मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

२७ जना नक्कली डाक्टर सिआईबीको फन्दामा !

शुक्रबार, ०३ असार २०७३, १९ : ३५
शुक्रबार, ०३ असार २०७३
काठमाडौं–नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ‘सिआइबीले’ देशभर अपरेशन सञ्चालन गरेर २७ भन्दा बढी डाक्टरहरुलाई हत्कडी लगाएको छ । ०७२ माघदेखि मेडिकल काउन्सिल, उच्चमाध्यमिक शिक्षा परिषद् र केन्द्रिय अनुसन्धान ब्युरोले संयुक्त रुपमा शुरु गरेको अपरेशन क्वाक अन्तर्गत शुक्रबार ठूलो संख्यामा डाक्टरहरु पक्राउ परेका हुन् । रातोपाटीलाई प्राप्त सुचना अनुसार पक्राउ परेका नक्कली डाक्टरहरुको संख्या अझै बढ्न सक्छ । यद्यपी प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले कती डाक्टर पक्राउ परेका हुन भन्नेबारे औपचारिक पुष्टि गरेको छैन् । शुक्रवार साँझसम्म ५० जना डाक्टर समात्ने सिआईबीको टार्गेट थियो । पछिल्लो समय सिआईबीले दुई सयजना डाक्टरमाथि निगरानी बढाएर अपरेशन क्वाक जारी राखेको थियो । स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा नक्कली सर्टिफिकेट पेश गरेर जागिर खानेको संख्या बढेपछि केन्द्रिय अुनसन्धान ब्युरोले त्यस्ता डाक्टरको विरुद्ध गहन अनुसन्धान अगाडी बढाउँदै आएको थियो । शुक्रबार पक्राउ परेकामध्ये धेरै डाक्टरहरु तराई क्षेत्रबाट समातिएको सिआईबी स्रोतले जनाएको छ । नक्कली सर्टिफिकेट धारी डाक्टर समात्न सिआईबीले शुक्रबार देशभर विशेष टोली परिचालन गरेको बताईएको छ । वीरगञ्जका चिकित्सक हड्तालमा उत्रिए ! नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले वीरगञ्जबाट ९ जना डाक्टरलाई पक्राउ गरेको विरोधमा वीरगन्जका सरकारी तथा नीजी अस्पतालमा कार्यरत चिकित्सकहरु हड्तालमा उत्रिएका छन् । नेपाल चिकित्सक संघ पर्साको आह्वानमा वीरगन्जका सरकारी तथा नीजी अस्पताल, नर्सिङ होम र क्लिनिकका डाक्टरहरु काम ठप्प पारेर आन्दोलनमा उत्रिएका हुन् । नारायणी उपक्षेत्रीय अस्पताल र नेशनल मेडिकल कलेजको आकमस्मिक उपचार कक्ष बाहेक अरु सबै शाखामा कार्यरत चिकित्सकका साथै निजी अस्पताल, नर्सिङ होम, क्लिनिकका चिकित्सकहरु काम ठप्प पारेर हड्तालमा उत्रिएका हुन् । डाक्टरहरु काम नै ठप्प पारेर हड्तालमा उत्रिएका कारण विरामी र सेवाग्राीहरु मर्कामा परेका छन् । काठमाडौंबाट सिआईबीका डिएसपी फिरोज बस्नेतको नेतृत्वमा गएको टोलीले पर्सा प्रहरीको सहयोगमा ९ जना चिकित्सकहरुलाई उनीहरु कार्यरत अस्पताल र क्लिनिकबाटै शुक्रबार बिहान १० बजे पक्राउ गरेको थियो । मेडिकल शिक्षा एमबीबीएस पढ्दा आइएससीको नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोपमा सिआईबीले उनीहरुलाई पक्रेर लगेको जिल्ला प्रहरी कार्यालय पर्सा स्रोतले जनाएको छ । पक्राउ पर्नेहरुमा नारायणी उपक्षेत्रीय अस्पतालमा कार्यरत डाक्टर सरोज सिंह, डाक्टर कुशराज गिरी र डाक्टर पन्नालाल पटेल, नेशनल मेडिकल कलेजमा कार्यरत डाक्टर मोहम्मद रहुल्ला खान, डाक्टर निमिष पाल राम, डाक्टर राम कुमार प्रधान, डाक्टर इश्रादुल हक तथा डाक्टर दिनेश साह र डाक्टर अरुण कुमार गुप्ता रहेका छन् । पक्राउ परेकाहरुलाई काडमाडौं ल्याईएको छ । डाक्टरहरु पक्राउ परेको विरोधमा हड्तालमा उत्रिएका चिकित्सकहरुले अस्पतालको अप्रेशन थियटर, आकस्मिक कक्ष र क्लिनिकमा बिरामीहरुको उपचार गरिरहेकै अवस्थामा डाक्टरहरलाई सिआईबीको टोलीले अपहरणकारीको शैलीमा पक्रेको आरोप लगाएका छन् । नेपाल चिकित्सक संघ पर्साका निवर्तमान अध्यक्ष डाक्टर रबिन्द्र सिंहले प्रहरीले गुण्डागर्दी शैलीमा चिकित्सकहरुलाई अस्पताल परिसरबाटै पक्रेर लगेकाले विरोध गरिएको बताए । चितवनबाट ३ जना पक्राउ नक्कली शैक्षिक प्रमाणपत्रको भरमा काम गर्दै अएका ३ जना चिकित्सकलाई सिआईबीले चितवनबाट पक्राउ गरेको छ । चितवनबाट पक्राउ पर्नेहरुमा डा. रजनी अग्रवाल, डा. सुनिल आचार्य र डा. राजन पुरी रहेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो र जिल्ला प्रहरी कार्यालयको संयुक्त अनुगमन टोलीले अग्रवाल र आचार्यलाई भरतपुर–१० मा रहेको प्रगति पोलिक्लिनिकबाट र पुरीलाई गोर्खाको पालुङ्टारमा सञ्चालित शिविरबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए । विराटनगरबाट ३ जना समातिए नक्कली सर्टिफिकेटधारी ३ जना डाक्टर विराटनगरबाट समातिएका छन् । पक्राउ पर्नेमा विराटनगर–६ स्थित लाइफ गार्ड अस्पतालका वरिष्ठ चिकित्सकको रुपमा काम गर्ने डा. जावेदअख्तर अन्सारी, कोसी अञ्चल अस्पतालमा कार्यरत डा. सञ्जय दास र ट्रमा सेन्टर विराटनगरमा कार्यरत डा। अब्दुल कलाम हक रहेका छन् । मोरङका प्रहरी प्रमुख सन्दीप भण्डारीले विराटनगरका तीन जना चिकित्सकलाई पक्राउ गरिएको पुष्टि गर्दै भने, ‘सिआईबीको विशेष टोलीले उनीहरुलाई अस्पतालबाट पक्राउ गरेको हो ।’ (जिल्ला ब्युरोको सहयोगमा)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप