मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

एलडिओ प्रकरणले जिविसका कामकाज ठप्प, काँग्रेसद्वारा सरुवा माग

शनिबार, ०४ असार २०७३, ११ : ४४
शनिबार, ०४ असार २०७३

डोटी – नेपाली काँग्रेस डोटीले जिल्ला विकास समितिका स्थानीय विकास अधिकारी वासुदेव रेग्मीको सरुवाको माग गरेको छ ।

शुक्रबार साँझ एक पत्रकार सम्मेलन गरी काँग्रेस डोटीले स्थानीय विकास अधिकारी रेग्मीको सरुवाको माग गरेको सार्वजनिक गरेको हो ।

स्थानीय विकास अधिकारी रेग्मीमाथि जेठ ३२ गते राति ८ः३० बजे कार्यालय समयभन्दा बाहिर गई योजना सम्झौता गरेको र कुनै पनि राजनीतिक दलको जानकारी बिना खतिवडा गाविस सचिव गौरीदत्त जोशीलाई धम्काएर सिफारिस गराई उपभोक्ता समिति गठन गरेको आरोप काँग्रेसले लगाएको छ ।

दीपायलदेखि खतिवडा जोड्ने सडकको मापदण्ड विपरीत उपभोक्ता समिति गठन भएको र अघिल्लो वर्ष प्राथमिकतामा पर्ने भनी सिफारिस गराइएको सडक स्थानीय विकास अधिकारीको लापर्बाहीले ओझेलमा परेको खतिवडाका बासिन्दाको आरोप छ । गाउँमा सडक मर्मतका निम्ति रकम विनियोजित नहुँदा स्थानीय जनता आक्रोशित भएका छन् ।

स्थानीय विकास अधिकारी रेग्मीले साउनदेखि सडक मर्मतको काम थाल्ने गरी अख्तियारी दिने भनिए तापनि विवादका कारण समस्या समाधान हुन सकेको छैन ।

विवादले चर्को रुप लिन थालेपछि यो मामिलालाई सल्टाउन काँग्रेसले सबैमा अपिल गरेको छ । स्थानीय विकास अधिकारीले गरेको गलत कामप्रति सबैको ध्यानाकर्षण भएको र उनको सरुवाका निम्ति प्रक्रिया अगाडि बढाउन पहल भइसकेको काँग्रेसका डोटी जिल्ला सभापति प्रदीप देउवाले बताए । “कानुनी राज्यको उपहास गर्न खोज्ने एलडीओलाई माफी गर्न सकिँदैन,” देउवाले भने । करिब तीन महिनायता जिविसमा हुने गरेको किचलोका कारण स्थानीय मर्कामा परेका छन् । असार मसान्त लाग्नै लाग्दा योजना सम्पन्न गरेका उपभोक्ता समितिका पदाधिकारी सदरमुकाम सिलगढी पुग्दै रित्तै हात फर्किने गरेका छन् । काम सकिएका तथा आरम्भ गरिएका योजनामा समेत रकम निकासीमा उपभोक्ताले मर्का खेप्दै आएका छन् ।

मान्नाकापडी गाविसअन्तर्गत पर्ने खड्यौली जुनीचौतारा सडकखण्डको काम सकिनै लाग्दा भुक्तानी लिन आएका उपभोक्ता समिति अध्यक्ष खडकबहादुर चन्द एक हप्तादेखि सदरमुकाममै छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप