मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

स्वास्थ्य बिमाले प्लास्टिक सर्जरी, महँगो चस्माको खरिदलाई नसमेट्ने

बिहीबार, ०९ असार २०७३, १९ : ३५
बिहीबार, ०९ असार २०७३
काठमाडौँ - सरकारले सुरु गरेको स्वास्थ्य बिमा कार्यक्रमले प्लास्टिक सर्जरी, महँगो चस्माको खरिद, सुन्न सहयोग गर्ने मेसिन, झगडा गरी घाइते भएकालाई सेवा प्रदान नगर्ने व्यवस्था गरेको छ । सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका कार्यकारी निर्देशक गुणराज लोहनीले स्वास्थ्य बिमाले ठूला रोग लाग्ने सम्भावनालाई हटाउने भए पनि माथि उल्लेख भएका विषयलाई सहयोग नगर्ने बताए । उनले भने, “स्वास्थ्य बिमाले ५०० भन्दा बढी मूल्यका चस्माको पैसा तिर्दैन । दाँत भर्ने, दाँतमा तार हाल्ने, सेक्स तथा कस्मेटिक सर्जरी तथा इम्प्लान्ट पनि बीमाको सहुलियतमा पर्दैन ।” सरकारले स्वास्थ्यलाई सबै जनताको पहुँचमा पु¥याउन गत चैत महिनादेखि कैलालीबाट स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेको छ । स्वास्थ्य बिमामा सहभागीले बिमा फारम भर्दा नै कहाँ उपचार गराउने हो ? त्यो स्वास्थ्य संस्थाको नाम उल्लेख गरे। त्यसैअनुसार स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र, जिल्ला अस्पताल, अञ्चल अस्पताल, क्षेत्रीय अस्पताल हुँदै केन्द्रीय अस्पतालसम्म उपचार गराउन पाउने व्यवस्था गरिएको छ । कार्यकारी निर्देशक डा लोहनीले पहिलो बिन्दु प्राथमिक स्वास्थ्य केन्द्र तोकेको र त्यहाँबाट नहुने भएमा मात्रै त्यसमाथिका अस्पतालमा गई सेवा लिन पाउने बताए । “एकैपटक माथिल्लो स्तरको अस्पतालमा गयो भने त्यसमा पाउने सहुलियतमा कटौती हुनेछ”–उनले भने । स्वास्थ्य बिमामा सहभागी हुने व्यक्तिले वार्षिक रु ५० हजारसम्मको उपचार गर्न पाउने व्यवस्था सरकारले गरेको छ । पाँच जना सदस्य भएका परिवारले बिमाका लागि सदस्य फारम भर्दा वार्षिक रु दुई हजार ५०० प्रिमियम तिर्नुपर्छ । पाँचभन्दा बढी परिवारका सदस्य छन् भने प्रतिसदस्य रु ४५० रुपैयाँ थप तिर्नुपर्छ र उसको परिवारले थप १० हजार बढी रकम बराबरको उपचार सहुलियत पाँउछ । यो रकम प्रायः सबैखाले रोगको उपचारमा प्रयोग हुन्छ । तर, सरकारले पहिले नै निःशुल्क गरेको रोगको उपचार भने यथावत् रहने बताइएको छ । कैलालीमा चैत महिनाभर दर्ता भएका ४०० घर धुरीका दुई हजारको उपचार गत जेठ १ देखिनै बिमा सुरु गरिएको डा लोहनीले बताए । उनले भने, “सदस्य बनिसक्नु भएकामध्ये दुई जनाले वीर अस्पताल र शिक्षण अस्पताल महाराजगञ्जबाट रु ५० हजार बराबरको सेवा पनि पाइसक्नुभएको छ ।” बिमा कार्यक्रम पछि लागू भएका बागलुङ र इलाममा पनि असार १५ बाट सदस्यता बनाउन सुरु गरिने र भदौबाट उपचार सुविधा प्राप्त गर्ने बताइएको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप