मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

संसद् नियमावली पारित : ‘विन–विन’को अवस्था

आइतबार, ०५ असार २०७३, १७ : २३
आइतबार, ०५ असार २०७३

काठमाडौँ– संसदीय सुनुवाइ समितिको पहिलो बैठक सोमबार बिहानसभामुखको कक्षमा बस्ने भएको छ ।

“मैले समितिको पहिलो बैठक सोमबार बिहान ८ बजे मेरो चेम्बरमा बोलाएको छु, यसपछि समितिले आफ्ना कार्यविधि निर्माण लगायतका काम गर्दै अगाडि बढ्ने छ ” सभामुख ओनसरी घर्तीले भनिन् । नयाँ संविधान जारीपछि रुपान्तररित सदनले नौ महिनापछि आज संसद् नियमावली पारित गरेको थियो । व्यवस्थापिका–संसद् भवनमा आज सञ्चारकर्मीसित कुरा गर्दै सभामुख घर्तीले नियमावली पारितसँगै सदनका काम कारबाही अझ व्यवस्थित ढङ्गले अगाडि बढ्ने विश्वास व्यक्त गरिन् ।

नियमावली पारित गर्नाका लागि राजनीतिक दलले प्रदर्शन गरेको जिम्मेवारीलाई धन्यवाद दिँदै आगामी दिनमा पनि दलका बीचमा यस्तै सहकार्य जारी रहने विश्वास व्यक्त गरिन् । संसद् नियमावलीमा विशेष गरी सुनवाइ समितिमा कति सदस्य रहने भन्ने विषयमा दलबीच मुख्य रुपमा विवाद थियो । सत्तारुढ दल १५ र प्रमुख प्रतिपक्षी दल ७५ सदस्यीय हुनुपर्ने अडानमा रहे पनि दलबीच १५ सदस्यीय समिति बनाउने सहमति भएको थियो ।

अब मन्त्रिपरिषद्ले विभिन्न देशमा नियुक्तिका लागि सिफारिस गरेका राजदूत र न्यायाधीशको सुनवाइ गर्न मार्गप्रशस्त भएको छ । सुनवाइ समिति १५ सदस्यीय हुने, सिफारिसलाई दुई तिहाइले अस्वीकार गर्न सक्ने कुरालाई बहुमतले पारित गरेको थियो ।

बैठकपछि सत्तारुढ र प्रतिपक्षी दलका सांसद ‘वीन वीन भो है भन्दै’ बैठक कक्षबाट बाहिरिएका थिए । नियमावली पारित गराउँदा पहिलो पटक सत्तापक्ष र प्रतिपक्षी दुवैतर्फका सांसद अन्योलमा थिए । उनीहरु ‘हुन्छ’ भन्ने समयमा ‘हुँदैन’ र ‘हुँदैन’ भन्ने समयमा ‘हुन्छ’ भन्न पुगेका थिए । यसपछि सभामुखले बैठक आधा घन्टाका लागि स्थगन गराइन् । पत्रकार सम्मेलनमा सभामुख घर्तीले भनिन्, “म नै अलमलमा परेँ, सांसदलाई दल मार्फत सूचना प्रवाह गर्न कमी देखियो ।” नियमावलीका विषयमा दलबीच आज बिहान सहमति भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप