मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

उपत्यकामा एक हप्तापछि भूकम्पपछिको लगत सङ्कलन

शनिबार, ०४ असार २०७३, १३ : ३६
शनिबार, ०४ असार २०७३

काठमाडौँ–काठमाडौँ उपत्यकामा भूकम्पपछिको लगत सङ्कलन सुरु गर्न अझै एक हप्ता लाग्ने भएको छ ।

यही असार १ गतेदेखि लगत सङ्कलन सुरु गर्ने भनिए पनि बजेटको अभावमा सुरु गर्न नसकिएको केन्द्रीय तथ्याङ्क विभागका निर्देशक ढुण्डीराज लामिछानेले जानकारी दिए ।

यसअघि विभागले गत जेठ दोस्रो सातादेखि नै लगत सङ्कलन सुरु हुने बताएको थियो । अति प्रभावित १४ जिल्लामध्ये ११ मा लगत सङ्कलन सम्पन्न भए पनि काठमाडौँ, ललितपुर र भक्तपुरमा अझै सुरु नहुँदा यहाँका भूकम्पपीडितले वर्षा अगावै आवास निर्माणका लागि अनुदान नपाउने भएका छन् ।

भूकम्पबाट घर पूर्ण रुपमा क्षति भएका घरधनीले विभागको लगत सङ्कलनपछि मात्र रु दुई लाख अनुदान किस्ताबन्दीमा पाउने व्यवस्था छ । “विश्व बैँकले लगत सङ्कलनका लागि सहयोग गर्ने वचन दिएकाले एक हप्तापछि सुरु हुनेछ, लगत सङ्कलनमा संलग्न हुने इन्जिनियर र सामाजिक परिचालकलाई तालिम दिने तयारीमा छौँ, भूकम्पका समयमा गृह मन्त्रालयले सङ्कलन गरेको लगत पनि मगाइरहेका छौँ, उपत्यकाका १५ वटा नगरपालिकाको प्राप्त भएको छ, सात वटा प्राप्त हुन बाँकी छ”–उनले भने ।

काठमाडौँमा एक महानगरपालिका, १० नगरपालिका, भक्तपुरमा छ नगरपालिका, ललितपुरमा एक उपमहानगरपालिका, चार नगरपालिका र १९ गाविस छन् । उपत्यकामा लगत सङ्कलन सुरु भएको एक महिनामा काम सम्पन्न हुने विभागले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप