मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

उपल्लो डोल्पामा बढ्दो सुरक्षा चुनौती

आइतबार, ०५ असार २०७३, १७ : १७
आइतबार, ०५ असार २०७३

डोल्पा– जिल्लाको उत्तरी क्षेत्र भौगोलिक रुपमा विकट भएकाले त्यहाँको जनजीवन, शिक्षा, स्वास्थ्य, यातायात, सञ्चार, विद्युत्को अभावमा कष्टकर त छँदैछ पछिल्लो समयमा सुरक्षा चुनौतीका हिसाबमा पनि संवेदनशील बन्दै गएको छ ।

बर्सेनि शृङ्खलावद्ध रुपमा लुटपाट, बहुमूल्य मूर्ति तस्करीले उपल्लो डोल्पाली आजितमात्रै भएका छैनन् यसले धर्म, संस्कृति, इतिहासनै सङ्कटमा परेको भन्दै चितिन्त बनाएको छ । पटक/पटक भइरहेको चोरीले सयौँवर्ष पुराना बुद्धका मूर्ति चोरी भएका छन् । यसलाई जोगाइ राख्न चुनौती छ ।

उपल्लो डोल्पाका बौद्धिक गुम्बाबाट पछिल्लो तीन वर्षयता मात्रै ३५ थान बहुल्मूल्य मूर्ति चोरी भएका छन् । बर्सेनि दिउँसै हतियार देखाएर हुने गरेका चोरीका घटनाले डोल्पाली तर्सित बनेका छन् । उपल्लो डोल्पाको सुरक्षाबारे त्यहाँका बासिन्दाले स्थानीय प्रशासन तथा सरकारको ध्यान आकर्षण गराएका छन् ।

तस्करले अत्याधुनिक हतियारको प्रयोग गरेर स्थानीयवासीलाई तर्साउँदै लुटपाट गरिरहेकाले यसलाई रोक्न उनीहरुले माग गरेका छन् । “डरले राती निद्रा लाग्न छाडेको छ,” स्थानीयवासी ओम मगरले पीडा सुनाए । तस्कर दिउँसै हतियार लिएर गाउँ पस्ने गरेका छन् । व्यक्तिगत सम्पत्ति जोगाउन नसकेको अवस्थामा मठ, मन्दिरको संरक्षण गर्न नसकिने भन्दै स्थानीयवासी चिन्तित छन् ।

उपल्लो डोल्पाका से—गुम्बा, याङजोर गुम्बा, बोन गुम्बा, गागर गुम्बा, थोङडोल गुम्बा, तान्सा गुम्बा, ताक्सी गुम्बा, पुग्मा गुम्बा, सिमेन्टलगायतका गुम्बाबाट चोरी भएका बहुमूल्य मूर्तिमध्ये प्रहरी र स्थानीयवासीको सक्रियतामा केही पुनःस्थापना भए तापनि धेरैजसोको टुङ्गो लाग्न सकेको छैन । कतिपय गुम्बाका ऐतिहासिक वस्तु हराएपछि तिनको अस्तित्व संकटमा परेको नागरिक समाजका अध्यक्ष शेरबहादुर बुढाको भनाइ छ ।

“इतिहास नै मेटाउनेलाई हदैसम्मको कारबाही हुनुपर्छ,” उनले भने । ठाउँठाउँमा प्रहरी चौकी स्थापना गर्न बुढाले माग गरे । नाम्दो, साल्दाङ, धो, भिजेरलगायतका स्थानमा अस्थायी प्रहरीचौकी राखिए पनि हिउँदमा बस्न सक्ने अवस्था नहुँदा त्यहाँबाट चौकी अन्य ठाउँमा स्थानान्तरण गरिँदै आएका छन् । सुरक्षाकर्मी नभएको अवस्थामा तस्करले मूर्ति चोरी गर्ने गरेका छन् । हजारौँ वर्ष पुराना बहुमूल्य मूर्तिको रु पचास हजार, रु एकलाख भनेर मूल्य तोक्ने काम पुरातत्व विभागले गरेकाप्रति समेत डोल्पालीले आपत्ति जनाएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तुलसीराम अर्यालले चोरी तस्करी नियन्त्रणका लागि सक्दो प्रयास गरिरहेको बताए । “प्रहरी चौकी थप्नेबारे गृह मन्त्रालयलाई बारम्बार ताकेता गर्र्दै आएका छौँ,” उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप