मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

तमलोपाको महाधिवेशन तयारी अन्तिम चरणमा, पदाधिकारी दावी गर्नेहरुको भीड

आइतबार, ०५ असार २०७३, १२ : ०२
आइतबार, ०५ असार २०७३

नवलपरासी – तराई मधेश लोकतान्त्रिक पार्टीको महाधिवेशन तयारी अन्तिम चरणमा पुगेको छ । सोमबार १ बजे नवलपरासीको रामग्रामस्थित आदर्श माविमा महाधिवेशनको उद्घाटन हुने कार्यक्रम रहेको छ । यस्तै बन्दसत्र त्यही हुने बताइएको छ ।

कार्यक्रममा सहभागि हुन आएका अतिथिका लागि यहाँका रामग्राम गेष्ट हाउस, श्रीश्याम होटल लगायत स्थानीय गेस्ट हाउसहरुमा बासको व्यवस्था गरिएको छ ।

महाधिवेशनका लागि एक हजार महाधिवेशन प्रतिनिधि रहेका छन् भने चारसय पर्यवेक्षक रहने पार्टीले जनाएको छ । महाधिवेशनका लागि चीन, म्यानमार, भारत, बंगलादेश, युरोपियन युनियनका देशहरुबाट अतिथिहरु आउने भएका छन् ।

पदाधिकारीमा दावी महाधिवेशनसँगै पार्टीको अध्यक्ष, उपाध्यक्ष, महामन्त्री, सहमहामन्त्री, कोषाध्यक्षलगयतका पदमा दावी गर्नेहरुको लाइन लागेको छ । तमलोपा नेता ह्रदयश त्रिपाठीले सबै पदमा सर्वसम्मति गर्ने तयारी भइरहेको र यदि सम्भव नभए अध्यक्ष बाहेक अरु सबै पदको चुनाव हुने बताए । हालसम्म अध्यक्षका लागि महन्थ ठाकुरबाहेक अरु कोही उम्मेदवार नरहेको जानकारी उनले दिए । यद्यपी गोबिन्द चौधरीले आफू पनि अध्यक्षको दाबेदार भएको र बिरालोको घाँटीमा आफूले नै घण्टी बाँध्ने बताए ।

पदाधिकारीका लागि नेताहरुले आआफ्ना दावी गरिरहेका छन् । ७ गते हुने बन्द सत्रमा सहमति नभए मात्र आधिकारीक उम्मेदवारी दिइनेछ । पार्टीका एक वरिष्ठ नेताले रातोपाटीलाई दिएको जानकारी अनुसार चौधरीको दाबेदारी रहेपनि अध्यक्ष महन्थ ठाकुर नै हुने सम्भावना बलियो छ । स्रोतका अनुसार चौधरीले अध्यक्ष दाबेदारी गरेपनि महाधिवेशनस्थलमा उनको चर्चा उपाध्यक्षमा रहेको छ । यस्तै उपाध्यक्षमा ह्रदयस त्रिपाठी, सर्वेन्द्रनाथ शुक्ला, बृषेशचन्द्र लाल, बीपी यादवले पनि दाबेदारी प्रस्तुत गरेका छन् । जब कि उपाध्यक्षमा तीन सीट मात्र रहेको छ । त्यसमध्ये वरिष्ठ उपाध्यक्ष र एक उपाध्यक्षको मात्र चुनाव हुने तथा एउटाको मनोनित हुने स्रोतले जनाएको छ । महामन्त्रीमा जितेन्द्र सोनल, उमाकन्त झा, जंगीलाल राय यादव, समिम अन्सारी, बृजेश गुप्ता, इश्वर दयाल मिश्र, पुष्पा ठाकुरको दावी रहेको छ । महामन्त्रीमा तीन सीट रहेका छन् । यसमा एकजना मनोनित हुने पनि चर्चा चलेको छ । त्यस्तै कोषाध्यक्षमा कविन्द्र ठाकुर, महाजन यादव, अनिता यादव, जयप्रकाश ठाकुरको हालसम्म दावी रहेको देखिन्छ । कोषाध्यक्षमा एक सीट मात्र रहेको छ । कोषाध्यक्षको चुनाव हुन्छ भने सहकोषाध्यक्ष मनोनित हुने बताइएको छ । सह–महामन्त्रीमा डा.विजय सिह, जितेन्द्र सिह, कृष्णा सिह, रिता झा, चन्दा चौधरी, राकेश मिश्र, सुरेन्द्र झा, गणेश नेपाली, केदार चौधरीको दावी देखिएको छ । सहमहामन्त्रीको तीन सीट रहेको छ । एकजना मनोनित हुने बताइएको छ । महाधिवेशनपछि हार्डलाइनर तमलोपाका नेता सुरेश मण्डलले महाधिवेशनपछि तमलोपा मधेशको हकमा हार्डलाइनरको रुपमा आउने दाबी गरे । मधेशको असली पार्टीको रुपमा एउटा तमलोपा मात्र रहने बताउँदै उनले मधेशका अन्य दलहरु विचारको हिसाबले स्खलित भएको दाबी गरे ।

उनले महाधिवेशनपछि पार्टी समावेशीको पक्षमा फड्को मार्ने दावी गर्दै पार्टीमाथि लाग्दै आएको जतियताको आरोप महाधिवेशनपछि आफै हराउने बताए । आफूलगायत अन्य युवा नेताहरु पार्टीलाई पूर्ण समावेशी कसरी बनाउने भनि लागि परेको उल्लेख गर्दै उनले भने, ‘पार्टीमा पदभन्दा नीति प्रधान हो र महाधिवेशनबाट त्यो स्पष्ट हुन्छ । समावेशी तमलोपा बनाउन महाधिवशेनको मुख्य उद्देश्य हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप