दुबईमा दैनिक सय भन्दा बढी नेपालीहरू भिजिट भिषामा अाँउछन् : रमेश श्रेष्ठ
पछिल्लो समय दुबईमा भिजिट भिषामा अाएर काम खोज्ने नेपालीहरूको संख्या निकै बढेको छ। रोजगारीको मात्र नभई अन्य मुलक जानको लागी पनि नेपालीहरू दुबईमा अाई अलपत्र परेका छन्। सरकारले खाडी मुलुकमा निशुल्क पठाउने घोषणा गरे पनि भिजिट र काम गलाई दिने बहानामा लाखाै रकम तिरेर युवा युबतीहरू दुबई छिर्ने गरेको पाइन्छ।यसै बिषयमा लामो समय देखी दुबईमा बसेर ब्यवसाय गर्ने एक म्यानपावर ब्यवसायी डेस्टिनी एचआर कन्सल्टेन्सीका प्रोपाइटर तथा एन.अार.एन युएईका उपाध्यक्ष रमेश श्रेष्ठसँग रातोपाटीको लागी पत्रकार मेघराज सापकोटा र बिनोद श्रेष्ठले गरेको कुराकानी:
प्रश्न: युएईमा रोजगारीको अवस्था कस्तो छ ? खाडीका अन्य मुलुक भन्दा युएई सुरक्षित र राम्रो आय भएको मुलुक हो त ?
मध्यपुर्बमा युएई सबैभन्दा सुरक्षित गन्तब्य नै हो भन्दा फरक पर्दैन । खाडीका अन्य मुलुक भन्दा युएईलाई राम्रो यो अर्थमा राम्रो भन्न सकिन्छ कि यहाँ कामदारका धेरै अधिकारहरुलाई सुरक्षित गरिएको छ । सबैको मनब अधिकारलाई सम्मान गरिन्छ । यहाँको कानुनको अधिनमा रहेर हामीले आफ्ना गतिबिधी गर्नलाई पनि स्वतन्त्र नै छौ । एकाध घटना बाहेक समग्रमा नेपालीहरु खुशी नै देखिन्छन ।
प्रश्न: तपाईं सामाजिक कार्यकर्ता साथै म्यानपावर ब्यवसायी पनि हुनुहुन्छ । नेपाल सरकारले तोकेको फ्री भिसा फ्री टिकटको कानुनलाई कत्तिको लागु गर्नु भएको छ ? त्यो सम्भब छ ?
बैदेशिक रोजगार ब्यवसायीहरुले नेपाल सरकारको कानुनको अधिनमा नै रहेर काम गर्ने हो । कामदार आयत गर्ने सबै मुलुकहरुले कम्पनीले कामदारसँग शुल्क लिने वा भिसा र टिकटको पैसा लिन पाउने भनेको छैन । जुन कम्पनीले कामदार आयत गर्ने हो त्यही कम्पनीले उक्त खर्छ बेहोर्नु पर्छ । तर यहाँ केही बिचौलियाहरुको कारण अश्वस्थ प्रतिस्पर्धाको कारणले कामदारहरु बाट पैसा लिने चलन छ जुन गलत हो । सम्भब असम्भब भन्दा पनि सरकारले अझै धेरै गृहकार्य गरेर निती नियम बनाए हुन्थ्यो भन्ने हो । एकपल्ट बिग्रीसकेको थितीलाई सपार्न कठीन त पक्कै हुन्छ ।
प्रश्न: युएईमा भिजिट भिसामा आएर बिचल्ली भएका, ठगिएका घटनाहरु बाहिर आएका छन । यस्ता घटनाहरु घट्नुमा को जिम्मेवार छन ?
हेर्नुस्, मेरो एउटा अनुभब शेयर गर्छु । दुबईको एउटा ठुलो कम्पनीमा बिगत केही बर्ष देखी नेपाली कामदारहरु सप्लाई गर्दै आएको थिएँ । कम्पनीले नै भिसा र टिकटको पैसा बेहोर्थ्यो । म नेपालबाट उक्त कम्पनीमा निशुल्क कामदार ल्याउथेँ जुनबेला नेपालमा फ्री भिसा र फ्री टिकट लागु भएकै थिएन । कामदारहरुको छनौट गर्नको लागि कम्पनीका २ जना म्यानेजरहरु नेपाल जान्थे । कामदार पठाउने नेपालको मेनपावर कम्पनीले उनीहरुको नेपाल बसाईको खर्च बेहोर्थ्यो । बिबिध खर्च उठाउनको लागि नेपालको मेनपावर कम्पनीले बढीमा ४० देखी ५० हजार रुपैयाँ सम्म उठाउने गरेको थियो । यो रकम नेपालमा रहेको मेनपावर कम्पनीमा आएर अन्तर्वाता उत्तिर्ण गरेपछी लिईने शुल्क थियो ।
उनीहरु बर्षमा कम्तीमा २ पटक नेपालबाट कामदार ल्याउने गर्दथे । कहिलेकाहीँ प्रत्येक् ३ महिनामा पनि नेपाली कामदारको माग गर्दथे । सबै काम पारदर्शी तवरले टेबल माथिबाटै हुन्थ्यो । कामदारको आवश्यकता भए पछी उनिहरु आँफैले मलाई संपर्क गर्दथे । म मार्फत आएका कामदारहरु सँग उनिहरु खुशी थिए । नेपालीहरुको इमान्दारिता र लगनशिलताको खुलेर प्रशँसा गर्दथे । उनिहरु मेरो ब्यापारको स्थाई क्लाइन्ट नै थिए । म पनि सकेसम्म उनिहरुले खोजे भन्दा राम्रा कामदारहरु प्रदान गर्दथेँ ।
तर यसपाली भने कम्पनीले कामदार ल्याउने कुरै गरेन । लामो समय सम्म पनि कम्पनीले फोन नगरे पछी मीटिङको लागि मैले आँफै अपोइन्टमेन्ट लिएँ । कम्पनीले आनाकानी गर्दै भेट्ने समय दियो । धेरै समय गफ गाफ पछी मात्र कम्पनीले वास्तविकता खोल्यो ।
कम्पनीको ह्युमन रेसोर्स डिपार्टमेन्ट सँग अहिले झण्डै १५० जना नेपालीहरुको बायोडाटा जम्मा भएको रहेछ । अर्को हप्ता तिर उनिहरुको अन्तर्वाता लिएर आवश्यक कामदार लिने सुरसारमा कम्पनी रहेछ । म्यानेजरले सिधै भने, हामीसँग दैनिक १५/२० जना नेपालीहरु आफ्नो बायोडाटा लिएर कामको खोजीमा आउछन । उनिहरु सबै भिजिट ( टुरिस्ट) भिसामा कामको खोजीमा युएई आएका हुन । प्रत्येक् पटक कामदारको खोजीमा उनीहरु नेपाल जानु पर्दा हाम्रो समय र पैसा दुबै खर्च हुन्थ्यो। आजकाल त कामदारहरु काम खोज्दै आँफै कम्पनीमा आईपुग्छन । अर्को कुरा के पनि हो भने मलाई कामदार ल्याउने कन्ट्याक्ट दिदा भिसा र टिकट पनि उपलब्ध गराउनु पर्दछ । यही कामदार पाएपछी कम्पनीको पैसा पनि जोगियो । अझ उनिहरु उल्टै भिसाको पैसा तिर्न पनि राजी हुन्छन । प्रत्येक् महिनाको तलबमा भिसा बापतको निश्चित पैसा काट्ने गरेको छ । भिजिट भिसामा आएकाहरुको बाध्यता पनि हो भिसाको पैसा तलब बाट कटाउन मन्जुरी दिनु । कि त फर्किनुको बिकल्प हुन्न ।
प्रश्न: भिजिट भिसामा नेपाली कसरी युएई आईपुग्दा रहेछन ? कस्ता कस्ता नेपालीहरु आउँदा रहेछन भिजिट भिसामा ?
पहिले पनि नेपालबाट भिजिट भिसामा युएई आएर काम खोज्नेहरु मेरो अफिसमा आउथे तर एकदमै थोरै । आजकल त अचम्मै लाग्ने गरी आउन थालेका छन । दैनिक ४०/५० जना युवायुवतीहरु काम खोज्दै आउँछन । ती मध्ये १०/१५ जना त युवतीहरु हुने गर्दछन । कहिलेकाहीँ त त्यो भन्दा धेरै हुन्छन । ती सबै भिजिट भिसामा युएई आएका हुन । घुम्नको लागि नभएर काम खोजेर यतै बस्नको लागि । आएकाहरु मध्ये अधिकांश काठमाडौ स्थित त्रिभुवन बिमानास्थलको अध्यागमन पार गरेर नै आएका हुन । केही युवतीहरु भारत र श्रिलंका हुँदै पनि आउने गरेको पाईयो । यसरी आउनेहरु प्रायले होटल, सेकुरिटी गार्ड, सुपरमार्केट आदीमा काम खोज्ने गरेका छन ।
केही दिन अघी मात्र मेरो अफिसमा नेपालका रिटायर्ड आर्मीहरु काम खोज्दै आएका थिए । भिसाको म्याद सकिन लाग्दा खेरी उनिहरु जस्तो सुकै काम गर्न पनि राजी हुँदै थिए । उनिहरु क्लिनर र लेबरको काम पाए पनि दुबईमा बस्ने मनस्थितीमा थिए ।
प्रश्न: नेपाल सरकारले भिजिट भिसामा पनि कडाइ गरेको भनेको छ । कसरी आउँदा रहेछन ?
नेपाल सरकारले भिजिट भिसामा खाडी मुलुक आउन कडाइ गरेको समाचारहरु मेडियामा बेलाबखत छाइरहन्छन । खाडीमुलुकमा भिजिट भिसामा आएर यहाँबाट इराक, अफ्गानिस्तान, सिरिया, कुबेत, लेबनान देखी युरोपियन मुलुकहरुमा मानब ओसारपसार हुनेगरेको खबरहरु पनि पढ्न पाईन्छ । सिधा र सोझा मान्छेलाई कानुन लाग्दो रहेछ । कर्मचारीलाई लाग्दो रहेनछ भन्ने त बुझ्ने होला नि ।
नेपाल सरकारले एकातिर फ्री भिसा फ्री टिकट को निती लागु गरेको भन्छ । १० हजार भन्दा बढी शुल्क उठाउन नपाइने नियम लगाउँछ । भिजिट भिसामा कडाइ गरेको भन्छ । युएईमै आफन्त नातागोता हुनेहरुलाई समेत आउनलाई रोकिदिन्छ । १० बर्ष देखी युएई बसेका राम्रै आमदामी हुने एक कामदारले ६० बर्ष पुगेकी आफ्नी आमालाई युएई धुमाउन अबुधाबी दुताबासले पररास्ट्र मन्त्रालयको सिफारिस (नाता प्रमाण) खोज्छ । छोराको पासपोर्टमा रहेको बाबुको नाम र आमाको पासपोर्टमा रहेको बाबुको नाम र ठेगाना एउटै हुँदा पनि अबुधाबी दुताबासलाई सिफारिस दिन नेपाल सरकारको कानुनले रोक्छ । तर दैनिक १०० को हाराहारीमा युवायुवती युएई भिजिट भिसामा आउन नेपाल सरकारका कर्मचारीलाई कुनै कानुनले रोक्न सक्दैन । नेपाल सरकार र तिनका कर्मचारीको गराई र भनाइमा के फरक छ भनेर हेर्न यहाँ आए हुन्छ ।
प्रश्न: तपाईंको अनुमानमा कती होलान भिजिट भिसामा आएर काम खोज्ने ? उनिहरुले सेटिङमा कती तिर्दा रहेछन ? युएई आएर काम पाउदा रहेछन त ?
यती नै छन भनेर भन्न त सकिन्न तर दुबई र अबुधाबीमा अहिले पनि भिजिट भिसामा आएर काम खोज्ने नेपालीहरु प्रशस्त भेटिन्छन् । उनिहरु २ लाख ३० हजार देखी ५ लाख रुपैयाँ सम्म एजेन्टलाई बुझाएर त्रिभुवन बिमानास्थलबाटै युएई आएका हुन । कतीले काम पाएका छन भने कती काम नपाएर बिचल्लीमा परेका छन । बिचल्लीमा परेका केही त दुताबासकै शरणमा पनि पुग्दछन । नेपाली दुताबाससँग उनिहरुलाई सहयोग गर्ने बजेट छैन । दुताबासले युएईमा रहेका नेपालीका संघसंस्थाहरु सँग सहयोगको याचना गर्नु सामान्य बनेको छ ।
प्रश्न: यसलाई ब्यवस्थित बनाउन के बनाउनु उचित होला ? नेपाल सरकारलाई के सल्लाह दिनुहुन्छ ?
नेपाल सरकार एकातिर फ्री भिसा र फ्री टिकट लागु गराएरै छाड्ने कुरा गर्छ । अर्कोततिर भिजिट भिसामा युवायुवतीलाई खाडी पठाएर बिचल्ली बनाउछ । एजेन्टलाई पोस्ने काम गर्छ । आफ्ना कर्मचारीलाई घुसखोरी बनाउदैछ । एकपटक उड्नु भन्दा अगाडि बिमान भित्र गएर छड्के जाँच गरोस त कती भेटिदा रहेछन भिजिटमा आउनेहरु । नेपाल सरकारले निश्चित रकम डिपोजिट राखेर युएई घुम्न आउने प्राबधान सबैलाई खुल्ला गरोस । यस्ता सेटीङ आजै देखी बन्द गरिनु पर्दछ । गरिबी र बेरोजगारीको वाध्यत्मक फाईदा उठाउदै नेपालीहरुलाई सेटीङमा मोटो रकम असुल्ने काम बन्द गर्नु पर्दछ । भिजिटमा आउनेहरुले काम पाए त राम्रै हो, नपाएर बिचल्ली हुँदाको जिम्मा कसले लिने ?यही कारणले मैले बिगत लामो समय देखी पाउँदै आएको कामदार सप्लाई गर्ने कन्ट्र्याक्ट गुमाएँ । यो त एउटा उदाहरण मात्रै हो । आजकल दुबईमा धेरै कम्पनीहरुले सामान्य कामदारहरु पनि " वाक इन इन्टरभियु" बाट लिन थालिसके । इन्टरभ्यु दिने प्राय सबै भिजिट भिसामा नै आएका हुन । ईमान्दार भएर काम गर्ने दिन सकिएकै हो त ? के मैले पनि अब यस्तै भिजिट भिसाको ब्यवसाय गरौ त ? नेपाल सरकार र तीनका निकाय जिम्मेवार बन्ने कि नबन्ने ?
प्रश्न: बिचल्ली परेको भन्नु हुन्छ । तपाईं सँग त्यस्ता घटनाका उदाहरणहरु छन ?
केही समय पहिले ५ जना नेपालीलाई ५ लाख सम्म लिएर दुबईमा काम लगाइदिछु भनेर ठगी गरेको घटना पत्रीकामा बहिर नै आईसक्यो । भिजिटमा आएर काम नपाएर रुनु न हास्नु भएका हरु दुबईमा कयौ भेटिन्छन । केही दिन अघी मात्र भिजिटमा काम खोज्न आएको एक जना नेपालीको मृत्यु भयो । मृतकको शबलाई कसरी नेपाल पठाउने ? त्यस्को खर्च कसले बेहोर्ने ? त्यसको जिम्मा कसले लिन्छ? नेपाल सरकार कि, भिजिटमा सेटिङ गर्ने एजेन्ट कि, अध्यागमनका कर्मचारी ?