मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

स्थानीय आँपले उचित मूल्य पाएन

बिहीबार, ०९ असार २०७३, ०८ : ००
बिहीबार, ०९ असार २०७३
उदयपुर - स्थानीय उत्पादित आँपले उचित मूल्य नपाएको जिल्लाका किसानले गुनासो गर्न थालेका छन् । व्यापारीले बाहिर जिल्लाबाट आँप ल्याएर सस्तो मूल्यमा बिक्री गर्न थालेका कारण स्थानीयले उत्पादन गरेको आँपले उचित मूल्य पाउन नसकेको त्रियुगा नगरपालिका–८ बगाहाका किसान श्रवणदेव चौधरीले बताए । सदरमुकाम गाईघाट बजारमा स्थानीय आँपको मूल्य प्रतिकिलो रु ४० देखि रु ५० सम्म रहेको छ । तर बाहिरबाट आयातित आँप प्रतिकिलो रु २५ देखि रु ३० मा बिक्री भइरहेको छ । जिल्लाको पूर्वी क्षेत्रका तपेस्वरी, रामपुर, ठोक्सिला, सुन्दरपुर, हँडिया, जोगिदह र मध्य क्षेत्रको त्रियुगा नगरपालिकामा आँपखेती हुँदै आएको छ । जिल्लामा आँप पाक्न थालेपछि तराईका अन्य जिल्लाबाट व्यापारीले सस्तो मूल्यमा औषधी प्रयोग गरिएको आँप ल्याएर बिक्री गर्दा स्थानीय किसानले उचित मूल्य पाउन नसकेका जोगिदह–७ का डम्बरबहादुर खड्का बताउँछन् । “आँप बिक्री गर्ने बेला भयो, तर उचित मूल्य पाउन सकेका छैनौँ,” उनले भने । गुणस्तरहीन आँप खरिद गरेर व्यापारीले बजार क्षेत्र बिक्री गर्दै आएको उनको आरोप छ । बर्सेनि बाहिरबाट आयात गरिएका आँपका कारण जिल्लाका किसानले उचित मूल्य नपाउँदा मर्कामा परेका छन् । जिल्लामा ६८० हेक्टर जग्गामा व्यावसायिक रुपमा आँपखेती हुँदै आएको छ भने पाँच हजार ४४० मेट्रिक टन आँप उत्पादन हुने गरेको जिल्ला कृषि विकास कार्यालयका बागवानी अधिकृत रामकुमार यादवले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप