मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

अनलाईन निर्देशिकाबाट असल नियत हुनेहरु डराउनुपर्दैन : शान्तिमन्त्री ढकाल

मङ्गलबार, ०७ असार २०७३, १८ : ३४
मङ्गलबार, ०७ असार २०७३

काठमाडौं–शान्ति तथा पुनर्निमार्णमन्त्री एकनाथ ढकालले सरकारले ल्याउन लागेको अनलाईन निर्देशिकाबारे विभिन्न टिका–टिप्पणीहरु भईरहेको उल्लेख गर्दै निर्देशिकाबाट असल नियत भएका अनलाईन मिडियाहरु डराउनु नपर्ने बताएका छन् ।

मंगलबार नेपाल पत्रकार मञ्चले राजधानीमा आयोजना गरेको प्रताप स्मृति पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा बोल्दै मन्त्री ढकालले भने– ‘असल नियत हुनेहरु डराउनुपर्दैन तर खराब नियत भएकाहरुलाई कानुनी दायरामा ल्याउनुको विकल्प छैन ।’

पत्रकारको हक हितका लागि बिमा कार्यक्रम ल्याउनेबारे सकारले छलफल गरिरहेको मन्त्री ढकालले जानकारी दिए ।

‘संविधान कार्यान्वयन र पुनर्निर्माणमा सरकार लागिपरेको छ’ उनले भने– ‘पुनर्निर्माणको काम एक–दुई दिनमा हुने कुरा हैन, अब ठूलो भुकम्प आउँदा पनि नभत्कने घर बनाउने कार्यमा पुनर्निर्माण प्रधिकरण लागिपरेको छ ।’

संविधानको पहिलो संसोधनसँगै तराई मधेशमा देखिएका असन्तुष्टि केही हदसम्म मत्थर भएको जानकारी दिँदै मन्त्री ढकालले भने– ‘मधेशी दलहरु आन्तरिक अन्तरविरोधका कारण वार्तामा आउन सकेका छैनन्, तर हामी वार्तामा बस्न आतुर छौं ।’

‘चाँडै वार्ताको टेबलमा बस्न नसके मधेस आन्दोलनको उपलब्धी गुम्ने खतरा छ’ मन्त्री ढकालले भने– ‘सरकार परिवर्तनको हल्ला भ्रम मात्रै हो ।’

त्यस्तै उप–प्रधानन्त्री चित्रबहादुर केसी र स्थानीय विकास राज्यमन्त्री रामकुमार सुब्बाप्रति संकेत गर्दै उनले भने– ‘मन्त्रीले संवैधानिक व्यवस्थाको विरोध गर्न मिल्दैन, हामी संविधानको संरक्षक हौं ।’

डोटीका प्रताप शाहीको नाममा स्थापित प्रताप स्मृति पत्रकारिता पुरस्कारबाट गोरखापत्रका करुण अर्याल सम्मानित भएका छन् । शान्तिमन्त्री ढकालले खोजमुलक पत्रकारिता गरेको भन्दै पत्रकार अर्याललाई नगद १५ हजारसहित प्रशंसापत्र प्रदान गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप