मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

डुङ्गा व्यवसाय : महिला सक्रियता बढ्यो

बिहीबार, ०९ असार २०७३, १८ : १९
बिहीबार, ०९ असार २०७३

पोखरा - लेखनाथ नगरपालिकास्थित बेगनास तालमा डुङ्गा चलाउने र माछा मार्ने व्यवसायमा महिला सक्रियता बढेको छ । यस व्यवसायबाट मनग्य आम्दानी हुन थालेपछि महिला आकर्षित बनेका हुन् ।

बेगनास ताल आसपासका क्षेत्रमा बस्दै आएका २० जनाभन्दा बढी महिला डुङ्गा चलाउने पेसामा सक्रिय बनेका डुङ्गा चालक सीता हिमालीले बताए । “आम्दानी मनग्य छ, डुङ्गा चलाएरै जीविका धान्न सहज भएको छ”, उनले भने – “पछिल्ला वर्षमा पुरुष कामको खोजीमा विदेशिएका कारण महिलाको सक्रियता बढ्न थालेको छ ।”

बेगनास तालमा हाल लगभग ३०० डुङ्गा सञ्चालनमा आएको जानकारी गराउँदै हिमालीले तालमा स्वदेशी तथा विदेशी पर्यटक डुङ्गा चलाउने, घुम्ने उद्देश्यले आउने गरेका बताए । पाँच वर्षयता आफूले डुङ्गा चलाउने व्यवसाय अङ्गालेको बताउँदै उनले भने – “घन्टाको रु ४५० लिने गरेका छौँ, कोही आफैँ डुङ्गा चलाउने गरी आउँछन्, उनीहरू चलाउन दक्ष देखिए भाडामा पनि दिने गरेका छौँ ।”

लेखनाथ नगरपालिका वडा नं– ९ र १० का अधिकांश बासिन्दा डुङ्गाबाटै आवतजावत गर्ने गर्छन् । डुङ्गा चलाउने व्यवसायका साथै यहाँका महिला माछा मार्ने व्यवसायमा समेत सक्रिय रहँदै आएका पिप्ले महिला समूहकी अध्यक्ष माया जलाहारी बताउँछन् ।

“माछा मार्ने व्यवसायबाट यथेष्ट आम्दानी गर्न सकिन्छ”, उनले भने – “यही व्यवसायबाट घरपरिवारको खर्च, छोराछारीको पढाइ लेखाइ चलेको छ ।” बेगनास ताल किनारामा बस्ने जलाहारी समुदायका ४२ घरपरिवार माछा मार्ने र डुङ्गा चलाउने व्यवसायमा आवद्ध छन् । जलाहारी समुदायका २५ जना महिला माछा मार्ने व्यवसायमा सक्रिय छन् ।

कास्की जिल्लाको दोस्रो ठूलो बेगनास ताल समुद्री सतहबाट ६५० मिटरको उचाइमा छ । विसं २०४४ मा बाँध बनाउनुअघि २२४ हेक्टर क्षेत्रफल रहेको यो ताल बाँध बनाएपछि ३७३ हेक्टरमा फैलिएको छ । तालको औषत गहिराई ६.५ मिटर भए पनि अधिकतम गहिराई ११ मिटर रहेको बेगनास रुपा ताल संरक्षण तथा पर्यटन प्रवद्र्धन संस्थाका अध्यक्ष दिनानाथ ढकालले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप