मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

यसो भन्छन् एसएलसीमा उत्कृष्ट ठानिएकाहरु ?

शुक्रबार, ०३ असार २०७३, १९ : ५८
शुक्रबार, ०३ असार २०७३

काठमाडौँ–दायाँ हातमा काम्रो बाँधेर परीक्षा दिएका कोटेश्वर निवासी सौरभ पोखरेलको नतिजा कस्तो होला भनेर अभिभावकलाई चिन्ता हुनु स्वाभाविक थियो । बिहीबार सार्वजनिक २०७२ सालको एसएलसी परीक्षामा पोखरेलले ‘ए प्लस’ श्रेणीमा ३ दशमलव ९ स्तरीकृत ग्रेड ल्याएपछि अभिभावकमा खुसी छायो ।

मीनभवनस्थित भिएस निकेतनमा शिशु कक्षादेखि पढेका सौरभ यसअघिका परीक्षामा पनि उत्कृष्ट हुँदै आएका थिए । उनले गत टेस्ट परीक्षामा ९४ प्रतिशत ल्याएका थिए ।

कुल ४ ग्रेडलाई उच्चतम ग्रेडलाई एक सयले गुणा गरी चारले भाग गर्दा सौरभले पाएको कुल प्रतिशत ९७ दशमलव ५ हुन्छ ।

विगतका वर्षमा त्यति प्रतिशत ल्याउने विद्यार्थी मेधावी वा उत्कृष्ट घोषित हुन्थे । यसपटक अक्षराङ्कन प्रणालीमा सुरु भएको परीक्षाले विद्यार्थी र अभिभावकमा परिणाम बुझ्न र बुझाउन अन्योल उत्पन्न भए पनि निजी विद्यालयले ग्रेडलाई प्रतिशतमा निकाल्दै प्रचार पनि गरेका छन् ।

स्थायी घर धनुषाको बेगाडाबर रहेका सौरभका आमा मञ्जु पोखरेलले भने – ‘‘परीक्षा हुनु चार दिनअघि लडेर हात भाँच्चिएको थियो, सहयोगी राखेर लेखाउँदा पनि राम्रो नतिजा ल्यायो । हामी खुसी छौँ ।’’ उनका बुबा गोविन्द पोखरेल वीर अस्पतालमा प्राविधिक छन् ।

मध्यबानेश्वरस्थितको रत्नराज्यलक्ष्मी उमाविमा परीक्षा केन्द्रमा ० २९९२०० ‘आर’ सिम्बोल नम्बरका साथ परीक्षा दिएका उनलाई जोसेफ हाइस्कुल, जोरपाटीका कक्षा ९ का स्वतभ आचार्यले सहयोगी भई परीक्षामा लेख्न सघाएका थिए ।

भिएस निकेतनका संस्थापक प्रिन्सिपल डा बाबुराम पोखरेल सौरभको नतिजाबाट विद्यालयमा पनि उत्साह छाएको बताए । त्यसो त, सो विद्यालय धेरैपटक उत्कृष्टमा आइसकेको छ ।

सौरभ स्वयम्लाई चाँहि यो नजिताले आश्चर्य दिएको छैन, किनकी उनले त्यति आउने अपेक्षा गरेका थिए । अब उनी व्यवस्थापन पढ्ने लक्ष्यका साथ अघि बढेका छन् ।

कपनस्थित जोसेफ स्कुलकी प्रिया धितालले ३ दशमलव ९ ग्रेड पोइन्ट ल्याएकी छिन् । विद्यालयका प्रिन्सिपल सूर्यबहादुर अधिकारीले छात्रातर्फ धितालको सो ग्रेड सर्वोत्कृष्ट हुन सक्ने दाबी गरे ।

भक्तपुरस्थित मोडर्न आवासीय विद्यालयका आकाश दाहाल र सारिका खड्काले पनि ३ दशमलव ९५ ग्रेड पोइन्ट ल्याएपछि सो जिल्लामा उनीहरु उत्कृष्ट भएको मानिएको छ ।

स्तरीकृत अङ्क ३ दशमलव ८० ल्याउने मालीगाउँस्थित अनमोल ज्योति माविका गरिमा आचार्य सिम्बोल नम्बर ०३१०२५४ ‘भि’ चाहिँ विज्ञान पढ्ने धोकोमा छिन् । यसलाई प्रतिशतमा निकाल्दा ९५ हुन्छ । रेडियो नेपालका पत्रकार भुवन आचार्यका छोरी गरिमालाई त्यो भेगकै विद्यालयमध्येकी प्रथम मानेर सम्मानित गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप