मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

अफगानिस्तानबाट शव आउँदा विमानस्थलमा आँशु र पानी सराबरी !

बुधबार, ०८ असार २०७३, १८ : ४९
बुधबार, ०८ असार २०७३

काठमाडौं–‘अबदेखि कुनै मन्दिर जान्न, बरु पुशपतिमा टाउको ठोक्काएर जीवन त्याग्न चाहन्छु ।’ अफगानिस्तानको काबुलमा मारिएका १२ नेपालीको शव बोकेर नेपाल वायुसेवा निगमको जहाज त्रिभुवन विनमास्थलमा ओर्लनासाथ सञ्जीता छाती पिटेर रुन थालिन्, ‘रातदिन बत्ती बालेर उसलाई केही नहोस् भनेर भगवानसँग प्रार्थना गरेँ, तर खोई भगनवान ? मेरो श्रीमानलाई चुडेर लादा भगवान कहाँ थिए ?’

बुधवार मध्यान्ह त्रिभुवन विमानस्थल पुग्दा धेरै संञ्जिताहरुको आँखाबाट आशुको भेल बग्दै थियो । बर्खायामको विमानस्थल दर्के झरीले रुझेको थियो । नाप्न कठिन थियो, विमानस्थमा धेरै पानी बग्दै छ या आशुको भेल ? आफन्त र नातेदार सम्झाउँदै थिए, तर सञ्जिताको आँशु थामिएन् । कसैले आँशु पुछिदियो, उनि फेरि कहालिईन्, ‘कहिल्यै बलि नचाढाईएको मन्दिरमा मेरो भोग दिएर उसँगै जान्छु, अब संसारमा मेरो भन्नु कोही रहेन।’ सोमबार विहान अफगानिस्ताको राजधानी कावुलमा आत्मघाती आक्रमणमा परि ज्यान गुमाएका वुटवलका जितेन्द्र थापा गएको फागुन २२ गते श्रीमती संजिता थापा र ४ महिनाको अवोध छोरालाई छाडेर गएका थिए । चार महिनाको अवोधलाई काखि च्यापेर बुधवार एयरपोर्ट पुगेकी सञ्जिता र जितेन्द्रको बीचमा गत आईतबार राती चार पटक कुरा भएको थियो । भोलिपल्ट ड्युटि सकिएपछि जितेन्द्रले फोन गर्छु गर्छु भनेका थिए, तर त्यो कल गर्न नपाउँदै उनी तालिवानी आक्रमणमा परे । यता सञ्जिता कलको प्रतिक्षामा थिइन्, फोन आएन, बरु संचार माध्यमबाट पत्याउनै नसकिने खबर आयो, ‘आत्मघाती आक्रमणमा जितेन्द्रले ज्यान गुमाए ।’

‘दुई बर्ष बसेर आउँछु भन्नुभएको थियो’ केही सम्हालिँदै सञ्जिता बोलिन् । पहिले भारतिय सेनामा काम गरेका जितेन्द्र कम्तिमा दुई बर्ष अफगानिस्तान बसेपछि नेपालमै बस्ने योजनामा थिए । अब सञ्जिता र चार महिने अवोध छोरालाई जितेन्द्रले सधैका लागी छाडेका छन् । सञ्जिता उनको शव बुझेर आर्यघाट तिर लागिन् ।

तालिवानी आक्रमणमा मारिएका १२ नेपालीको शव काठमाडौं ल्याइएको छ । शव बुझ्न मृतकका आफन्त र नातेदार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । सरकारले नेपाल वायुसेवा निगको विमानबाट नेपालीहरुको शव बुधवार दिउँसो काठमाडौं ल्याएको हो । प्रधानमन्त्री केपी ओली, परराष्ट्रमन्त्री कमल थापा, गृहमन्त्री शक्ति बहादुर बस्नेत, श्रममन्त्री दिपक बोहरा, पर्यटनमन्त्री आनन्द पोखरेल तथा नेपाल सरकारका उच्च पदस्थ कर्मचारी त्रिभुवन विमानस्थल पुगेर मृतकहरु प्रति श्रदाञ्जली अर्पण गरे ।

अधिकांश नेपाली सेना, प्रहरी र भारतिय सेनाकामा काम गरेर छाडेका नेपालीहरु सेक्युरीटी गार्डका लागी अफगानिस्तान पुगेका थिए । साब्री ईन्टरनेशल मार्फत नेपालीहरु कावुलस्थित क्यानेडियन दुतावासमा कार्यरत थिए, उनीहरु । कावुल आक्रमणमा परेका अन्य सात नेपालीहरुको उपचार भइरहेको छ । परराष्ट्र मन्त्रालयका अनुसार पाँच नेपालीको दिल्लीमा उपचार भईरहेको छ भने दुई जनाको कावुलमै उपचार भइरहेको छ ।

अन्तिममा बुवाले भन्नुभो, ‘चाँडै आउछु, मम्मीको ख्याल गर्नु’ माओवादी जनयुद्ध चल्दै थियो, काभ्रेका चन्द्र बहादुर राना मगर नेपाल प्रहरीको हवल्दार थिए । सिन्धुपाल्चोकमा माओवादी र प्रहरीको बीचमा भएको भीडन्तमा सहभागी चन्द्र बहादुर जागिर छाडेर पसल चलाउन थाले । ‘दुई वर्ष पसल गरेपछि बालबच्चाको भविष्यको लागी विदेश जान्छु भन्दै दाई अफगानिस्तान जानुभएको थियो’ उनको भाई गंगा बहादुर भन्छन्, ‘एक महिने विदा सकेर जेठ १७ गते उहाँ अफगानिस्तान जानुभएको थियो ।’

साढे तीन बर्षदेखि अफगानिस्ताको कावुलमा रहेका चन्द्र बहादुर दुई बर्षपछि गत जेठमा नेपाल आएका थिए । अफगानिस्तानमा सेक्युरीटी गार्ड बसेर उनले बालबच्चालाई राजधानीको विशालनगरमा राखेका थिए, राम्रै स्कुलमा पढाएका थिए । आतंकवादी आक्रमणमा परेर उनले ज्यान गुमाएसँगै परिवारको सहारा टुटेको छ । ‘यस्तो हुनुभन्दा तीन दिनअघि बुवाले फोन गर्नुभएको थियो’, उनकी छोरी आस्था रानामगरले भनिन्, ‘फोन राख्ने बेला आमालाई राम्रोसँग हेर्नु, चाँडै आउँछु भन्नुभएको थियो ।’

गएको शुक्रवारको कुरा नै बावु छोरीको लागी अन्तिम कुराकानी सावित भयो । अब उनकी आमा गंगा राना र उनले कहिल्यै चन्द्रको बोली सुन्न पाउने छैनन् । त्यसैले त बुधवार आफ्नो बावुको शवको बाकसमा अँगालो हाल्दै उनले सोधिन्, ‘बावा, चाँडै आउछु भनेर हामिलाई किन छाडेको ?’

आजभन्दा तिन बर्षअघि नुवाकोटका कृष्ण बहादुर ढुंगाना नेपाली सेनाको जागिर छाडेर अफगानिस्थान तिर लागे । अहिले उनको परिवार नुवाकोटबाट बसाई सरेर चितवन बस्न थालेको छ । चितवनमा एक छोरा, एक छोरी श्रीमती र बावु आमा बस्दै आएका थिए । उता अफगानिस्तानमा कृष्णको कमाई राम्रै थियो । अफगानिस्थानको कमाईले चितवनमा नयाँ घर बनाउने सपना साचेका कृष्ण आफ्नो सपना पुरा नहुँदै आतंकबादी आक्रमणमा परे । ‘बिदामा आएर घरको जग हालेको थियो’ उनका काका बच्चुराम ढुंगाना भन्छन्, ‘१५ दिनको बिदा सकेर उता गएको ११ दिन मात्र भएको थियो, यस्तो खबर सुन्नुपर्यो ।’

काठमाडौं ल्याइएको बाह्र नेपालीको शव आफन्तको इच्छा अनुसार उनीहरुको गाउँसम्म पुर्याईने गृह प्रवक्ता यादव कोइरालाले जानकारी दिए । उनले भने, ‘मौसमले साथ दिएमा हेलिकप्टर मार्फत शव पठाउँछौं अन्यथा शव बाहको प्रयोग गरेर सरकारले आफन्तको इच्छा अनुशार उहाँहरुको गाउँसम्म शव पठाउने ब्यवस्था मिलाएका छौं ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप