मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

एक साथ पाँच घोषणा

आइतबार, ०५ असार २०७३, ११ : ०८
आइतबार, ०५ असार २०७३

तेह्रथुम – जलजले गाउँ विकास समिति जिल्लाकै पहिलो विद्यालय भर्ना सुनिश्चित, साक्षर र बालमैत्री स्थानीय शासन युक्त गाविस तथा घरभित्रको धुँवा मुक्त र पुर्ण खोप सुनिश्चित गाविस घोषणा भएको छ । गाविसका सबै बालबालिकालाई विद्यालय भर्ना भएको, सबै साक्षर भएको, स्थानीय शासन प्रणाली बाल मैत्री बन्दै गएको, सबै घरधुरीमा धुँवारहित सुधारिएको चुलो निर्माण र सबै बालबालिकाले सबै प्रकारका खोप पाएको लगायतका विभिन्न सुचकहरुका आधारमा गाविसलाई एकसाथ विभिन्न पाँच वटा घोषणा गरिएको हो । शुक्रबार गाविसको प्राङ्गणमा आयोजित एक कार्यक्रमका बीच प्रमुख जिल्ला अधिकारी मुनका न्यौपानेले गाविसलाई जिल्लाकै पहिलो विद्यालय भर्ना सुनिश्चित, साक्षर र बाल मैत्री स्थानीय शासनयुक्त तथा घर भित्रको धुँवा मुक्त र पुर्ण खोप सुनिश्चित गाविस घोषणा गरेकी हुन् । प्रजिअ न्यौपानेले घोषणा गर्नु भन्दा त्यसको व्यवहारिक कार्यान्वयन गर्नु महत्वपुर्ण भएको बताउँदै त्यसतर्फ ध्यानाकर्षण गर्न आग्रह गरिन् । स्थानीय विकास अधिकारी प्रल्हादकुमार कार्कीले जलजले गाविसले जिल्लामै पहिलो पुर्ण साक्षर, बालमैत्री स्थानीय शासन युक्त र विद्यालय भर्ना सुनिश्चित गाविस घोषणा भएकोमा स्थानीयबासीको सक्रियताको प्रशंशा गरे । उनले यी लगायत अन्य राष्टिय अभियानमा स्थानीयबासीको संक्रिय संलग्नताले सामाजिक दृष्टिले समृद्ध भएको आभाष हुने बताए । कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले घोषणा गर्नुमात्रै ठुलो कुरा नभई कार्यान्वयन गरिनु नै महत्वपुर्ण भएकोमो जोड दिएका थिए । कार्यक्रममा जिशिअ खडानन्द पराजुली, एमाले उपाध्यक्ष सन्जय तुम्बाहाम्फे, पत्रकार महासंघका जिल्ला अध्यक्ष उद्धव तिम्सीना, गाविस सचिव हक हित केन्द्रका अध्यक्ष दुर्गाप्रसाद भण्डारी र देउराली सोसाइटीका उपाध्यक्ष मोहन भण्डारीले गाविस जिल्लाकै पहिलो पुर्ण साक्षर र बालमैत्री गाविस भएको विशेष शुभकामना राखे । जिल्लालाई सन् २०१७ भित्र पुर्ण साक्षर, बालमैत्री स्थानीय शासन युक्त र घरभित्रको धुँवा मुक्त बनाउने अभियान अन्तर्गत गाविसलाई घोषणा गर्ने अभियान चलिरहेको छ । जसअन्तर्गत जलजले गाविसका ७ सय १९ घरधुरीका सबै नागरिक साक्षर मध्ये ९८ प्रतिशत साक्षर भएपछि गाविसलाई पुर्ण साक्षर गाविस घोषणा गरिएको गाविस सचिव लक्ष्मण बस्ताकोटीले जानकारी दिए । यस्तै गाविसका सबै घरधुरीमा सुधारिएको चुलो निर्माण गरी घरभित्रको धुँवा मुक्त तथा गाविसमा रहेका ५ वर्ष मुनिका विद्यालय भर्ना हुने उमेरका बालबालिकालाई विद्यालय भर्ना गरी विद्यालय भर्ना सुनिश्चित गाविस घोषणा गरिएको हो । यस्तै खोप दिने उमेरका ६१ जना बालबालिकालाई सबै प्रकारका खोप दिई पुर्ण खोप सुनिश्चित गाविस बनाइएको सचिव बस्ताकोटीले बताए । गाविस क्षेत्रमा रहेका बालबालिकाहरुले घर, विद्यालय, समुदाय र स्थानीय स्तरका सरकारी निकायमा बाल मैत्री शासन प्रणालीको सुरुवात भएकोमा गाविसलाई नै बालमैत्री घोषणा गरिएको हो । बालमैत्री घोषणाकालागि आवश्यक सबै सूचकहरु समेत पुरा गरी बालमैत्री घोषणा गरिएको उनले बताए । यसअघि जिल्लाका कुनैपनि गाविस तथा नगरपालिका बालमैत्री, पुर्ण साक्षर र विद्यालय भर्ना सुनिश्चित छैनन् । गत पौषमै खुला दिशामुक्त बनेको जिल्लाका ७ गाविस यसअघि नै घरभित्रको धुँवामुक्त भइसकेका छन् । जलजले आठौँ घरभित्रको धुँवामुक्त गाविस रहेको जिविस उर्जा बातावरण अधिकृत मनोजकुमार चौधरीले जनाए । यसवर्ष जिल्लाका फुलेक, खाम्लालुङ्ग र दाँगपा गाविसलाई धुँवामुक्त घोषणा गरिसक्ने तयारी रहेको उनले बताए । जिल्लामा २ नगरपालिका र २१ गाविस रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप