मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

स्याङ्जाको राङ्भाङमा मेकाडेमिया नट खेती सुरु

शुक्रबार, १० असार २०७३, १७ : ४८
शुक्रबार, १० असार २०७३

पोखरा - स्याङजाको राङभाङ गाविस–३ भैंसे गौंडामा मेकाडेमिया नट अर्थात अष्ट्रेलियन कटुस खेती सुरु गरिएको छ ।

स्थानीय राङभाङ मेकाडेमिया कृषक समूहका व्यवस्थापन, जिल्ला कृषि विकास कार्यालय स्याङजाको आर्थिक सहयोग र वागवानी अनुसन्धान केन्द्र पोखराको प्राविधीक सहयोगमा सो खेती सुरु गरिएको हो ।

खेती गर्न छोडिएको करिव २० रोपनी जग्गामा २ हजार १ सय विरुवा सार्ने योजना सहित सो खेतीको सुरुवात गरिएको छ ।  जसको लागि विरुवा भने सो संस्थाले आफैँ तयार पारेको संस्थाका अध्यक्ष वालकुमार गुरुङले जानकारी दिएका छन् ।

जिल्ला कृषि विकास कार्यालय स्याङजाका वरिष्ठ कृषि विकास अधिकृत तेजप्रसाद दवाडीले शुक्रवार सो खेतीको शुभारम्भ गर्दै विदेशी कटुस नेपालमा खेती गर्न सकेमा स्थानीय कृषकको आय आर्जन वढ्ने बताएका छन् ।

कृषकले एक गाउँ एक उत्पादनको नारासहित उत्पादन गर्न थालेका हरेक वाली नालीमा जिल्ला कृषि विकास कार्यालयले सहयोग गर्ने वरिष्ट कृषि विकास अधिकृत दवाडीले बताए ।

पोखराको पृथ्वीचोकमा रहेको भद्रकाली नर्सरीका संचालक एवं स्थानीय वासिन्दा प्रेमवहादुर रानाको सक्रियतामा गाउँमा मेकाडेमिया कृषक समूह गठन गरी गाउँका २३ जना कृषकले सो खेतीको सुरुवात गरेका हुन् ।

गाउँमा वाँझो भएर खेर गएको जग्गालाई उपयोगमा ल्याउन सो समूह गठन गरी खेती सुरु गरिएको स्थानीय प्रेमवहादुर रानाले बताए ।

सो अवसरमा समाजसेवी धनप्रसाद गुरुङ, शेषवहादुर थापा र वागवानी अनुसन्धान केन्द्र पोखराका प्राविधीक अधिकृत सूर्यप्रसाद दाहालले आ– आफ्ना भनाई राखेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप