्ति नेपालको आधिकारीक दस्तावेजहरुमा शैक्षिक योग्यतासम्बन्धी विषय उल्लेखित छैनन् । संचारमाध्यममा आएका समाचारहरु सत्य होइनन् । ‘नयाँ शक्तिको आधारतत्व’, ‘विकास र समृद्धिको मार्ग–चित्र’ र संगठनात्मक सिद्धान्त र विधान’ शीर्षकका तीन वटै दस्तावेजहरु केही दिनमा सार्वजनिक छलफलका लागि सार्वजनिक हुनेछन् ।’ बाबुरामले यो विषय स्पष्ट पार्न कोशिष गरे पनि देशभरबाट यस विषयमा चासो व्यक्त हुन छाडेन । त्यसपछि आज नयाँ शक्तिका प्रवत्ता खिमलाल देवकोटाले विज्ञप्ती नै निकालेर यसवारे पार्टीको धारणा वाहिर ल्याए । देशभरबाट नेता–कार्यकर्ताले यो विषय स्पष्ट पार्न केन्द्रमा दवाव दिएपछि प्रवत्ताको विज्ञप्ती आएको हो । ‘देश र विदेशबाट सहभागी हुनुभएका १५ सयभन्दा बढी प्रतिनिधिहरुमध्ये एकाधले प्रतिनिधिले छलफल सत्रमा सझुाव दिने क्रममा व्यक्त गरेका धारणालाई आधार मानेर नियोजित र निरन्तररुपमा यस्तो भ्रम फैल्याउने कामले हामीलाई गम्भीर बनाएको छ । लोकतन्त्रमा राजनीति गर्न औपचारिक शिक्षा हासिल गरेकै हुनुपर्छ भन्ने हुँदैन र ज्ञानलाई औपचारिक विश्वविद्यालयको परिधिमा संकुचित राख्नु हुँदैन भन्ने कुरामा नयाँ शक्ति स्पष्ट र दृढ छ ।’ देवकोटाले जारी गरेको विज्ञप्तीमा छ । नयाँ शक्तिले विज्ञप्तीमा ‘नयाँ शक्तिप्रतिको तिव्र जनआकर्षणबाट आतंकित भएर केही मानिसहरुले नियोजितरुपमा यस्तो प्रचार गरिरहेका हुँदा यस्ता अनर्गल भ्रम र सचेततापूर्वक फैल्याइएको हल्लाबाट भ्रमित नहुन यसै विज्ञप्तिमार्फत आव्हान गर्दछौं ।’ भनेको छ, ‘छलफल सत्रमा प्रस्तुत दस्तावेजको मस्यौदामा त्यस्तो कुनै प्रसंग पनि उल्लेख नभएको व्यहोरा हामीले पटक–पटक स्पष्ट पार्दै आइरहेका छौं ।’ पार्टीभित्र आफुलाई बौद्धिक ठान्ने केही व्यक्ति रहेको र उनीहरुले बेला बेला यस्ता फन्डा बाहिर ल्याउने गरेको नयाँ शक्तिका एक नेताले बताए । ‘हाम्रो जस्तो देशमा शिक्षाको विषय मात्र राजनीतिका लागि योग्यता हुँदैन । फेरि संविधानले नै व्यवस्था गर्यो भने सवै पार्टीले स्वीकार गर्छन । संविधानले व्यवस्था नगरेको कुरा एउटा पार्टीले लागू गर्न खोज्नु सम्भव नै छैन ।’ नयाँ शक्तिको केन्द्रीय सचिवालयका एक सदस्यले भने । स्नातकको विषय आएपछि करिष्मा मानन्धरको राजनीति भविष्यलाई समेत लिएर कतिपय मिडिया रिपोर्ट आएका थिए । खासमा यो बबाल मच्चाउने को हुन् ? नयाँ शक्तिभित्र स्नातकको यो बबाल मच्चाउने व्यक्ति निर्मल भट्टराई हुन् । उनी अहिले नयाँ शक्तिको प्रचार विभागमा छन् । उनको राजनीतिक पृष्ठभूमि पनि रोचक छ । पहिलो संविधानसभाको चुनाव अगाडि उनी एमालेमा थिए । झलनाथ खनालको स्वकीय सचिव भएर काम गरेका थिए । पहिलो संविधानसभापछि उनी माओवादी प्रवेश गरेका थिए । पछिल्लो पटक उनी केही महिना अगाडि बाबुरामको नयाँ शक्तिमा प्रवेश गरेका थिए । सांसद् बन्नका लागि स्नातक पास भएको हुनुपर्नेविषय बन्द सत्रमा उठाएपछि यो विषय छलफलमा आएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप