मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

साना सहरीले धारा जडान गर्न उपभोक्तालाई ऋण दिने

शनिबार, ०४ असार २०७३, ११ : ०४
शनिबार, ०४ असार २०७३

गोरखा– गोरखा सदरमुकाममा खानेपानी वितरण गर्दै आएको पृथ्वीनारायण साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले गरिब जनताको घरमा धारा जडान गर्न ऋण सहयोग दिने भएको छ ।

आर्थिक अवस्था कमजोर भएका सीमान्तकृत, दलित एवम् जनजातिलाई धारा जडानमा ५० प्रतिशत छुट दिइने भएको हो ।

यस्तै ५० प्रतिशत शुल्क तिर्न नसक्ने जनतालाई ७५ प्रतिशत छुट गर्ने व्यवस्था मिलाइएको संस्थाका अध्यक्ष विनोदबाबु अर्यालले बताए । उनले भने – ‘पैसाको अभावले घरमा धारा जडान गर्न नसक्ने जनतालाई मासिक सात प्रतिशत ब्याज लिने गरी ऋण दिन्छौँ ।” संस्थाले उपलब्ध गराएको ऋण लिएर एक जना उपभोक्ताले घरमा धारा जोडेका छन् । सामूहिक धारा जडान गर्न चाहेमा पनि ऋण दिनसक्ने उनले बताए ।

संस्थाले प्रतियुनिट पानीको महसुल बढाएको छ । छ युनिट पानी प्रयोग गर्दा रु ३०० र ७ देखि १० युनिटसम्म प्रयोग गर्दा रु ४५० महसुल तिर्नुपर्ने भएको छ । संस्थाले यसअघिभन्दा मासिक प्रतियुनिट ८० पैसाका दरले महसुलमा वृद्धि गरेको जनाएको छ । नगर विकास कोषबाट लिएको रु दुई करोड ६० लाख ऋण तिर्न हम्मेहम्मे परेको अर्यालले बताए । उपभोक्ताबाट पानीको महसुलबापत मासिक रु पाँच लाख सङ्कलन भए पनि विद्युत्को महसुल तिर्न मासिक रु चार लाख खर्च हुन्छ । संस्थाका नौ जना कर्मचारीलाई तलब खुवाउन मासिक रु एक लाखले नपुग्दा समस्या भएको छ । नियमित मर्मतको काम गर्दा मासिक रु ८० हजार खर्च हुँदै आएकाले आर्थिक अभाव हुँदाहुँदै पनि धारा जडान गर्न ऋण दिने व्यवस्था मिलाइएको अध्यक्ष अर्यालको भनाइ छ ।

संस्थाले वितरण भइआएको पानी शुद्ध र पिउनयोग्य रहेको दाबी गरेको छ । ढाक्रेखोला र छाङखोलाको पानी रफेनिङ फिल्टरले शुद्ध पारिएकाले प्राविधिक प्रतिवेदन हेर्दा पानी पिउँदा असर नगर्ने पाइएको सचिव पूर्णमाया वन्तको भनाइ छ । दैनिक एक हजार ८५० युनिट पानी आवश्यकता भए पनि संस्थाले मागअनुसार पानी वितरण सकेको छैन । पानीको समस्या हटाउन दरौँदीको पानी लिफ्टिङ गर्नुको विकल्प नहुने सरोकारवालाको तर्क छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप