मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

रोजगार सूचना केन्द्र पुनःस्थापनाको माग

आइतबार, ०५ असार २०७३, १६ : ५०
आइतबार, ०५ असार २०७३
काठमाडौँ- सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालले जिल्ला प्रशासन कार्यलय धादिङको परिसरमा स्थापित सुरक्षित वैदेशिक रोजगार सूचना केन्द्र बन्द भएकोमा ध्यानाकर्षण भएको जनाएको छ । सञ्जालका महासचिव अशोक रानाले आज विज्ञप्ति जारी गर्दै वैदेशिक रोजगारमा जाने नेपाली कामदारले पाउने सूचनाको हक सुनिश्चित् गर्नका लागि महत्वपूर्ण भूमिका खेलेको उक्त सूचना केन्द्र कुनै पनि बहानामा बन्द नगर्न आग्रह गर्नुभएको छ । उक्त सूचना केन्द्र नेपाल सरकार श्रम तथा रोजगार मन्त्रालयको आफ्नै परियोजनामार्फत सञ्चालन भएको र जिप्रका धादिङले समेत सूचना केन्द्र स्थापना गरी आवश्यक सूचना तथा परामर्श कार्य गर्नका लागि अनुमति दिएको सञ्जालले जनाएको छ । वैदेशिक रोजगारमा जाने कामदारलाई राहदानीको फारम भर्न सहयोग गर्ने, परामर्श दिने र गन्तव्य मुलुकमा समस्यामा परेका प्रवासी कामदार र उनीहरुका परिवारलाई समेत आवश्यक सहयोग र सूचना प्रदान गर्ने उद्देश्यका साथ सो केन्द्र स्थापना भएको थियो । प्रत्यक्ष सेवा पाइरहेको सन्दर्भमा कुनै विकल्प बिना नै सूचना केन्द्र बन्द गरिनुले वैदेशिक रोजगारमा जाने नेपाली कामदारको सूचना पाउने हक खोसिएकाले यसको यथाशीघ्र सञ्चालन गर्नका लागि सञ्जालले नेपाल सरकार तथा सम्बन्धित निकायसित माग गरेको छ । सञ्जालमा वैदेशिक रोजगारको क्षेत्रमा क्रियाशील १९ सङ्घ संस्था आवद्ध छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप