मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

प्रचण्ड र विप्लवसँग एकता हुँदैन – अध्यक्ष वैद्य

बिहीबार, ०९ असार २०७३, १७ : २६
बिहीबार, ०९ असार २०७३

काठमाडौँ - नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्यले तत्काल आफ्नो पार्टीले अन्य माओवादी पार्टीसँग एकता वा धु्रवीकरण नगर्ने स्पष्ट पारेका छन् ।

सो पार्टीको असार ६ देखि ८ सम्म चलेको राष्ट्रिय भेलाको निर्णयबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष वैद्यले प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्र) र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीसँग एकता नहुने स्पष्ट पारे ।

उनले माओवादी केन्द्र्र दक्षिणपन्थी नवसंशोधनवाद मात्र होइन, पश्चगामी दिशातिर अग्रसर भइरहेको स्थितिमा त्यससितको पार्टी एकतालाई खारेज गर्ने निर्णय भेलाले गरेको जानकारी दिए। चन्द नेतृत्वको माओवादीसँग आफ्नो पार्टी एकताको हल्ला चलाइएकामा आपत्ति जनाउँदै कार्यदिशा नमिल्ने भएकाले सो पार्टीसँग एकता नहुने उनको भनाइ थियो ।

अध्यक्ष वैद्यले भने – “चन्द नेतृत्वको माओवादीको फौजी कार्यदिशा नै छैन, हामीले नयाँ जनवादी क्रान्ति सम्पन्न गर्नुपर्छ भनेका छौँ, उनहरु एकीकृत क्रान्ति भन्दै सत्ता साझेदारीको कुरा गर्दै हुनुहन्छ ।” भेलाले राजनीतिक र फौजी कार्यदिशालाई थप समृद्ध गर्ने निर्णय गरेको उनले बताए ।

माओवादीले फागुन महिनामा राष्ट्रिय सम्मेलन गर्ने, राष्ट्रियता, जनतन्त्र तथा जनजीविका लगायतका विषयलाई लिएर आफ्नै पहलमा कार्यक्रम ल्याउने र कतिपय अवस्थामा मिल्दाजुल्दा साझा विषयमा कार्यगत एकता गर्न सकिने निर्णय गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप