मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

९ महिनापछि संसद् नियमावली पारित, संसदीय सुनवाइ समिति १५ सदस्यीय हुने

आइतबार, ०५ असार २०७३, १६ : ४८
आइतबार, ०५ असार २०७३

काठमाडौँ– अन्ततः संसदीय सुनवाइ समिति १५ सदस्यीय हुनेभएको छ ।व्यवस्थापिका–संसद्को आजको बैठकको व्यवस्थापिका–संसद् नियमावली, २०७३ को मस्यौदालाई ध्वनिमतले संविधान जारी भएको नौ महिनापछि पारित गरेपछि सो सुनुवाइ समिति १५ सदस्यीय हुने भएको हो ।

बैठकमा व्यवस्थापिका –संसद्को नियमावली मस्यौदा समितिका सभापति राधेश्याम अधिकारीले व्यवस्थापिका–संसद् नियमावली, २०७३ को मस्यौदा प्रतिवेदन गरियोस् भन्ने प्रस्ताव बैठकमा प्रस्तुत गरेका थिए । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले पुरानै संरचना अुनसार समिति ७५ सदस्यीय हुनुपर्ने तथा सत्तारुढ दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रले नयाँ संविधान अनुरुप १५ सदस्यीय हुनुपर्ने अडान राख्दै आएका थिए । काँग्रेसले मस्यौदा प्रतिवेदन नियम १८४ को उपनियम २ बुँदालाई फिर्ता लिएपछि संसदीय समिति सानो आकारको बन्न लागेको हो । प्रमुख प्रतिपक्षी दलका आनन्दप्रसाद ढुङ्गानाले सो प्रतिवेदनको नियम १८४ को उपनियम २ लाई फिर्ता लिने जानकारी सदनलाई गराएका थिए । उनले सोही प्रतिवेदनको नियम १८५ को उपनियम ५ फिर्ता नलिने जानकारी गराएका थिए । सो संशोधनलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको थियो ।

यसैगरी बैठकले नेकपा एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले प्रस्तुत गरेको प्रतिवेदनको नियम १८४ को उपनियम २ संशोधनलाई बहुमतले स्वीकृत गरेको छ ।यसैगरी बैठकमा हरिचरण साह र रामकुमार राईले राखेको संशोधन प्रस्तावलाई बहुमतले अस्वीकृत गरेको थियो । सदनको बैठकले नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल र अनुराधा थापा मगरले मस्यौदा प्रतिवेदन संशोधनको प्रस्तावलाई बहुमतले अस्वीकार गरेको थियो ।

व्यवस्थापिका संसद् नियमावली मस्यौदा समिति बनाउने निर्णय विसं २०७२ असोज २५ गते भएको थियो । यसअघि बैठकमा नियमावली मस्यौदा समितिका सभापति अधिकारीले मस्यौदा प्रतिवेदनमाथि दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । सो छलफलमा प्रमुख प्रतिपक्षी दलका ढुङ्गाना, नेकपा एमालेका ढकाल तथा नेमकिपाका प्रेम सुवाल र राधा थापामगर तथा सांसद साह र राईले भाग लिएका थिए । मस्यौदा प्रतिवेदन पारित सम्बन्धमा सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दलका बीच हुन्छ र हुँदैन भन्ने विषयमा अन्योल भएपछि सभामुख ओनसरी घर्तीले सदनको बैठक आधा घन्टाका लागि स्थगन समेत गरेकी थिइन्  ।

समितिमा को को छन्

सो समितिमा सदस्यमा अनिताकुमारी परियार, अष्टलक्ष्मी शाक्य, आनन्दप्रसाद ढुङ्गाना, कुलबहादुर गुरुङ, गणेशमान गुरुङ, चीनकाजी श्रेष्ठ, चित्रलेखा यादव, धर्मनाथप्रसाद साह, डा प्रकाशशरण महत, बालकृष्ण खाँड, भानुभक्त ढकाल, योगेन्द्र चौधरी, हितराज पाण्डे, सयेन्द्र वान्तवा रहेका छन् । एक जना पछि मनोनयन गरिने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप